सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरुको घुँइचो

स्थानीय तह निर्वाचनका लागि मतदान गर्न काठमाडौंबाट घर फर्किनेको भीड लागेको छ । कोटेश्वर र बालाजुको माछापोखरी क्षेत्रमा घर फर्किनेहरुको भीड बढेको हो ।

ती क्षेत्रमा मानिसहरुको ठूलो भीड बढेपछि केहीबेर ट्राफिक जामको अवस्था छ । विगत केही दिनदेखि नै काठमाडौं उपत्यकाबाट जिल्ला फर्किनेहरूको संख्या बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तर आजबाट कतिपय विद्यालयहरु पनि बन्द भएकाले विद्यार्थी र उनीहरूका अभिभावकहरू जिल्ला फर्किने क्रम ह्वात्तै बढेको छ । कतिपयले गाडी रिजर्भ गरेर मानिसहरू गाउँसम्म ओसारिरहेका छन् ।

मतदाता नामावलीमा आफ्नो नाम जहाँ छ, त्यहीँबाट मात्र मतदान गर्न पाइने भएकाले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न उपत्यका छाडेर घर फर्किएको उनीहरुले बताएछन् ।

ट्राफिक प्रहरीका अनुसार कोटेश्वर जडिबुटी हुँदै बाहिरिने सवारी साधन र नयाँ बसपार्क क्षेत्रबाट बाहिरिने सवारी साधनहरु क्यूमा चलिरहेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार १०:१४