सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा मुद्दा खेपिरहेका व्यक्ति पनि स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेपछि पीडितले त्यसको विरोध गरेका छन् ।
सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगन्जका १४ हजार निक्षेपकर्ताको ४१ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा अदालतमा मुद्दा खेपिरहेका व्यक्तिलाई पार्टीले उम्मेदवार बनाएपछि निक्षेपकर्ताले दैनिकजसो सडकमा प्रदर्शन गरेका हुन् ।
नेपाली कांग्रेस पार्टी कार्यालयमा सोमबार पुगेका उनीहरुले कांग्रेसको ध्यानाकर्षण गराएका छन् । पीडित निक्षेपकर्ताको अगुवाई गर्दै आउनुभएका वरिष्ठ अधिवक्ता विजय गुप्ताले उपमहानगरपालिकामा समेत ध्यानाकर्षण गराउन जाँदा मेयर धवल शम्शेर राणाले भेट्न नदिएको भन्दै दुःख व्यक्त गर्नुभयो ।
कालो सूचीमा रहेका र सहकारी वित्तीय विकास संस्था लिमिटेडका १४ हजार निक्षेपकर्ताको ४१ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा अदालतमा मुद्दा खेपिरहेका अजय पाठकलाई एमालेले नेपालगन्ज उपमहानगरपालिका–१७ को वडाध्यक्षको उम्मेदवार बनाएको थियो । तर उजुरी परेपछि उनको उम्मेदवारी रद्ध भएको थियो ।
पाठक अदालतमा ४० लाख धरौटी बुझाएर छुटेका थिए । रकम अपचलन गरेको आरोप लागेका दीपककुमार बर्मालाई पनि एमालेले नेपालगन्ज–१८ को वडाध्यक्षको उम्मेदवार बनाएको छ ।
बर्मालाई जिल्ला अदातलले सहकारी रकम अपचलन, ठगी र संगठित अपराध मुद्दामा २०७६ पुस १४ गते थुनछेक आदेश गरेको थियो । आदेश लगत्तै पक्राउ परेका बर्मा २० लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।
मुद्दाको टुंगो नलाग्दै र बचतकर्ताले रकम फिर्ता नपाउँदै मुख्य अभियुक्तलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतार्नेमा एमाले मात्र छैन ।
निक्षेपकर्ताको रकम अपचलन तथा ठगी गरेको अभियोग लागेका हरदेवबक्स चौधरीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालगन्ज–१४ र रविन थापालाई वडा नम्वर ६ मा वडाध्यक्षको उम्मेदवार बनाएको छ ।
उनीहरु २० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । निक्षेपकर्ताको माग जायज भएको भन्दै कांग्रेसले यो मुद्दालाई गम्भीरताका साथ लिएको कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले बताउनुभयो ।
ठगी, आर्थिक अपचलन आरोपमा मुछिएकालाई पार्टीले उम्मेदवार बनाउँदा मतदाता खिन्न छन् ।
सत्यपाटी । बाँके ।