७५३ स्थानीय तहमध्ये शुक्रबार बिहानसम्म देशभरका ६२६ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक परिणाम अनुसार अहिलेसम्म सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अहिलेसम्म कांग्रेसले २७९ स्थानीय तहमा प्रमुख जितेको छ भने ४३ स्थानीय तहमा अग्रता कायम राखेको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै स्थानीय तह जितेर पहिलो दल बनेको नेकपा एमाले यो निर्वाचनमा कांग्रेसभन्दा पछि परेको छ । एमालेले अहिलेसम्म १७३ स्थानीय तहको प्रमुख जितेको छ । मतगणना चलिरहेका २८ पालिकामा एमालेका उम्मेदवार अगाडि छन् ।
माओवादी केन्द्रले अहिलेसम्म ११२ स्थानीय तहको प्रमुख जितेको छ भने १२ पालिकामा उसले अग्रता कायम राखेको छ । अहिलेसम्म सार्वजनिक मत परिणाम र अग्रतालाई हेर्दा माओवादी केन्द्रले ०७४ को भन्दा आफ्नो अवस्था सुधार गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म १८ स्थानीय तहको प्रमुख जितेर चौथो स्थान कायम गरेको छ । उसले १२ स्थानीय तहमा अग्रता कायम गरेको छ । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले अहिलेसम्म १४ स्थानीय तहको प्रमुख जितेको छ । ५ स्थानीय तहमा उसले अग्रतालाई कायम राखेको छ ।
अहिलेसम्म देशभरमा ६ स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । मतगणना चलिरहेको कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार अघि छन् । महन्थ ठाकुर नेतृत्वको लोसपाले अहिलेसम्म ७ स्थानीय तहको प्रमुख जितेको छ भने मतगणना चलिरहेका पाँच स्थानमा अग्रता कायम राखेको छ । राष्ट्रिय जनमोर्चाले अहिलेसम्म तीन स्थानीय तहको प्रमुख जितेको छ ।
राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिका र झापाको हल्दीबारी गाउँपालिकाको प्रमुख जितेको छ । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा प्रमुख जितेको छ भने सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीका दुई पालिका प्रमुख जितेको छ । नेपाल मजदुर किसान पार्टीले अहिलेसम्म भक्तपुरको एउटा स्थानीय तहमा जित हासिल गरेको छ भने तमलोपाले धनुषाको एक स्थानीय तहको प्रमुख जितेको छ ।
सत्यपाटी । ।