सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक सुरक्षा भत्ताले जेष्ठ नागरिक असुरक्षित

दाङ । सरकारले दिने सामाजिक सुरक्षा भत्ताले आफुहरु असुरक्षित भएको जेष्ठ नागरिकले गुनासो गरेका छन् । साविकका गाविसबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट दिने भएपछि आफुहरुले हैरानीसँगै असुरक्षित महसुस गर्नुपरेको उनीहरुले बताएका छन् ।
घर आगनमा बुझ्ने गरेको भत्ता बैंकबाट दिने नाममा सरकारले आफुहरुलाई दुख दिएको दंगिशरण–२ का शालिकराम भण्डारीले आरोप लगाए । बैंक प्रणालीबाट भत्ता वितरणका लागि फारम भर्न वडा कार्यालयमा आएका सतप्रतिशत जेष्ठ नागरिकले सरकारको यो कदमले आफुहरुलाई दुख दिएको बताएका छन् ।
खाता खोल्ने प्रक्रिया आफुले पूरा गर्न नसक्ने भएका कारण सामाजिक सुरक्षा भत्ता नबुझ्ने जेष्ठ नागरिक भण्डारीले बताए । खाता सञ्चालनका लागि आवश्यक पर्ने कागजात जुटाउनै समस्या भएको छ । धेरै जेष्ठ नागरिकले फोटो र फोटाकपी भनेकै थाहा नपाउने भएको कारण पनि बैंकका लागि खाता सञ्चालन गर्न समस्या भएको वडा कार्यालयले बताएको छ ।
खाता खोल्न आएका जेष्ठ नागरिक विरामीसमेत भएका छन् । धेरै भीडभाड र गर्मीका कारण जब्बर कुसारी फारम भर्दै गर्दा चक्राएर विरामी भए । वृद्धावस्थामा विरामी लगायतका कारणले धेरै जेष्ठ नागरिक फारम भर्न समेत आउन नसकेका छैनन् । खाताका लागि वडा कार्यालयमा आएका अशक्त विरामी जेष्ठ नागरिकले यसरी भत्ता दिनुभन्दा भत्ता नदिएकै राम्रो हुने दुखेसो पोखेका छन् ।
तीन घण्टा लागाएर वडा कार्यालयमा आएकी कुक्री चौधरीले आफु हेकुली भत्ता लिन जान नसक्ने बताइन् । पहिला घर नजिकैबाट बुझ्ने भत्ता किन टाढा पठाउनुभयो भनेर चौधरीले प्रतिप्रश्न गरिन् । यसरी भत्ता वितरण अव्यवहारिक भएको व्यापक जनगुनासो आएपछि गाउँपालिकासँग छलफल चलेको सरल बनाउने प्रयास गरिरहेको वडा अध्यक्ष तुलसीराम देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०७४, शनिबार ०७:४७