तनहुँमा नेपाली कांग्रेसले वडाध्यक्षमा भिमाद नगरपालिका–१ बाट विजयी सुरुवात गरेको छ । शनिबार साँझ आएको अन्तिम मतपरिणाममा एमालेका उम्मेद्वारलाई पराजित गर्दै नेपाली कांग्रेसका दिपक आले ५७ मतान्तरले वडाध्यक्षमा विजयी भएका हुन् ।
उनले एक हजार ५९ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए । उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका बलबहादुर थापाले एक हजार दुई मत प्राप्त गरे । खुलातर्फका दुई वडा सदस्यसँगै, खुला महिला र दलित महिला सदस्यमा भने एमालेका उम्मेद्वार विजयी भएका छन् ।
नेपाली कांग्रेसले वडाध्यक्षमा विजयीको खाता खोलेको वडा नेकपा एमालेको तर्फबाट तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा विजयी केदार सिग्देलको वडा हो । यस्तै, संविधान सभा सदस्य एवम नेकपा एमालेका केन्द्रिय सदस्य टुकराज सिग्देल पनि यहीँ वडाका हुन् ।
वडाध्यक्षको उम्मेद्वार चयनमा एमाले सफल नहुदाँ पकड वडाबाटै वडाध्यक्षमा पराजित हुन परेको छ । किनकी वडा सदस्यमा १५६ देखि २२२ सम्म मतान्तर छ । तनहुँको नौ स्थानीय तहमा मतगणना सुरु भएको छ । व्यास नगरपालिकामा अझै मतगणना हुन सकेको छैन् । शनिबार दिउँसो भानु नगरपालिकामा मतगणना सुरु भएसँग जिल्लाको नौ स्थानीय तहमा मतगणनाले तिब्रता पाएको हो ।
जिल्लाको म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका र घिरिङ गाउँपालिकामा शुक्रबार रातीदेखी नै मतगणना सुरु गरिएको थियो । भिमाद नगरपालिकामा शनिवार विहानदेखी मतगणना सुरु भएको हो । शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा शनिबार दिउँसो मतगणना सुरु गरिएको छ ।
व्यास नगरपालिकामा भने मतगणना सुरु हुन सकेको छैन । व्यास नगरपालिका–८ साविकको रिस्ती गाविसको भवन फेदीको मतदान केन्द्रमा स्वतन्त्र मेयरका उम्मेद्वार दिपकराज जोशी कुटिएका । नेकपा एमालेसँग तालमेल गर्दै उनले व्यासको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका थिए । मतदान निरिक्षणको क्रममा कुटिएपछि टाउकोमा गम्भिर चोट लागेका उनको काठमाडौंमा उपचार भईरहेको छ ।
नेकपा एमाले र गोविन्दराज जोशी समूहले व्यास नगरपालिका–८ रिस्तीमा पुनः मतदान गर्न माग गरेका छन् । नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकाल र गोविन्दराज जोशी समुहकातर्फबाट हरिशरण पण्डितले शुक्रबार प्रेस विज्ञप्ती सार्वजनिक गरी गाविस भवन फेदीमा भएको मतदान स्थल (क) र (ख) केन्द्रमा भएको मतदान प्रकृया स्थगन गरी पुनः भयरहित वातावरणमा मतदान गर्न माग गरेका हुन् ।
मतदानका क्रममा भएका प्रकृयाहरु छानबिन गरी पुनः मतदान हुनेस्थिति नहुँदासम्म अन्य मतदान केन्द्रका मतपेटिकाका मतहरु समेत गणना नगर्न अनुरोध गर्दै मतगणनामा सहभागी नहुने विज्ञप्तीमा उल्लेख छ । त्यसैले पनि व्यासमा मतगणना सुरु हुन सकेको छैन । शुक्रबार तनहुँका १० स्थानीय तहको ८५ वडामा नयाँ नेतृत्व चयनका लागि १३६ मतदानस्थलको २९७ मतदान केन्द्रबाट उल्लासपुर्ण वातावरणमा मतदान भएको थियो ।
निर्वाचनमा जिल्लाका ६४.४० प्रतिशत मतदाताले मतादान गरेका छन् । जिल्लामा दुई लाख ४४ हजार ३४० मतदाता मतदान गर्न योग्य थिए । प्रारम्भिक विवरण अनुसार जिल्लामा एक लाख ५७ हजार ३५५ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले जानकारी दिए । उनका अनुसार मतदान गर्न योग्य भएर पनि ८६ हजार ९८५ मतदाताले मतदान नै गरेनन् ।
सत्यपाटी । तनहुँ ।