सूचनाको शक्ति - The Power Of Information

        

अपांगता भएकालाई अपमान

ह्विलचियर लग्न नदिएपछि हिलोमा घस्रेर मतदान (भिडियोसहित)

‘पुलिसले ह्विलचियरभित्र लैजान दिएन,’ फागुराम चौधरीले भने, ‘घस्रेर लाम लागें । मतदान गर्ने बेलासम्म त मेरो जीउभरि हिलो भइसकेको थियो ।’

नेपालगन्ज उपमहानगरपालिका–२० नयाँ बस्तीका फागुराम चौधरी ह्विलचियरको मद्दतले मात्रै ओहोरदोहोर गर्न सक्छन् । जहाँ ह्विलचियर पुग्दैन, त्यहाँ उनीहरूलाई घिस्रनुको विकल्प छैन । यस्तै विकल्पहीन अवस्था बन्यो, शुक्रबार राँझास्थित आदर्श माविको मतदान केन्द्रमा । उनी ह्विलचियर लिएर मतदान केन्द्र पुगेका थिए तर सुरक्षाकर्मीले भित्र लैजान दिएनन् ।

बिहानैदेखिको वर्षाले हिलाम्य भएको मतदानस्थलमा चार हातखुट्टा टेकेर घस्रिँदै उनी अगाडि बढे । घुँडा र हातभरि हिलो लतपतिएकै अवस्थामा उनले मतदान गरे । ‘पुलिसले ह्विलचियरभित्र लैजान दिएन,’ फागुराम चौधरीले भने, ‘घस्रेर लाम लागें । मतदान गर्ने बेलासम्म त मेरो जीउभरि हिलो भइसकेको थियो ।’ मतदान गर्ने टेबल र मतपेटिका राखिएको स्थान पनि अपांगतामैत्री थिएनन् ।

चौधरीले भने, ‘छाप लगाउने टेबल पनि अग्लो थियो । आफैंले नसकेपछि सहयोगीले छाप लगाइदिए ।’ अपांगता भएकी मतदाता कलशा विकले पनि ह्विलचियरभित्र लैजान नदिइएपछि सास्ती खेप्दै मतदान गरिन् । उनले अपांगता भएकाका लागि छुट्टै व्यवस्था नभएको र सहयोगी व्यवहार पनि नभएको बताइन् । ‘ह्विलचियर ल्याउँदा के अशान्ति हुन्थ्यो र ?’ उनले भनिन् ।

(भिडियो : सामाजिक सञ्जालबाट)


अपांगतामैत्री व्यवस्थापन नहुँदा राँझास्थित मतदान केन्द्रमा कैयन् अपांगता भएका व्यक्तिले दुःख खेपे । दिनेश बर्मा रिक्सामा चढेर मतदानस्थल आएका थिए । अरू बेला ट्राई साइकलमा हिँड्ने उनी चर्को गर्मीमा मतदानस्थलसम्म छिटो पुगिएला भनेर रिक्सामा आएका थिए तर आफ्नो पालो नआएकाले धेरैबेरसम्म रिक्साबाट ओर्लेनन् । अपांगता भएकाहरूलाई छिटो पालो दिने भनिए पनि उनले घिस्रिएरै लाइनमा बस्नुपर्यो ।

उनले गुनासो गर्दै भने, ‘हामीलाई त अलिकति भए पनि सहुलियत दिनुपर्ने हो । हिँड्ने र नहिँड्ने एउटै दौडमा कसरी बस्न सक्छ ।’ लालबहादुर परियार शारीरिक अपांगता भएका व्यक्ति हुन् । एउटा खुट्टा कमजोर भएकाले उनी बैसाखीको सहायतामा हिँड्डुल गर्छन् । एक घण्टा लाममा बसेपछि मात्रै मतदान गर्ने पालो पाएको सुनाउँदै उनले भने, ‘एकातिर चर्काे घाम, अर्काेतिर लाइन । बडो दुःखसित भोट हालियो ।’

मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले अपांगता भएका व्यक्तिको ह्विलचियरभित्र लैजान नदिइएको विषयलाई आफूले गम्भीर रूपमा लिएको बताए । ‘ह्विलचियर प्रयोग गर्न नपाउने भन्ने कुरै छैन, केही असमझदारी भएको हो,’ उनले भने, ‘ठाउँ आफैंमा साँघुरो थियो । सबलांगलाई पनि निकै अप्ठ्यारो पर्नेजस्तो देखिन्थ्यो ।’ जिल्ला निर्वाचन कार्यालय प्रमुख रमा पन्तले अपांगता भएका व्यक्तिका लागि आयोगले विशेष व्यवस्था नगरेको बताइन् ।

राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष देवीदत्त आचार्यले निर्वाचन अधिकृतले अपांगतामैत्री संरचनाबारे बुझ्न नसकेको बताए । ‘९५ प्रतिशत मतदान केन्द्रमा अपांगतामैत्री संरचना थिएन,’ उनले भने, ‘एकातिर सहयोगी साधनको पास भएन । अर्काेतिर सहयोगी चाहिनेले पनि गोप्य मतदान गर्न पाएनन् ।’ अपांग महासंघ जिल्लाका अनुसार बाँकेमा ६ हजार हाराहारी यस्ता मतदाता छन् । अपांगता भएका व्यक्तिहरूको मताधिकारलाई सम्मान गर्ने प्रणाली नहुँदा उनीहरूले सास्ती मात्रै खेपेका छैनन्, गोप्य मतदानको अधिकार पनि हनन् भइरहेको छ ।

 

-कान्तिपुरबाट

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०७:२०