शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा दलहरूप्रतिको अविश्वास बढ्दै जाँदा अघिल्ला निर्वाचनको तुलनामा कम मत खसेको नागरिक अभियन्ताले विश्लेषण गरेका छन् । निर्वाचन आयोगका अनुसार ६८ देखि ७० प्रतिशतको हाराहारीमा मत खसेको छ ।
आयोगले आइतबार बेलुकीसम्म पनि देशभर खसेको भोटको यकिन प्रतिशत प्रमाणित हुन बाँकी रहेको बताएको छ । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले भने, ‘देशभर ६८ देखि ७० को हाराहारीमा मत खसेको छ । तर, प्रमाणित हुन बाँकी छ ।’
संघीय संरचना लागु भएपछि पहिलो पटक २०७४ सालको स्थानीय तह निर्वाचनमा ७४.१६ प्रतिशत मत खसेको थियो । देशभर १ करोड ४ लाख ८९ हजार २०४ मतदाताले मत दिएका थिए । त्यसबेला जम्मा १ करोड ४० लाख ७२ हजार ४२४ जना मतदाता थिए ।
सो निर्वाचनको तुलनामा यसपटक देशभर समग्रमा ६ प्रतिशत मत कम खसेको देखिएको छ । अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा ७०.६ प्रतिशत मत खसेको थियो । यसपटक ६३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौं महानगरपालिकामा कम मत खस्नुको कारण राजनीतिक दलहरूप्रतिको निराशा भएको नागरिक अभियन्ता मल्ल के सुन्दर बताउँछन् । उनले काठमाडौंका मतदातामा २०१५ सालदेखिकै एकखालको बिरासत रहेको बताउँछन् ।
पहिलो निर्वाचनबाट निर्वाचित राजनीतिक दलका प्रतिनिधिबाट गरिएका आशा निराशामा परिणत भएकाले पनि मतदाता भोट दिन नगएको मल्लको विश्लेषण छ । ‘पहिलो निर्वाचनका विजयी उम्मेदवारबाट गरिएको आशा र काम पूरा भएको मतदाताले पाएनन् ।
दलगत कार्यक्रम पनि मतदाताले सोचेअनुसार भएजस्तो देखिँदैन,’ उनले भने, ‘त्यही विश्लेषण गरेर मतदाताले त्यही उम्मेदवार, त्यही दल, त्यही अनुहारलाई केका लागि भोट दिने भन्ने एकखालको द्वेष भएको होला !’
काठमाडौंका मतदाताका सन्दर्भमा पहिले पनि यस्ता उदाहरण छन् । काठमाडौंका प्रभावशाली व्यक्ति गृहमन्त्री भएको बेला नानीमैया दाहाललाई प्रमुखमा भोट दिएर जिताएको उदाहरण दिँदै मल्लले मतदाताको आक्रोशकै कारण मत नखसेको बताए ।
‘पहिले पनि आक्रोशकै कारण राजनीतिक दलका उम्मेदवारलाई भोट दिएका थिएनन् । नानीमैयाँलाई भोट दिएर पठाएका थिए,’ उनले भने, ‘दलहरूको आचरणबाट निराश भएर उनलाई मतदान गरेका थिए । यहाँका मतदातामा रुलिङ पार्टीप्रतिको ‘रिजेन्टमेन्टको लिगासिटी’ छ ।’
राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन २०३८ वैशाख २७ मा भएको थियो । काठमाडौंका मतदाताको उदाहरण दिँदा त्यसबेला राजनीतिमा लागेका जोगमेहर श्रेष्ठ र राजनीतिमा नाम नसुनिएकी नानीमैयाँ प्रतिस्पर्धामा थिए । जोगमेहरले २९ हजार मत ल्याएका थिए । नामै नसुनिएकी नानीमैयाँ ६५ हजार ७०० मत ल्याएर विजयी भएकी थिइन् ।
सर्वाधिक लोकप्रिय मत ल्याएकी उनी राजनीतिमा देखिइनन् । नागरिक अभियन्ता मल्ल कम मत खस्नुको अर्को कारण पनि बताउँछन्, ‘काठमाडौं महानगरपालिकाका कोर एरियाका बासिन्दा चार वर्षभित्र विभिन्न कारणले थातथलो छोडेर पर गएका छन् ।’
भूकम्पपछि विभिन्न कारणले मूल थातथलोबाट छेउछाउ गएर बसेका मतदाता मतदानको दिनमा यातायातको समस्याले पनि जान नपाएको उनको दोस्रो विश्लेषण छ । तेस्रो विश्लेषणमा मतदाताको विवरणमा मरिसकेका, स्थानान्तरण भइसकेका व्यक्तिको नाम रहेकाले पनि कम मत खसेको उनी बताउँछन् ।
मृत्यु भएका र अन्यत्रै गइसकेका तर मतदाता नामावलीमा नाम हुँदा पनि कम मत खसेको उनको विश्लेषण छ । मल्लको एउटा तर्कप्रति नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठ पनि सहमत देखिन्छन् । राजनीतिक दलहरूप्रति नागरिकको घृणा र अविश्वासका कारण कम मत खसेको उनको विश्लेषण छ ।
‘जसलाई मत दिए पनि के भयो र ? भन्ने मतदाताको सोचाइले पनि कम भएको हो,’ उनले भने, ‘यहाँ साक्षरताको कमी पनि होइन । मतदाता शिक्षाको कमी पनि होइन । सबैभन्दा शिक्षित मानिस यहीँ बस्छन् । दलहरूप्रतिको निराशा मुख्य कारण हुनुपर्छ ।’
श्रेष्ठ नयाँ पुस्ताको भोट स्वतन्त्र उम्मेदवारले जुन कारणले तानेका छन्, भोट घट्नुको कारण पनि उही मान्छन् । ‘मतदानको स्वरूप हेर्दा पुरानाहरूले भोट दिन छोडे । युवा पुस्ता भोट दिनका लागि तम्सिएको देखिन्छ । पुराना पुस्ता भोट दिन नआएको देखिन्छ ।’
कारण, पार्टीहरू सबै उस्तैउस्तै भएकाले र विचार, अजेन्डा ल्याउने पार्टी नै नभएकाले भोट दिन नगएको उनको तर्क छ । मतदानमा मानिसको चाहना कम हुँदै जानुको कारण गहिरो खोजबिन हुनुपर्ने र हचुवामा भन्न नमिल्ने श्रेष्ठको तर्क छ ।
‘मेरो अनुमानमा बुढापुराना भोट दिन गएनन् । युवा पुस्ताले नयाँ पुस्ता खोजेर भोट दिए । म कीर्तिपुरमा बस्छु, नाति पुस्ता काठमाडौंका युवा उम्मेदवारलाई भोट दिन सक्रिय देखें,’ उनले भने, ‘काठमाडौंमा मात्रै नभएर बौद्धिक वर्ग बस्ने अन्य सहरमा पनि मत कम खसेको छ जस्तो लाग्छ । तर, गाउँमा बढेको छ ।’
उपत्यकामध्ये भक्तपुरमा ७६ प्रतिशत, ललितपुरमा ६९.३ प्रतिशत, काठमाडौं जिल्लामा ६८ प्रतिशत र महानगरपालिकामा ६३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । शुक्रबार निर्वाचन सकिएपछि आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सहज परिस्थिति हुँदाहुँदै पनि मत प्रतिशत कम खसेको भन्दै निराशा व्यक्त गरेका थिए ।
मौसम र सुरक्षाका कारणले ६४ प्रतिशत मात्रै मतदान भएको बताएका थिए । ‘हामीलाई प्राप्त तथ्यांकअनुसार शुक्रबार साँझ ७ बजेसम्म देशभर ६४ प्रतिशत मतदान भएको छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भनेका थिए ।
काठमाडौं महानगरपालिकाको मतदानको स्थिति शान्तिपूर्ण र सहज हुँदाहुँदै पनि ५२ प्रतिशतको हाराहारीमा मात्रै मतदान भएको प्रारम्भिक अनुमान छ । यो सन्तोषजनक छैन ।’ आयोगले ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने अपेक्षा लिएको उनले बताएका थिए । आइतबारसम्म आयोगले खसेको मत प्रतिशतको यकिन तथ्यांक दिन सकेको छैन ।
सत्यपाटी । काठमाडौं ।