काठमाडौं । बिहीबार पाँच वर्षको जेल सजाय भोगेका सलमान खान मे २६ मा नेपाल आउने ‘द दबंग टुर’का आयोजक ओडीसी इन्टरटेन्टमेन्टले बताएको छ । गत फागुन २६ मा नेपालमा सलमान खान सहितका बलिउड कलाकार आएर टुँडिखेलमा कार्यक्रम गर्ने भन्दै नेपाली दर्शकहरुबाट टिकट बेच्दै रकम असुलेको थियो ।
सलमान खानलाई उक्त कार्यक्रमा आउन नदिने भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी तिब्र रुपमा उत्रेपछि सलमानले नेपाल आउने कार्यक्रम स्थगित गरेका थिए । यसरी उनी नआउने अन्योलता बढ्दा आयोजक ओडीसीले भने वैशाखको पहिलो साता नेपाल आउने सूचना जारी गर्दै पुनः टिकट बिक्री कार्यलाई जारी राखेको थियो ।
बिहीबार भारतको एक अदालतले उनलाई जेल सजायँ सुनाएपछि ३ हजार देखि २० हजार मूल्यका टिकट काटेका दर्शकहरुले आफ्नो पैसा डुबेका आशंका गरिरहेको बेला आयोजक ओडीसीका अध्यक्ष सीमान्त गुरुङले सलमान मे २६ मा आउने बताएका छन् । सलमान खान धरौटीमा छुट्ने अनी नेपाल आएर स्थगित गरिएको कार्यक्रममा सहभागी हुने बताइएको छ ।
सलमान धरौटीमा छुट्नको लागि सेसन कोर्टमा जानसक्ने भारतीय संचारमाध्यहरुले जनाएका छन् । सलमान खानको अमेरिकाको टेक्सस र न्यूजर्सीमा तथा क्यानडा र पनि कार्यक्रम रहेको कारणले उनी नेपाल पनि आउने दावी ओडीसीको रहेको छ । त्यसो त ‘द दबंग टुर’को लागि ओडीसीले १५ करोड लागतमध्ये १० करोड खर्च भइसकेको बताएको छ । आफूहरुको पनि ठूलो लगानी रहेको कारणले सलमान धरौटीमा छुटेर नेपाल आउने दावी ओडीसीको छ ।
।