सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बेपत्ता तारा एयरको जहाज भन्दै भारतीय हेलिकोप्टरको तस्वीर भाइरल !

आइतवार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज अहिलेसम्म बेपत्ता छ । मुस्ताङको शिखा पुगेर अन्तिम सम्पर्क भएको जहाज त्यसपछि बेपत्ता भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

जहाज बेपत्ता भएको तीन घण्टा बितिसक्दा पनि अहिलेसम्म अवस्था पत्ता लागेको छ । प्राधिकरण र ताराको मूल संस्था यति एयरलाइन्सले पनि जहाजको अवस्था अज्ञात नै रहेको जनाएको छ । तर यसबीचमा मुस्ताङमा ताराको जहाज दुर्घटनामा परेको भन्दै सामाजिक सञ्जालमा एउटा फोटो भाइरल बनाइयो ।

जहाज बेपत्ता भएको क्षेत्रमा मानिसहरु पैदलबाट र जोमसोमबाट हेलिकोप्टर समेत जान नसकेको अवस्थामा एकाएक भाइरल भएको उक्त फोटोले स्तब्ध बनायो । बेपत्ता जहाज र त्यसमा सवार चालक दलका तीनसहित २२ जना सकुशल भेटियुन् भन्ने कामना भइरहेका बेला उक्त तस्वीर एकाएक भाइरल हुन पुगेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा एकाएक भाइरल भएको त्यो तस्वीर नेपालमा भएका कुनै हवाई दुर्घटनासँग सम्बन्धित थिएन । सामाजिक सञ्जालका प्रयोगकर्ताले घटनाको वास्तविकतासम्म पुग्दै नपुगी मुस्ताङमा ताराको जहाज दुर्घटना भन्दै भाइरल बनाइएको त्यो तस्वीर थियो भारतको । भारतका चिफ अफ डिफेन्स स्टाफ तथा भारतीय सेनाका पूर्व प्रमुख विपिन रावत सवार उक्त हेलिकोप्टर गत मंसिर २२ गते दुर्घटनामा परेको थियो ।

उक्त हेलिकोप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटनाग्रस्त हुँदा रावतसहित १४ जनाभन्दा धेरैले ज्यान गुमाएका थिए । अत्याधुनिक सुरक्षाप्रणालीसहितको उक्त हेलिकोप्टर दुर्घटनाका कयौँ प्रश्न अझै अनुत्तरित रहेका छन् । उक्त हेलिकोप्टर दुर्घटनाको फोटोलाई ताराको जहाजको फोटो भन्दै भाइरल बनाइरहँदा मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले दुर्घटनाबारे अझै पुष्टि नभएको बताएका छन् । जहाज हराएको भनिएको अन्तिम विन्दुलाई केन्द्रित गरेर जोमसोमबाट हेलिकोप्टर पठाउन खोजिए पनि खराब मौसमले सम्भव नभएको बताएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार १३:४५