सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन आज

एक जना मतदातालाई मतदान गर्न बढीमा एक मिनेट

देशभर १० हजार ७५६ मतदान स्थल रहेका रहेका छन् ।

आज शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि मतदान हुँदैछ ।

संघ र प्रदेशको निर्वाचनमा जस्तो एउटा उम्मेदवारका लागि एउटा मात्र स्वस्तिक छाप लगाउने नभई यो निर्वाचनमा प्रमुख उपप्रमुख वडाध्यक्षदेखि सदस्यसम्म ७ जना उम्मेदवारका लागि ७ छाप लगाउनुपर्ने हुन्छ ।

कम्तिमा १ मिनेटभित्र एकजना मतदाताले मतदान गरिसक्ने निर्वाचन आयोगले अनुमान गरेको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार एक जनाले कम्तिमा १ मिनेटभित्र मतदान गरिसक्ने आंकलन गरिएका बताए ।

सहप्रवक्ता अर्यालले भने, ‘अहिलेको यो स्थानीय तह निर्वाचनमा मतदान गर्न सरदर ४० देखि ५० सेकेन्ड लाग्नसक्छ । बढीमा १ मिनेट लाग्न सक्छ ।’ उनका अनुसार मतदान केन्द्रमा नाम रुजु गरेर मतपत्र लिएपछि मतदान गरेर फर्किनेसम्मका सबै कार्यका लागि कूल ५ मिनेटभन्दा बढी लाग्दैन ।

मतदान स्थलको दृश्य हेर्दा एकजना मतदाताको प्रवेशदेखि बाहिरिने बेलासम्म प्रक्रियामा ७–८ मिनेट भन्दा पर समय नजाने उनको भनाइ छ । उनले भने, ‘कुनै मतदाताले सुरुमा आफ्नो नाम रुजु गराएको हुन्छ । ऊभन्दा अगाडिकोले नङमा मसी लगाइरहेको हुन्छ । त्यसभन्दा अगाडिको मतपत्र लिएको हुन्छ ।

ऊभन्दा अगाडि गोप्य मतदान केन्द्रमा जान प्रतिक्षामा बसेको हुन्छ । अर्कोचाहिँ मतपत्रमा स्वस्तिक छाप हानिरहेको हुन्छ । अर्को व्यक्ति त्यही बेलामा मतपेटिकामा मतपत्र खसालेर बाहिरिन लागिरहेको हुन्छ । ७–८ मिनेटमा ७–८ जना मानिस मतदानको विभिन्न चरणमा रहेका हुन्छन् । एउटा मतपेटिकामा सरदर १ हजार जनाले मतदान गरेका हुन्छन् ।’

देशभर १० हजार ७५६ मतदान स्थल रहेका रहेका छन् । यसैबीच मतदाता नामावलीमा विवरण छ भने मतदाता परिचयपत्र नभएकाले पनि भोट हाल्न पाउने व्यवस्था गरिएको छ । यसअघि आयोगले स्पष्ट निर्णय नगर्दा हराएकाले के गर्ने भन्नेमा द्विविधा हुँदै आएकोमा निर्वाचनको अन्तिम समयमा आयोगले परिचय खुल्ने कागजातबाट पनि मतदान गर्न पाउने व्यवस्था गरेको हो ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ०६:३८