सूचनाको शक्ति - The Power Of Information

        

समाचार

अझैं भेटिएन बेपत्ता विमान, खोजी गर्न नोर्चाङ पुग्यो सेनाको हेलिकप्टर

पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको विमानको अवस्था टावरसँग सम्पर्क टुटेको साढे ४ घण्टा हुँदा पनि पत्ता लाग्न सकेको छैन । आइतवार बिहान ९:५५ मा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको विमान १० बजेर ७ मिनेटमा शिखा पुगेपछि टावरसँग सम्पर्क विच्छेद भएर हराएको थियो ।

हराएको साढे ४ घण्टा भइसक्दा पनि विमानको अवस्था अझैं पत्ता लाग्न नसकेको थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले बताए । ‘विमान र यात्रुको अवस्थाबारे अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन,’ गौचनले भने, ’सबै ठाउँमा सम्पर्क भइरहेको छ । तर, यथार्थ अवस्था खुलिसकेको छैन ।’

जहाज थासाङ गाउँपालिका आसपास पुगेपछि बाक्लो कुहिरोमा परेर हराएको आशंका गरिएको छ । जहाज खोजीका लागि नेपाली सेना र निजी क्षेत्रको हेलिकोप्टर पठाइएको थियो । तर खराब मौसमले अहिलेसम्म थासाङ क्षेत्र पुग्न सकेको छैन । मौसम केही खुलेपछि पोखराबाट केही बेरअघि नेपाली सेनाको हेलिकोप्टर मुस्ताङतिर उडेको छ ।

अहिले प्रहरी र सेनाको पैदल गस्ती टोली पनि सम्भावित घटनास्थलतिर खटिएको छ । स्थानीयका अनुसार थासाङकै २, ४ र ५ नं. वडा आसपास विमान दुर्घटना भएको हुनसक्ने बताएका छन् । कोवाङ क्षेत्र पोखराबाट जोमसोम जाने रुटमै पर्छ । अग्ला पहाड र माच्छापुछ्रे हिमालकै सामुन्नेबाट विमान जोमसोम पुग्ने गरेको छ । त्यस क्षेत्रमा आइतबार विहानदेखि वर्षा भइरहेको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार थासाङ गाउँपालिकाको नउरीकोट, टिटी ताल क्षेत्रमा पानी परिरहेको छ । यस्तोमा पाइलट प्रभाकर प्रसाद घिमिरेको मोबाइल फोन अझै एक्टिभ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले पनि क्याप्टेन घिमिरेको फोन ट्र्याक गर्दा लेते आसपासमा लोकेसन देखाएकाले त्यतै खोजी केन्द्रित गरिएको छ ।

यसैबीच, नेपाली सेनाको टोली विमान हराइरहेको क्षेत्र आसपास पुगेको छ । पोखराबाट एमआई १७ हेलिकप्टरमा गएको जर्नेल बाबुराम श्रेष्ठसहितको १२ जनाको विशेष उद्धार टोली नोर्चाङ गुम्बामा अवतरण गरेको हो । त्यहाँबाट पैदल नै उकालो लागेको सेनाले जनाएको छ ।

यस्तै जोमसोमको नारायण दल गणबाट पैदल हिँडेको ६२ जना सेनाको टोली पनि पाइलटको मोबाइल ट्रयाकिङ भएको क्षेत्रमा पुगेको छ । क्याप्टेन बाबरप्रताप शाह नेतृत्वको टोली मोबाइल ट्रयाकिङ भएको क्षेत्रमा पुगेको हो । अब करिब डेढ दुई किलोमिटर माथि जानुपर्ने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण अधिकारीले जानकारी दिए ।

‘अहिले हराइरहेको विमान पाइलटको मोबाइल ट्रयाकिङका आधारमा खोजी भइरहेको छ । हेलिकप्टरबाट गएको टोली पनि नोर्चाङ गुम्बानजिकै अवतरण गरेर हिँड्दै जाँदै छ । तर योभन्दा माथि मौसम खराब छ । जोमसोमबाट आएको सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पनि त्यस क्षेत्रमा पुग्दै छ । हेलिकप्टरबाट पनि खोजी भइरहेको छ,’ अधिकारीले भने ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार १५:४३