सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

स्थानीय तहमा तेस्रो बनेको एमालेको अबको रणनीति ‘दुधभात’

एमाले नेताका अनुसार सबैभन्दा पहिला एमालेबाट अलग भएर माधव नेपालसँग गएका नेता–कार्यकर्तालाई पार्टीमा फर्काउने र उनीहरूलाई उचित जिम्मेवारी दिने रणनीति पार्टीले लिनेछ ।

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलको तालमेलबाट अप्ठेरोमा परेको प्रमुख प्रतिपक्षी एमालेले संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आफ्नो पक्षमा पार्न पार्टी रणनीति बदल्ने भएको छ ।

अहिले स्थानीय निर्वाचनमा सत्ता गठबन्धन दलबीच भएको तालमेलबाट सबैभन्दा बढी नेपाली कांग्रेस र माओवादी केन्द्रलाई फाइदा पुगेको छ । यसैकारण स्थानीय तहमा अप्ठेरोमा परेको एमाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आफ्नो पक्षमा पार्न बेलैदेखि रणनीति बदल्ने तयारीमा लागेको हो ।

स्थानीय तह निर्वाचन हुनुभन्दा पाँच दिनअघि वैशााख २५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रलाई लक्षित गर्दै भनेका थिए, ‘जसले दुधभात बढी दिन्छ उसैतिर हुन्छ ऊ, अर्कोपटक हामीले दुधभात दिन्छौं  ।’ चुनावी दौडधुपमा रहेका ओलीले वर्तमान सत्ता गठबन्धन भत्कन सक्ने र त्यसका लागि दुधभातको आवश्यकता रहेको संकेत गरेका थिए ।

२०७४ सालमा भएको संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । त्यसबेला एमालेले माओवादीलाई बढी सिट दिएको थियो । बढी सिट पाएपछि माओवादी केन्द्र तत्कालीन सत्ता साझेदार कांग्रेसलाई छाडेर एमालेसँग गठबन्धन गर्न आएको थियो । ओलीको ‘दुधभात’ त्यसैतर्फ लक्षित थियो ।

आगामी निर्वाचन आफ्नो पक्षमा पार्न एमाले ‘दुधभात’ को रणनीतिअनुसार वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छ, अन्य दलका नेता–कार्यकर्ता पार्टीमा ल्याउन चाहन्छ, वाम गठबन्धन बनाउन चाहन्छ । कांग्रेसलाई थोरै मत संख्या मात्रै भए पुग्ने अवस्थामा माओवादीको समेत मत थपिँदा उसले सहजै जित हात पार्न सक्थ्यो ।

ओलीले यही विषयलाई आकलन गरेर स्थानीय तह निर्वाचनमा एमालेको हार स्वीकार गरेको अवस्था थियो । तर त्यतिबेला यो विषयलाई सामान्य ठानिएको थियो । यो भनाइलाई त्यतिबेला धेरैले बेवास्ता गरेको भए पनि मतपरिणाम सार्वजनिक हुँदै गर्दा ओलीले त्यतिबेलै हार स्वीकार गरिसकेको अवस्थालाई आकलन गर्न सकिन्छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले २९४ स्थानमा विजय हासिल गरेको थियो । उसले दुई महानगरपालिका र सात उपमहानगरपालिकासहित १२३ नगरपालिकाको प्रमुख जितेको थियो । त्यस्तै १७१ गाउँपालिकाको अध्यक्ष जितेको थियो । तर अहिले भने एमालेले त्यो बिरासत जोगाउन नसक्ने प्रस्ट भएको छ ।

अहिले पुरै परिणाम आइसकेको छैन । अघिल्लो पटक कांग्रेसले दुई महानगरपालिका, दुई उपमहानगरपालिकासहित १०५ नगरपालिकाको प्रमुख जितेको थियो । त्यस्तै कांग्रेसले १६१ गाउँपालिकाको अध्यक्ष जितेको थियो । त्यतिबेला कांग्रेस ७५३ स्थानीय तहमध्ये २७४ तहको प्रमुख जितेर दोस्रो भएको थियो ।

यसपटक कांग्रेस माओवादी केन्द्र र एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस)लाई समेत साथमा लिएर स्थानीय निर्वाचनमा होमियो । यसो गर्दा कांग्रेसलाई आफ्नो पक्षमा जित निकाल्न सहज भयो । अहिले कांग्रेसले स्थानीय तहमा जित निकाल्दै गर्दा एमालेले भने आगामी निर्वाचनमा रणनीति बदल्ने तयारी गरिरहेको हो ।

एमाले नेताका अनुसार सबैभन्दा पहिला एमालेबाट अलग भएर माधव नेपालसँग गएका नेता–कार्यकर्तालाई पार्टीमा फर्काउने र उनीहरूलाई उचित जिम्मेवारी दिने रणनीति पार्टीले लिनेछ । त्यसैगरी माओवादी र साना वाम पार्टीहरूबाट एकल रूपमा नेता–कार्यकर्तालाई एमालेमा ल्याएर जिम्मेवारी दिइनेछ । यो क्रम स्थानीय तहको निर्वाचनमा पनि चलेको थियो ।

अब पनि यसलाई व्यापक रूपमा निरन्तरता दिने तयारीमा एमाले छ । आगामी निर्वाचन जित्न एमालेले माओवादीसहितको वाम गठबन्धनको प्रस्ताव गर्नेछ । ‘स्थानीय तह निर्वाचन परिणाम पूरै नआउँदै एमाले आगामी निर्वाचनमा आफ्नो रणनीति बदल्ने तहमा पुगेको छ ।स्थानीय तह निर्वाचन परिणाम समीक्षा गर्दै रणनीति बदल्नुपर्ने देखिन्छ,’ एमालेका एक नेताले भने ।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीभित्र अहिले नै निर्वाचनको समीक्षा भइनसकेको बताए । ‘अब हुने चुनावका लागि रणनीति बदल्न सकिन्छ तर यो विषयमा पार्टीमा छलफल भएको छैन । एमालेबाट अलग भएर गएका धेरै साथीले पार्टी विभाजन गर्नुहँुदैनथ्यो भन्ने महसुस गरिसक्नुभएको छ । उहाँहरू चाँडै नै मूल पार्टीमा आउनुहुनेछ,’ उपाध्यक्ष पौडेलले भने ।

वाम पार्टीबाट एमालेमा प्रवेश गराएर उचित जिम्मेवारी दिने योजना रहेको पौडेलले बताए । एमालेका एक शीर्ष नेताका अनुसार स्थानीय तहको निर्वाचनमा पार्टीको जनमत नघटेको तर सिट संख्यामात्रै घटेको छ । यस्तो अवस्थामा आगामी निर्वाचनलाई ध्यानमा राखेर पार्टी एकताभन्दा पनि अन्य दलका नेता–कार्यकर्तालाई एमालेमा ल्याउने पार्टीको पहिलो कोसिस हुनेछ ।

‘अहिले सत्तारूढ दलबीच महागठबन्धन भयो । हाम्रो सिट संख्या घटेको हो, जनमत घटेको छैन । निर्वाचनमा एमालेविरुद्ध राज्यशक्तिको दुरूपयोग पनि भयो,’ ती नेताले भने, ‘माओवादी आफ्नै बुताले निर्वाचनमा गएको होइन, कांग्रेसले साथ दिएको छ, एमालेबाटै विभाजन भएर बनेको पार्टीले पनि साथ दिएको छ । यसो हेर्दा उनीहरूले एमालेविरुद्ध मोर्चाबन्दी गरेका छन् ।

ती नेताका अनुसार माओवादीले कांग्रेसको बुई चढेर सिट संख्या बढाए पनि जनमत उसको पक्षमा छैन । ‘त्यसकारण पनि एमालेको सिट संख्या घटेको हो, जनमत घटेको होइन,’ ती नेताले भने । एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाल अहिले आत्मसमीक्षा गर्ने बेला भएको बताउँछन् । वाम पार्टीहरू विभाजित भएपछि यसको फाइदा गैरवामपन्थीहरूले उठाउनु स्वाभाविक भएको उनको विश्लेषण छ ।

‘एउटै सिद्धान्त र विचार बोकेका पार्टीहरू विभाजित भएपछि मत विभाजन भयो । मत विभाजन नभएको भए अहिले करिब ६०० स्थानीय तह जित्न सकिन्थ्यो । यो अवस्था किन कहाँबाट आयो भनेर सबैले सीमक्षा गर्नुपर्छ,’ भुसालले भने । अहिले यो अवस्था आउनुमा कुन नीति र कुन जिम्मेवारीमा बसेका व्यक्ति कारक हुन् भन्ने विषयमा समीक्षा गरेर अघि बढ्नुपर्ने उनी बताउँछन् । उनले निर्वाचन प्रचारप्रसार क्रममा दलका नेताहरूले मतदातालाई आकर्षित गर्ने र विपक्षीलाई कमजोर बनाउने अभिव्यक्ति दिनु स्वाभाविक भएकाले अध्यक्ष ओलीले दिएका अभिव्यक्तिलाई अनौठो रूपमा लिन नहुनेसमेत बताए  ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार १०:०४