सूचनाको शक्ति - The Power Of Information

        

ल्हासा उड्न लागेको विमान धावनमार्गमै लाग्यो आगो

चीनको दक्षिण पश्चिम भागमा रहेको चोङछिङ शहरबाट ल्हासाका लागि उड्न लागेको विमान धावनमार्गमै आगो लागेको छ ।

चोङछिङ च्याङपे अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उक्त विमानका सबै ११३ यात्रु र नौ कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको तिब्बत एयरलाइन्सले जनाएको छ ।

बिहीबार बिहान विमान टेकअफ गर्नै लाग्दा धावनमार्गबाट अगाडि पुगेको थियो । घटनामा ४० भन्दा बढी यात्रुलाई सामान्य चोट लागेको बताइएको छ ।

उनीहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । उक्त घटनाको अनुसन्धान अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार १७:१४