सूचनाको शक्ति - The Power Of Information

        

इटहरी उपमहानगरमा मतगणना हुँदै, मोरङका अन्य पालिकामा जारी

मोरङको इटहरी उपमहानगरपालिका मतगणना केहीबेरमा सुरु हुने भएको छ । बिहान बसेको सर्वपक्षीय बैठकले ११ बजेदेखि गणना हुने निर्णय भए पनि राजनीतिक दलका पार्टी प्रतिनिधी भेला हुन समय लागेकाले गर्दा ढिलाइ भएको हो ।

नेपाली कांग्रेसका कार्यबाहक सभापति कोविदचन्द कार्कीका अनुसार राजनीतिक दलका प्रतिनिधी अब तत्काल भेला भए मतगणना करिब १२.३० बाट सुरु हुनेछ । नत्र अरु समय लम्बिनेछ । इटहरीमा कुल एक लाख चार हजार ६२६ मतदातामध्ये ७३ हजार ८९६ मत खसेको थियो ।

सुनसरीका स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता रहेको र मत खसेको पनि इटहरी नै हो । इटहरीमा गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका हेमकर्ण पौडेल र एमालेका तर्फबाट याम सुब्बाप्रति प्रतिस्पर्धा हुने देखिएको छ ।

उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादी पार्टीका केशबकुमार विष्ट र एमालेकी संगीता चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको छ । सुनसरीमा रहेका १२ पालिकामध्ये धरान उपमहानगरपालिका, दुहबी नगरपालिकासँगै कोशी, बर्जु र भोक्राहा नरसिंह गाउँपालिकामा बिहानैदेखि मतगणना थालिएको छ ।

धरानमा बिहान १०.३० बजेबाट सुरु भएको हो । दुहबीमा नेपाली कांग्रेसका वेदनारायण गच्छदारले मेयरमा अग्रता लिएका छन् । एमालेका विनय पोखरेलले गच्छदारलाई पछ्याइ रहेका छन् । यस्तै, उपमेयरमा पनि नेपाली कांग्रेसकी मेनुका पोखरेलले प्रारिम्भक मतगणनामा अग्रता लिएकी छन् ।

उनलाई जनता समाजवादी पार्टीका सरोज सिंहले पछ्याइ रहेका छन् । दुहबीमा कांग्रेससँगै अन्य दल सिङ्गल चुनावी प्रतिस्पर्धामा रहेका थिए भने एमाले र जनता समाजवादी पार्टीबीच गठबन्धन भएको थियो । दुहबी नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको गृह नगर हो । यहाँ एमालेकी नेता भगवती चौधरीको पनि प्रभाव रहेको छ ।

भोक्राहा नरसिंह गाउँपालिकामा वडा नंं. १ बाट गणना हुँदा एमालेका अध्यक्षका उम्मेदवार महेन्द्रप्रसाद यादवले अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका अजमल अख्तर मियाँले पछ्याइ रहेका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसकी सुनिताकुमारी उराँवले अग्रता लिएकी छन् । उराँवलाई नेकपा एमालेकी सवितादेवी मेहताले पछ्याइरहेकी छन् ।

कोशी गाउँपालिकामा वडा नं. १ बाट गणना गर्दा अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टीले अग्रता लिएको छ । जसमा ५१४ मत गणना गर्दा जनता समाजवादी पार्टीका देवकृष्ण यादवले २६९ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका ऐयुव अनसारीले ११३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष र वडाध्यक्षसहित सदस्यमा पनि पुरै प्यानल जनता समाजवादी पार्टीले नै अग्रता लिएको छ । बर्जु गाउँपालिकाको वडा नंं. १ बाट गणना गर्दा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले पछ्याइ रहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १२:५४