पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको नाइन एन एइटी ट्विनअटर विमान आज बिहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको थियो ।
हल्का वर्षा भइरहेको समयमा घरभन्दा केही माथि जहाज दुई–तीनपटक घुमेको देखेको थासाङ गाउँपालिका–२, बोक्सेखोलाका विकल बागदासले बताए ।
‘हामी खाना खाँदै थियौँ, जहाज धेरैपटक घुमेको थियो,’ बागदासले भने, ‘हल्का कुहिरो लागेर पानी परिरहेको थियो ।’ उनले यसअघि मुस्ताङ जाने जहाज यतिधेरै तल आएको नदेखेको बताए ।
‘घरमै ठोकिन्छ जस्तो गरेर दुई–तीनपटक घुम्यो, हामी गाउँले सबैले बाहिर निस्केर हेरेका थियौं,’ उनले भने, ‘केही बेरमा अलि माथि उडेर गयो । पानी परेकाले घुमेको होला भन्ने लागेको थियो ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘इमरजेन्सी लोकेसन ट्रान्समिटर संकेत’ फेला परेको छ । संकेतानुसार जहाज केही वस्तु वा पहाडमा ठोक्किएको देखिन्छ । तर, जहाज ठोक्किएको आशंका गरिएको स्थान मानव बस्तीभन्दा निकै उच्च पहाडमा पर्ने जनाइएको छ ।
सम्पर्कविहीन भएको तारा एयरको विमान १९ जना यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । अहिले मुस्ताङका अधिकांश ठाउँमा बाक्लो बादल लागेर पानी परिरहेको स्थानीयले बताए ।
सत्यपाटी । बागलुङ ।