भारतमा हाल जारी भयावह गर्मीको लहरले फेरि पनि गरिबहरू नै मर्कामा परेका छन् । गाडामा तरकारी बेच्ने सुलोचना येभा, आफ्ना कृषि उत्पादन घामले सुक्ने डरले लगातार पानी छर्किरहन्छिन् । तर पनि त्यसलाई बिग्रनबाट जोगाउन नसकेको उनले बताइन् ।
आफूले दशकौँदेखि एउटै ठाउँमा तरकारी बेचिरहेको भए पनि योपटक जति घाटा कहिल्यै नभएको उनले बताइन् । यसरी दिनदिनै घाटाको बेहोरिरहँदा उनलाई भविष्यको चिन्ताले सताएको छ । आफ्नो परिवारै निर्भर रहेको व्यापारमा घाटा भएपछि उनले भावुक हुँदै भनिन्, ‘मलाई एकदम लाचार महशुस भइरहेको छ ।’
यसरी, भारतमा लाखौँ मानिसहरू हालको चरम गर्मीको सामना गर्न संघर्षरत छन् । तथ्यांक अनुसार यो तापमान १०० वर्षकै उच्च हो । हप्तौँदेखि बढिरहेको तापमानमा उत्तर पश्चिमी क्षेत्रमा केही सुधार हुन सक्ने मौसम विभागले बताएको छ । तर, यो शीतल वातावरण लामो समय नरहने र केही दिनमै फेरि २–३ डिग्री तापक्रमले बढ्ने बताइएको छ ।
गर्मीले गरिबहरू नै बढी प्रभावित भइरहेको देखिएको छ । माछा मार्ने काममा संलग्न प्रमिला वालिकाका अनुसार जति नै प्रयास गर्दा पनि आफ्ना उत्पादन ताजा राख्न उनलाई असम्भव जस्तै भइरहेको छ । कमाएको पैसाजति बरफ र फ्रिज किन्नमै खर्च भइरहनु, त्यसमाथि बरफको भाउ पनि दुई गुनाले बढ्नु उनका लागि ठूलो झट्का साबित भएको छ ।
माछा व्यवसायीलाई सरकारले सहयोग गर्नुपर्ने उनको माग छ । यता भरिया, निर्माणका काम र खेतीको काममा खट्ने कामदारहरू अझ ठूलो जोखिममा छन् जसले दिनको सबैभन्दा चरम तापमानमा बाहिर काम गर्नुपर्ने हुन्छ । तर, जति नै गर्मी भएपनि परिवारको पेट पाल्न घाममा खट्नैपर्ने उनीहरूको बाध्यता छ ।
नेचर कम्युनिकेसन्सका अनुसार भारतले अहिले नै गर्मीका कारण वार्षिक १०१ अर्ब डलर गुमाइरहेको छ । गरिबहरू कार्यरत क्षेत्रमा कमजोर संरचनाले पनि उनीहरूको जनजीवन कठिन बनाइदिएको छ । जस्तै, निःशुल्क अनि सफा खानेपानी सीमित हुनु र केही समय घामबाट बच्न शरण लिने ठाउँसमेत नहुनु वास्तवमै ठूलो समस्या हो ।
बीबीसी । नयाँ दिल्ली ।