सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

कर्णालीमा कांग्रेसलाई फलिफाप, माओवादीलाई बागीको धक्का !

कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम हेर्दा सबैभन्दा धेरै स्थानीय तहको नेतृत्व कांग्रेसले जितेको छ ।

कांग्रेस कर्णालीका १२ नगरपालिका र २० गाउँपालिकासहित ३२ स्थानीय तहको नेतृत्व लिएर पहिलो दल बनेको छ । ०७४ को निर्वाचनमा कांग्रेस २५ पालिका जितेर तेस्रो दलको हैसियतमा थियो ।

अहिले कांग्रेसले थप ७ पालिकाको नेतृत्व पाएको हो । नेकपा (माओवादी केन्द्र)ले पाँच नगरपालिका र १८ गाउँपालिकासहित २३ स्थानीय तहमा जित हासिल गरेर दोस्रो दलको हैसियत बनाएको छ ।

यसअघिको निर्वाचनमा पनि माओवादी केन्द्र दोस्रो दलको हैसियतमा थियो । तर, त्यतिबेला २५ पालिकाको नेतृत्व पाएको थियो ।यसपटक भने माओवादी केन्द्रले दुई पालिका गुमायो ।

त्यसैगरी, अघिल्लो चुनावमा २७ पालिका जितेर पहिलो पार्टी बनेको नेकपा (एमाले) यसपटक तेस्रो हैसियतमा झरेको छ । यसपालि एमालेले ६ नगरपालिका र ९ गाउँपालिकासहित १५ स्थानीय तहको नेतृत्व लिएको छ । एमालेले १२ पालिकाको नेतृत्व गुमाएको हो ।

माओवादीलाई बागीको धक्का

कर्णालीमा यसपटक माओवादी केन्द्रलाई बागी उमेदवारले धक्का दिएको देखिएको छ । ०७४ को चुनावको तुलनामा माओवादी केन्द्र कमजोर बन्नुको कारण बागी उमेदवार देखिएका छन् ।

कालिकोटको सान्नित्रिवेणी गाउँपालिकाको अध्यक्षमा शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका मुम्राका मोहनबहादुर केसीले गठबन्धनप्रति असन्तुष्टि जनाएका थिए । उनी गठबन्धनको पक्षमा थिएनन् ।

तर, उनको विरोधकाबीच गठबन्धन भएपछि उनले स्वतन्त्रबाट उमेदवारी दिए । निर्वाचन आयोगबाट पुतली चुनाव चिह्न पाएका उनले माओवादी केन्द्रकै डम्बरबहादुर शाहीलाई ४८५ को मतान्तरले पराजित गरिदिए ।

केसीले १,८१९ मत ल्याउँदा माओवादीका शाहीले १,३३४ मत मात्र ल्याउन सके । पाँच दलीय सत्ता गठबन्धनले माओवादी केन्द्रलाई पालिका अध्यक्ष र एकीकृत समाजवादीलाई उपाध्यक्षको भाग लगाएपछि उनले असन्तुष्टि जनाएका थिए ।

उनको जितले माओवादीको एक पालिका घट्यो । त्यस्तै, ०७४ मा रुकुम पश्चिमका ६ वटै पालिकामा एकलौटी जित हासिल गरेको माओवादी केन्द्रले बाफिकोट गाउँपालिकामा यसपटक कांग्रेसले जितेको छ ।

बाफिकोट अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्माको गृह पालिका रहेको हो । बाफिकोटमा माओवादीले गठबन्धन गर्न नमान्दा पराजय सामना गर्नुपरेको हो ।

एमालेले गुमाएका पालिका

एमालले कालिकोट, रुकुमपश्चिम, जुम्ला, मुगु र हुम्ला पाँच जिल्लाका ६५ पालिकामध्ये कुनैपनि पालिकाको नेतृत्व लिन सकेन ।

एमालेले डोल्पा ठुलीभेरी नगरपालिका, काइके गाउँपालिका, जाजरकोटको छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, कालिकोटका खाँडाचक्र नगरपालिका, नरहरिनाथ गाउँपालिका, सुर्खेतमा चौकुने गाउँपालिका, लेकबेँसी गाउँपालिका र सल्यानमा ढोरचौर, कपुरकोट, जुम्ला तिला गाउँपालिका, र हुम्लाको अदानचुली गाउँपालिकाको नेतृत्व गुमाएको छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टीले ४ पालिका (सल्यानको कपुरकोट गाउँपालिका, डोल्पाको काईक, मुगुको सोरु र छार्काताङसोङ गाउँपालिका) प्रमुखको नेतृत्व पाएको छ ।

एकीकृत समाजवादीका नेता कमलबहादुर शाही कालिकोट सदरमुकाम खाडाचक्र नगरपालिकाको मेयरमा स्वतन्त्रबाट चुनाव लडेर विजयी भए । गठबन्धनले कांग्रेसलाई मेयर भाग लगाएपछि उनले दलीय ह्विप नमान्ने अडानसहित मेयरमा उमेदवारी दिएका थिए ।

शाहीले एमालेका जिल्ला अध्यक्ष तथा खाडाचक्रका निवर्तमान नगर प्रमुख जसीप्रसाद पाण्डेलाई ३१० मतान्तरले विजयी भए । शाहीले २,९१९ मत पाएर विजयी भए ।

एकीकृत समाजवादीले टिकट नदिएपछि उनले स्वतन्त्र उमेदवारी दिएका थिए । कर्णालीमा स्वतन्त्र उमेदवारले पनि दुई नगरपालिकासहित तीन गाउँपालिसहित पाँच स्थानीय तहको नेतृत्व पाएको छ ।

कर्णालीका दुई नगरपालिका जुम्लाको चन्दननाथ र कालिकोटको खाडाचक्र नगरपालिकासहित तीन गाउँपालिका कालिकोटको सान्नीत्रिवेणी, डोल्पाको बुद्ध गाउँपालिका र हुम्लाको चंखेली गाउँपालिका प्रमुखको नेतृत्व लिएको छ ।

कांग्रेसले जितेको वीरेन्द्रनगर नगरपालिका, गुराँस गाउँपालिका, डुंङ्गेश्वर गाउँपालिकाको नेतृत्व एमालेले खोसेको छ । ०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २७ पालिका प्रमुख ३१ उपप्रमुखसहित १,४०३ पद जित्दा माओवादीले २५ पालिका प्रमुख २६ उपप्रमुखसहित २,१४४ पदमा जितेको थियो ।

कांग्रेसले २५ पालिका प्रमुख १६ उपप्रमुखसहित १,०२० पद जितेको थियो । कर्णालीमा कुल १० जिल्लामा २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिका रहेका छन् । सबै स्थानीय तह गरी कुल ७१८ वटा वडा रहेका छन् ।

कर्णालीमा सत्ता साझेदार दलहरू आठ जिल्लाका ६४ स्थानीय तहमा गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका थिए । रुकुमपश्चिम माओवादीले कसैसँग पनि गठबन्धन गरेन । सल्यानमा माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।

कर्णालीमा कुन दलले कहाँ जिते ?

 

 

-बाह्रखरीबाट

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार ०९:४४