सूचनाको शक्ति - The Power Of Information

        

समाचार

मुस्ताङको थासाङ क्षेत्र जहाजका लागि जोखिमयुक्त

पोखराबाट जोमसोम रुटमा उड्ने विमानका लागि सबैभन्दा जोखिम क्षेत्र मानिन्छन् मुस्ताङको थासाङ गाउँपालिकाका तीन वटा वडा । थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले पालिकाका वडा नम्बर २, ४ र ५ जोखिम वडा रहेको बताए ।

पोखराको मौसम र जोमसोमको मौसम खुलेर विमान उडे पनि त्यस क्षेत्रमा क्षणभरमै कुहिरोले ढाक्ने गरेको उनले बताए । अग्ला पहाड र क्षणक्षणमा बदलिने मौसमले कुनै पनि बेला विमानलाई समस्यामा पार्ने गरेको उनले बताए ।

म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमै यो पालिका पर्छ । उच्च हिमाली क्षेत्रमा रहेकोले क्षणमै बादल लागेर भीषण वर्षा हुने उनले बताए । ‘पोखराबाट जोमसोम उडान भर्दा थासाङको ३ वडा निकै डेन्जर जोनमा पर्छन्,’ पालिका अध्यक्ष गौचनले भने, ‘तीनवटा ठूला पहाड छन्, त्यो कटाउन प्रायः बादल र वर्षाले अवरोध गर्छ ।’

आइतबार पनि पोखराबाट जोमसोमका लागि तीन चालकदलका सदस्यसहित २२ यात्रु लिएर उडान भरेको जहाज थासाङ आसपासबाट सम्पर्कविच्छेद भएर हराइरहेको छ । ‘मुख्य कुरा त्यस क्षेत्रमा मौसमले नै समस्यामा पर्छ,’ अध्यक्ष गौचनले थपे, ‘त्यसबाहेक तीव्र गतिको हावाले पनि जहाजको यात्रालाई चुनौती दिन्छ ।’

जोमसोम एयरपोर्टमा घाम लागेर मौसम सफा रहे पनि थासाङमै कुहिरो लागेर पानी परिदिने उनले बताए । ‘अहिले जोमसोम एयरपोर्टमा मौसम क्लियर छ, तर, हाम्रो पालिका वरिपरी बाक्लो कुहिरो लागेको छ,’ उनले अगाडि भने ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार १४:३८