सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

देशभरका सबै मतदान केन्द्रमा कर्मचारीसहित पुग्यो सामग्री

देशभरका मतदान केन्द्रमा एक लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ स्वयंसेवक परिचालन हुनेछन् ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि देशभरका ७५३ पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगेको छ ।

निर्वाचन कार्यक्रम बमोजिम वैशाख ३० गते हुने मतदानभन्दा तीन दिनअघि पुग्नुपर्ने भएकाले ७५३ पालिकाका १० हजार ७५६ मतदान स्थलमा मतदान अधिकृतसहितको सामग्री पुगेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ‘मतदान अधिकृत र सामग्री नपुगेको कतैबाट जानकारी नआएकाले निर्वाचन कार्यक्रमबमोजिम मङ्गलबार नै मतदान केन्द्रसँग सम्बन्धित काम अगाडि बढेको’ जानकारी दिए ।

आयोगको कार्यक्रम बमोजिम वैशाख २७ गते २१ हजार ९५५ वटै मतदान केन्द्रमा मतदान अधिकृत पुगिसक्नु पर्नेछ । देशभरका मतदान केन्द्रमा एक लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ स्वयंसेवक परिचालन हुनेछन् ।

मौन अवधि मङ्गलबार मध्यरातिबाट सुरु भएको छ । त्यसअघि मतदान अधिकृतले सोही दिन मतदान केन्द्र तोकिएको सूचना प्रकाशित गर्नेसहित पाँचवटा अनुसूची बमोजिमको गतिविधिलाई पूर्णता दिएका छन् ।

निर्देशिका अनुसार मतदान केन्द्र÷मतगणना स्थल रहेको ठाउँको वरिपरि हातहतियार लिएर हिँड्न निषेध गरेको, प्रचारप्रसार गर्न निषेध गरेको, मतदान केन्द्र रहेको ठाउँको वरिपरि शान्ति भङ्ग नगर्ने तथा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशित गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिकाका सहायक निर्वाचन अधिकृत गणेश पौडेलले पालिकाअन्तर्गतका सबै मतदान केन्द्रमा पाँचवटै सूचना जारी गरी बुधबार सर्वपक्षीय बैठकको तयारी भइरहेको जानकारी दिए ।

उनले बुधबार र बिहीबार मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा कार्यक्रम गरिने बताए । काठमाडौँसहित सुगम मतदान स्थलमा भने निर्वाचनको पूर्वसन्ध्यामा बिहीबार मात्रै मतपत्र पुर्याइनेछ ।

आयोगका प्रवक्ता पौडेलले भने, ‘काठमाडौँसहित अन्य सुगम मतदान केन्द्रमा समेत बिहीबार मात्रै मतपत्र लगिनेछ ।’ छाङ्रु, तिङ्कर र दुम्लिङ पुगे मतदान अधिकृत मतदान केन्द्र पुग्न सबैभन्दा कठिन मानिएको दार्चुलाको व्यास गाउँपालिका अन्तर्गत सबै मतदान केन्द्रमा मतदान अधिकृत मतदान सामग्री लिएर पुगेका छन् ।

व्यास गाउँपालिकाका निर्वाचन अधिकृत कौशल ज्ञवालीले छाङ्रु र तिङ्करस्थित मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट सोमबार नै मतदान अधिकृत र सामग्री पुर्याइएको जानकारी दिए । ‘पैदल हिँडेर पुग्नुपर्ने दुम्लिङ केन्द्रमा समेत मङ्गलबार राति ९ बजे मतदान अधिकृत सामग्री लिएर पुगेका छन्,’ उनले थपे ।

व्यास गाउँपालिकाको केन्द्रबाट ६ घण्टा पैदल हिँडेर मतदान अधिकृतसहितको टोली दुम्लिङ पुगेको निर्वाचन अधिकृत ज्ञवालीले बताए । सात हजार ८०४ मतदाता रहेको व्यास गाउँपालिका अन्तर्गत ११ मतदान स्थलमा १३ वटा केन्द्र तोकिएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता रहेका सबै मतदान केन्द्रमा मतदान हुने प्रस्ट पारेका छन् ।

कालापानी र लिम्पियाधुरामा मतदान हुन्छ त ? भन्ने जिज्ञासामा प्रमुख आयुक्त थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७४३ वडाको मतदाता नामावलीमा नाम हुने सबै केन्द्रमा आयोगले मतदान हुने गरी व्यवस्था गरेको जानकारी दिए । निर्वाचन अधिकृत ज्ञवालीले सबै मतदान केन्द्रमा मतदान अधिकृत, मतपत्र र मतपेटिकासहित ५७ प्रकारका सामग्री पुगेको जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार ०८:०७