सूचनाको शक्ति - The Power Of Information

        

३ सय १७ पालिकाकाे नतिजा : कांग्रेस १ सय ४३, एमाले ९२ र माओवादी ६९ वटामा विजयी

पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म तीन सय १७ वटा पालिकाको अन्तिम नजिता सार्वजनिक भएकाे छ । नतिजाअनुसार कांग्रेस एक सय ४३ वटा पालिकाको नेतृत्वमा जित हासिल गर्दै पहिलो नम्बरमा रहेको छ ।

कांग्रेसले अहिलेसम्म ३० वटा नगरपालिकाको मेयर र एक सय १३ वटा गाउँपालिकाको अध्यक्ष जितेको हो । यस्तै कांग्रेसले २१ वटा नगरपालिकाको उपमेयर र एक सय १५ वटा गाउँपालिकाको उपाध्यक्षमा विजयी भएको छ । यस्तै कांग्रेसले एक हजार ६ सय ६४ वटा वडामा वडाध्यक्ष जितेको छ ।

नेकपा एमाले ९२ वटा पालिकाको नेतृत्व जितेर दोस्रो स्थानमा छ । एमालेले अहिलेसम्म १६ वटा नगरपालिकाको मेयर र ७६ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।

यस्तै एमालेले २१ वटा नगरपालिकाको उपमेयर, ७१ वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार दुई सय ६९ वडाको अध्यक्ष जितेको छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म सात वटा नगरपालिकाको मेयर र ६१ वटा गाउँपालिकाको उपाध्यक्ष गरी ६९ वटा पालिकाको नेतृत्वमा जित हासिल गरेको छ ।

यस्तै माओवादी केन्द्रले आठ वटा नगरपालिकाको उपमेयर, ६४ वटा गाउँपालिकाको उपाध्यक्ष र सात सय २१ वटा वडाको अध्यक्ष पद जितेकाे छ ।

नेकपा एकीकृत समाजवादीले चार वटा गाउँपालिकाको अध्यक्ष, तीन वटा नगरपालिकाको उपमेयर, ६ वटा गाउँपालिकाको उपाध्यक्ष र एक सय पाँच वटा वडाको अध्यक्ष पद जितेको छ ।

नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर र उपमेयरसहित सबै ठाउँमा जित निकालेको छ । एउटा नगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

जनता समाजवादी पार्टीले चार वटा पालिकाको अध्यक्ष जितेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १७:५३