सूचनाको शक्ति - The Power Of Information

        

सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

यहाँको सिम्ता गाउँपालिका–१ भगवती मावि खनेटा केन्द्रमा सोमबार पुनः मतदान हुने भएको छ ।

मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएको विषयमा तनाव सिर्जना हुँदा शुक्रबार स्थगित मतदान सोमबार सात बजेदेखि ५ बजेसम्म हुने भएको हो ।

निर्वाचन अधिकृत नारायण सापकोटाले मुख्य निर्वाचन अधिकृत र प्रदेश निर्वाचन कार्यालयबाट मतदान अधिकृतसहितको कर्मचारी, मतपत्रलगायतका आवश्यक सामग्री आज मतदान केन्द्रमा आइपुग्ने जानकारी दिनुभयो । पुनः मतदान हुने भएपछि यसअघि नियुक्त मतदान अधिकृत र अन्य निर्वाचन कर्मचारी पनि हटाइएका थिए ।

त्यस्तै, जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले थप सुरक्षाकर्मी पनि पठाउने तयारी गरेको छ । पूर्वी सुर्खेतमा पर्ने उक्त मतदान केन्द्रमा ८३९ मतदाता छन् । यहाँ मतदान स्थगित हुँदा सिम्ता गाउँपालिकामा मतगणना कार्य पनि सुरु भएको छैन ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार ०८:५१