सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीमा बन्दैछ २७ करोडको हल, तीन वर्षभित्र तयार हुने


रुपन्देही । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पाँच हजार मानिस अट्ने हल निर्माण हुने भएको छ । बुद्धजयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको अवसर पारेर आगामी बैशाख १७ गते प्रधानमन्त्री केपी ओलीले हलको शिलान्यास गर्ने लुम्बिनी बिकास कोषले जनाएको छ ।
दुई वर्षअघि बुद्धजयन्ती समारोहको उद्घाटनका क्रममा हावाहुरीले मञ्च उडाइदिएपछि तत्कालिन प्रधानमन्त्री केपी ओलीले ५ हजार अट्ने हल निर्माण गर्ने उदघोष गरेका थिए । हावाहुरीले मञ्च उडाईदिएपछि लुम्बिनीमा स्थायी हल बनाउने योजना सहित उनले बजेट बिनियोजन गर्ने बताएका थिए । पोहोर साल हल बनाउनका लागि सरकारले ३८ करोड निकास गरेको थियो ।
लुम्बिनी विकास कोषका ईन्जिनियर सरोज भट्टराईका अनुसार बजेट बिनियोजन भएपछि नयाँ तरिकाको हल बनाउने योजनाका साथ लागेको बताए । उनले ग्लोबल टेन्डरमार्फत ठेक्का दिएको तथा ३८ करोडको बजेट निकासा भए पनि २७ करोडमा ठेक्का स्वीकृत भएको बताए । तीन बर्षभित्र सकिने गरी हल निर्माण हुन लागेको हो । हल निर्माण गर्दा कुनै स्टेज कुर्सी केही नराखी साधारण तरिकाले बनाउनल लागेको पनि इन्जिनियर भट्टराईले बताए ।
लुम्बिनीमा अहिले ३ करोड ९७ लाखको लगानीमा ‘ट्रस स्टाइल’को अर्को भवन समेत बन्दैछ । उक्त भवन नेपाल सेनाले निर्माण सुरु गरेको छ । हल निर्माण नहुँदासम्म यो भवननै कार्यक्रमस्थलका रुपमा प्रयोग हुने बताइएको छ । लुम्बिनी बिकास कोषका सुचना अधिकृत हरिध्वज राणाले ५ हजार जनाले चलाउन सक्ने क्षमताको वाईफाई तथा कपिलबस्तु र देबदहलाई पनि बिषेश ध्यान दिई कार्यक्रममा समावेश गरिने बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आइतवार १०:५६