सूचनाको शक्ति - The Power Of Information

        

प्रशासन

को–को बन्लान् नेपाल प्रहरीको एआइजी र डिआइजी ?

प्रहरीमा आइजिपी बढुवाको ‘महासंग्राम’ सकिएसँगै तल्लो तहको बढुवाको लागि गृहकार्य अघि बढेको छ । एआइजी र डिआइजी बढुवाको तयारीमा गृह मन्त्रालय जुटेको छ । एआइजी बढुवामा भने चर्काे प्रतिस्पर्धा छैन । बढुवाका लागि थोरै मात्र उम्मेदवार छन् ।

एआइजीको पाँच पद रिक्त छ । जसमा यसअघि बढुवामा छुटेका उत्तम सुवेदी र अरुण बिसी अटाउने नै भए । ६ जेठमा अवकाश पाउन लागेका डिआइजी बसन्त लामा पनि बढुवाका दाबेदार हुन् । तर, अवकाशअघि बढुवाको प्रक्रिया सुरु हुने–नहुने अन्योल छ ।

चुनावअघि नै सरकारले एआइजी बढुवा गरेमात्र उनी पर्ने सम्भावना छ । त्यस्तै मुकुन्द आचार्य, दिवेश लोहनी पनि एआइजी बढुवाका प्रमुख दाबेदार हुन् । तीन महिनाअघि मात्र डिआइजी भएकी पूजा सिंह पनि एआइजी हुने प्रबल सम्भावना छ ।

ठूलो भिडन्त भने डिआइजी बढुवामा छ । डिआइजीको बढुवा चुनावपछि मात्र हुनेछ । त्यतीबेला डिआइजीका १७ पद रिक्त हुँदैछन् । जसमा ३७ एसएसपीबीच प्रतिस्पर्धा छ । यसअघि बढुवामा अघि परेका १३ जनाको टोली यसमा प्रमुख दाबेदार छन् ।

जसमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दिपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर र भिमप्रसाद ढकाल छन् ।

उनीहरुमध्ये को पहिलो नम्बरमा हुने भन्ने प्रतिस्पर्धा छ । उनीहरुपछि १३ जनाको टोली छ । जसमा जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रबिन्द्र केसी, राजेशलाल बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञबिनोद पोखरेल, चन्द्रकुबेर खापुङ छन् ।

यो टोली विष्णु केसी, भरत बोहरा, सुदीप गिरी, अशोक सिंह र किरण राणा बढुवामा बलिया दाबेदार हुन् । त्यस्तै गत वर्षमात्र बढुवा भएका कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहनप्रसाद पोख्रेल लगायत पनि बढुवामा छिर्ने प्रयासमा छन् ।

तर, यो टोलीबाट बढुवा हुने सम्भावना कम रहेको बताउँछ । एसएसपी विकासराज खनाल पनि विगतमा बढुवामा पछि परेकाले यसपटक डिआइजी बढुवाको लाइनमा छन् । १७ पदमा कम्तीमा २० अधिकारी पहुँच र पैसाका दृष्टिकोणले सशक्त देखिएका छन् । जसकारण सिनियर भएर पनि चलखेलमा नलाग्ने एसएसपीहरु छुट्ने जोखिम देखिएको छ । डिआइजी बढुवामा बालुवाटार निकट केही बिचौलिया समेत सक्रिय भएको स्रोत बताउँछ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार ०८:३५