सूचनाको शक्ति - The Power Of Information

        

सांसदले रोष्ट्रममै सभामुखलाई ताला र चाबी बुझाएपछि…

प्रतिनिधिसभाको शनिबारको बैठकमा नीति तथा कार्यक्रम माथि आफ्नो भनाई राख्दै जुम्लाबाट निर्वाचित गजेन्द्र महत । तस्वीर : रासस

प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि छलफल चलिरहेको छ । सत्तारुढ र विपक्षी दलका सांसदहरु नीति तथा कार्यक्रममाथि धारणा राखिरहेका छन् । त्यही क्रममा शनिबार प्रतिनिधिसभाको रोष्ट्रममा जुम्लाबाट निर्वाचित सांसद गजेन्द्र बहादुर महत ताला र चाबी लिएर पुगे ।

उनका अनुसार उनी ताला चाबी लिएर रोष्ट्रम उक्लनुको कारण हो, बोल्नका लागि कम समय दिइनु । महत माओवादी केन्द्रका सांसद हुन् । माओवादी केन्द्रबाटै सांसदमा निर्वाचित अग्निप्रसाद सापकोटा सभामुख छन् । सांसदहरुलाई बोल्न दिँदा समयमा विभेद गरिएको भन्दै सांसद महतलले सभामुखलाई ताला र चाबी बुझाए ।

प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बोल्न सांसदहरुलाई समय निर्धारण गरिएको छ । पूर्व प्रधानमन्त्री र राष्ट्रिय दलका संसदीय दलका नेतालाई समय निर्धारण नगर्ने अभ्यास छ । यही अभ्यासप्रति आक्रोश पोख्दै उनले भने, ‘गाली गर्न ३ घण्टा, कर्णालीका कुरा सुन्न ३ मिनेट ?’ बिहीबार नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले करिब ३ घण्टा बोलेका थिए ।

‘हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइने होइन कि लागिराछ । त्रासमै थिएँ म । अहिले पनि ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भनेर म चिन्तामै छु,’ महतले संसदमा भने, ‘त्यसो भएको हुनाले उहाँहरुले धित मरुञ्जेल गाली गर्नुहुन्छ । फेरि, धित मरेपछि अवरोध गर्न खोज्नुहुन्छ । ताला लगाउन खोज्नुहुन्छ । त्यसैले मैले ताला र चाबी ल्याएको छु, सभामुख महोदय । तपाईंहरु धित मरुञ्जेल बोल्नुहोला । त्यसपछि हामी बोल्ने बेला ताला चाबी लगाइदिनुहोला ।’

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार २०:११