बुटवल/ भैरहवा— लुम्विनी सडकखण्डमा देखिएका विभिन्न समस्याहरुले लुम्विनीको पर्यटन प्रबद्र्धनमा अवरोध सिर्जना गरेको भन्दै लुम्विनी सरोकार समितिका सदस्यहरुले मंगलवार मूख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण गराएका छन् । लुम्विनी क्षेत्रका प्रदेशसभा सदस्य फकरुद्धिन खांनको नेतृत्वमा आएको सरोकार टोलीले मुग्लिन—नारायणगढ र बुटवल भैरहवा सडक विस्तारका कारण लामो समयदेखि प्रभावित लुम्विनीको पर्यटनमा भर्खरै शुरु भएको भैरहवा—लुम्विनी सडक विस्तारले थप अप्ठेरो पारेको बताएका थिए । चार वर्ष अघि ठेक्का भएको भैरहवा —लुम्विनी सडकका पांच वटा पक्की पुल मध्ये तिनाउ र दानव नदीको पुल विस्तारमा ठेकेदारले गरेको ढिलासुस्तीका कारण घण्टौं सवारी अवरोध हुन थालेको,जसका कारण लुम्विनी घुम्न आउने पर्यटकहरु घण्टौं जाममा फस्नु पर्ने अवस्था आएको,एम्वुलेन्सको प्रयोग गरेका विरामीहरुले समेत समयमा उपाचार पाउन नसकेको, सडक निर्माण र सिमेन्ट उद्योगहरुबाट निस्केको धुलोका कारण प्रदूषण बढेको,पर्यटन प्रबद्र्धनका लागि लुम्विनी गुरुयोजना क्षेत्र वाहिर भौतिक पूर्वाधारहरुको अभाव रहेको लगायतका समस्याहरु मूख्य मन्त्री समक्ष देखाएका थिए । उनीहरुले लुम्विनी आउने लाखौं पर्यटहरुलाई स्वागत गर्न आफुहरु आतुर रहेपनि सरकारले पर्यटनमैत्री भौतिक संचरनाहरु निर्माणमा सहयोग नगरेको गुनासो उनीहरुको छ ।
लुम्विनी क्षेत्रका विभिन्न संघसंस्था,ब्यवसायी,भिक्षु,आमा समूह र पत्रकारका प्रतिनिधिहरुले मूख्य मन्त्री समक्ष त्यस क्षेत्रका समस्या राखेका थिए । टोलीले गराएको ध्यानाकर्षणपछि आफ्ना मन्तब्य राख्दै मूख्यमन्त्री पोखरेलले लुम्विनीमा दश वर्ष भित्र ५० लाख पर्यटक पुर्याउने लक्ष्यका साथ आफुहरु लागिपरेको वताउनुभयो । उहांले लुम्विनीको पर्यटन प्रबद्र्धनमा देखिएका समस्याहरुको चांडो समाधान हुने विश्वास समेत ब्यक्त गर्नुभयो । मूख्यमन्त्री समक्ष लुम्विनी सरोकार समितिका तर्फबाट पर्यटन ब्यवसायी हेम वहादुर विष्ट,अकरामुद्धिन खान,भन्ते सागर धम्म लगायतले त्यस क्षेत्रका समस्या सुनाएका थिए ।
।