सूचनाको शक्ति - The Power Of Information

        

समाचार

तारा एयरसँगै एकै परिवारका सातजना वेपत्ता

चालक दलका तीन सदस्यसहित पोखराबाट १९ यात्रु बोकेर जोमसोमका लागि ९ः५५ मा उडेर दुर्घटनामा परेको तारा एयरको जहाज ।

आइतबार बिहानैदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ ।

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ । सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।

विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए ।

विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ भने गाउँमा नै चिन्तित भएका छन् । सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जनाइएको छ । यसैबीच, आइतबार रातीसम्म खोज्दा पनि विमान नभेटिएपछि आज बिहानैबाट खोजी कार्य सुरु गरिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार ०७:२१