सूचनाको शक्ति - The Power Of Information

        

लाइसेन्सको नयाँ आवेदन सोमबारबाट खुला

प्राविधिक रूपमा समस्या हुँदा तोकिएको समयमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउन कठिन भएको यातायात व्यवस्था विभागले बताएको छ ।

पुरानो इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सवारीसाधन दर्ता प्रणाली र नयाँ अनलाइन ड्राइभिङ लाइसेन्स दर्ता, स्मार्ट कार्ड प्रणालीलाई एकीकृत गर्न प्राविधिक समस्या पर्दा नयाँ आवेदन खुलाउन ढिला भएको यातायात विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

घिमिरेले भने, “नयाँ एप्लिकेसन प्रणालीसँग पुरानो प्रणाली जोड्नुपर्ने हुन्छ । एप्लिकेसनमा रहेका तथ्यांकलाई नयाँ प्रणालीमा लैजाने हो । नयाँ प्रणालीमा पुरानो प्रणालीको तथ्यांक एकीकृत गर्न नसक्दा समस्या परेको हो ।”

यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै लाइसेन्सको परीक्षा दिन पाउने गरी तयारी गरेको बताएको यो पहिलो पटक होइन । विभागले ४ जेठबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्ने गरी तयारी गरेको दाबी गरेको थियो ।

तर प्राविधिक समस्याले गर्दा ढिला हुन गएको विभागले जनाएको छ । “नयाँ आवेदनको लागि सोमबारबाट नै खुला गर्ने गरी विभागले तयारी गरिरहेको छ,” विभागका महानिर्देशक घिमिरेले भने, “तर वर्ग थपको अनुमति लिन चाहने सेवाग्राहीले भने थप एक हप्ता कुर्नु पर्नेछ ।”

योसँगै यसअघि २ वर्षसम्म लाइसेन्सको परीक्षा दिन प्रतीक्षा सूचीमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने दाबी उनले गरे । यसअघिका लाइसेन्सका लागि परीक्षा दिन बाँकी रहेकाको परीक्षा लिइसक्ने पनि विभागका महानिर्देशक घिमिरेले बताए ।

पछिल्लो समय आवेदन दिँदा करिब दुई वर्ष प्रतीक्षा सूचीमा बस्नुपर्ने अवस्था भएपछि विभागले आगामी दिनमा अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र लिन पाउने परीक्षामा सहभागी हुन पाउने व्यवस्था गर्न लागिएको कार्यालयले जनाएको छ । विभागले ल्याउन लागेको नयाँ सिस्टम अटोमेसन हो ।

यसमा अनलाइन पेमेन्ट हुन्छ । आवेदन दिएको १५ दिनभित्रमा कार्यालयमा सम्पर्क गर्न सक्ने प्राणालीको विकास गरिएको छ । आवेदन दिनेले देशभरका २३ वटा सेवा कार्यालयमा कति कोटा खोलिरहेको छ भन्नेबारेमा जानकारी प्राप्त गर्नेछन् । आगामि दिनमा विभागको प्रणालीबाट नै मुलुकभरको सेवा कार्यालयमा आवेदन लिन सक्ने विभागले बताएको छ ।

यो समाचार आजका कारोबार दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार ०८:२३