देशभरका स्थानीय तहमा शुक्रबार एकैसाथ निर्वाचन हुँदैछ । निर्वाचनका लागि मतदाताहरू गाउँ फर्कंदै छन् । शीर्ष नेताहरू पनि मतदानका लागि गृह जिल्ला पुग्नेछन् ।
कसले कहाँबाट हाल्दै छन् भोट ?
प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको अग्रिसाम मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित केन्द्रबाट मतदान गर्नेछन् । उनले महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
यस्तै, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको टोखा नगरपालिका–७, धापासीस्थित स्काइलार्क स्कुल केन्द्रबाट मतदान गर्नेछन् ।
कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि केन्द्रबाट मतदान गर्नेछन् ।
यसैगरी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४, शिवनगरस्थित शान्तिपुर प्रहरी विद्यालय केन्द्रबाट मतदान गर्दै छन् ।
माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ स्थित परोपकार माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरस्थित रामजानकी कन्या मन्दिर केन्द्रबाट मतदान गर्नेछन् ।
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल इलामको सूर्योदय नगरपालिका–९ रम्पोक केन्द्रबाट मतदान गर्नेछन् ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले विराटनगर महानगरपालिका–१४, डिग्री क्याम्पस केन्द्रबाट मतदान गर्नेछन् ।
जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्नेछन् ।
यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले महोतरीको पिपरा नगरपालिकास्थित एकरैया केन्द्रबाट मतदान गर्नेछन् ।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ स्थित केन्द्रबाट मतदान गर्नेछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले झापाको हल्दिबारी गाउँपालिका–१, गोल्धापबजारस्थित वडा कार्यालय केन्द्रबाट मतदान गर्नेछन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ स्थित वंशगोपाल उच्च मावि केन्द्रबाट मतदान गर्नेछन् ।
सत्यपाटी । काठमाडौं ।