सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन आज

सुरु भयो मतदान, आजैबाट मतगणना (तस्वीरसहित)

अधिकांश मतणनास्थलमा सिसी टिभी जडान

स्थानीय तह निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदान गर्न पाउनेछन् ।

जसअनुसार निर्वाचनमा देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । जसमा ८७ लाख ४१ हजार ५३० महिला मतदाता छन् । ८९ लाख ९२ हजार १० पुरुष र १८३ जना अन्य मतदाता छन् ।

मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको छ । निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि चुनिनेछन् ।

जसमध्ये ३५५ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । जसमा ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् । विभिन्न स्थानीय तहका ९ स्थानमा भने उमेदवारको मृत्यु भएकाले मतदान रोकिएको छ । त्यहाँ पुनः निर्वाचन प्रक्रिया सुरु भएको छ ।

मतदाता परिचयपत्र नहुनेले पनि भोट हाल्न पाउने

मतदानका लागि मतदाता नामावलीमा नाम भएको र मतदाता परिचयपत्र आवश्यक पर्छ । तर, मतदाता परिचपत्र हराएको, नष्ट भएकाहरुले पनि भोट हाल्न पाउनेछन् ।

आयोगले मतदाता नामावलीमा नाम रहेको तर परिचयपत्र नभएकाहरुको हकमा भने नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी अथवा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्ने व्यवस्था गरेको छ ।

आजैबाट मतगणना

निर्वाचन आयोगले सुरक्षा प्रवबन्ध मिलाइएको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् । त्यस्तै मतगणना पनि आजैबाट सुरु हुने आयोगले जानकारी दिएको छ ।

धेरै स्थानमा आजैबाट मतगणना कार्य प्रारम्भ गर्ने जनाइएको छ । आयोगले जेठ ५ भित्रै मतगणना सक्ने नीति पनि लिएको छ । अधिकांश मतणनास्थलमा सिसी टिभी जडान गरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ०७:५३