सूचनाको शक्ति - The Power Of Information

        

चिनियाँ विश्वविद्यालयमा सँस्कृत पढाउँदै नेपाली गुरू काशीनाथ

चिनियाँ विद्यार्थीलाई सँस्कृत पढाउँदै काशीनाथ न्यौपाने

चिनियाँ विद्यार्थीलाई सँस्कृत पढाउँदै काशीनाथ न्यौपाने

लक्ष्मी लम्साल/बेइजिङ । पश्चिम चीनको कान्सु प्रान्तमा सँस्कृत भाषा पढाई सुरू भएको छ । कान्सु प्रान्तको सदरमुकाम लाञ्चौस्थित नर्थवेष्ट जातीय विश्वविद्यालयमा करीब २०० जना विद्यार्थीहरूले असोज २४ देखि एक महिने सँस्कृत शिक्षाको तालिम लिइरहेका हुन् । नेपाल सँस्कृत विश्वविद्यालय, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा.काशीनाथ न्यौपानेले चिनियाँ विद्यार्थीहरूलाई सँस्कृत सिकाइरहेका छन् । चिनियाँहरूले बेइजिङ र काठमाडौं आएर समेत नेपाली भाषा पढ्ने क्रम बढिरहेका बेला चीनमै सँस्कृतमा समेत पढाइ सुरु गरिएको हो ।
विद्यार्थीहरूलाई दैनिक ६ वटा कक्षासहित ६ वटा सँस्कृतका किताव पढाउनका लागि पाठ्यक्रम बनाएको प्रा. न्यौपानेले बताए । उनले विद्यार्थीहरूका लागि सँस्कृत र रोमनमा लेखेर पढाउने गरेका छन् । अधिकांश विद्यार्थी प्रोफेसर, बौद्ध धर्मावलम्वी तथा अनुसन्धान क्षेत्रमा रूची राख्नेहरू भएकाले पढाउन त्यति अफ्ठेरो नभएको उनले सुनाए । बेइजिङस्थित चीन तिब्बतशास्त्र अनुसन्धान सेन्टरमा कार्यरत लिउ यिङ्ह्वाले गुरू न्यौपानेको कक्षामा भाषानुवादकको भूमिका निर्वाह गरिरहेका छन् । उनले सँस्कृत भाषाको अध्ययनबाट नेपाल–चीन सम्बन्धमा एउटा नयाँ तत्व थपिने बताए ।
‘शाक्यमुनिको जन्मस्थल लुम्बिनीमा भएकाले केही चिनियाँको मनमा नेपाल र सँस्कृतप्रति चासो छ’, लिउले भने, ‘विगतमा बौद्ध भिक्षुहरूले नेपाल हुँदै भारतमा गएर बुद्धसूत्र पढेकाले पनि अहिलेको पुस्तामा सँस्कृतप्रति रूची लागेको देखिन्छ ।’ सँस्कृत पुस्तकहरू बोधिचर्यावतार, वृहत् अरण्य उपनिषद, मेघदूत, सँस्कृत छन्दोमञ्जरी, भागवत् गीता र सँस्कृत भाषाबाट चिनियाँ विद्यार्थीहरूले बौद्ध धर्मसँगै सँस्कृतको ज्ञान पाएका छन् । एक ४८ वर्षीया छात्रा क्वान चिन् लीको अनुभव छ, ‘सँस्कृत पढ्नका लागि धैर्य राख्नुपर्ने रहेछ, जति बुझ्दै गयो त्यति रमाइलो लाग्ने, सँस्कृत जटिल भएपनि रोचक र मैत्रीपूर्ण छ ।’

प्रकाशित मिति : ७ कार्तिक २०७४, मंगलवार ०६:१२