तारा एयरको जहाज बेपत्ता भइरहेका बेला मुस्ताङको घासामा ठूलो आवाजसहित आगो बलेको स्थानीयले देखेको बताएका छन् ।
मुस्ताङ सदरमुकाम जोमसोम जाने बाटोअन्तर्गत थासाङ गाउँपालिका वडा नम्बर ४ घासा भन्ने ठाउँमा ठूलो आवाज आएको स्थानीयले बताएका हुन् ।
मुस्ताङका स्थानीयले थासाङ गाउँपालिका-४ को घासामा आगो बलेको जानकारी दिएपछि अहिले जोमसोमबाट प्रहरी टोली त्यसतर्फ गइरहेको छ ।
तर, मुस्ताङको थासाङ गाउँपालिका–४ घासाका वडाध्यक्ष नरेन्द्र शेरचनले कुरा गर्दै बिहान १० बजे अन्नपूर्ण बेस क्याम्प र निलगीरि पहाड साइडमा जहाज उडिरहेको आवाज सुनिएको बताए ।
उनले दुर्घटना परेको आवाज र आगोको मुस्लो केही नदेखिएको बताए । प्रभाकर प्रसाद घिमिरे नेतृत्वमा पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उक्त जहाज मौसम राम्रो नभएकै बेला उडेको थियो ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको पोखरा विमानस्थालका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए । उनकाअनुसार करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा आएको छैन ।
जहाजमा १३ नेपाली, चारजना भारतीय र थप दुईजना अन्य मुलुकका यात्रु रहेको यति एयरलाइन्सले जानकारी दिएको छ । विमानमा चालक दलका तीन जनासहित २२ जना सवार थिए । नाइन एन एईटी कलसाइनको उक्त जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए ।
सत्यपाटी । काठमाडौं ।