सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन:

विष्ट र राई खाना खान अन्जनी माता रसोईमा: मासिक १ लाख दिने प्रतिवद्धता

मतदाता शिक्षा कार्यक्रमलाई जोड

पालगन्जको भेरी अस्पताल परिसरमा रहेको अन्जनी माता रसोईलाई मासिक १ लाख रुपैयाँ उपलब्ध गराउने गठबन्धनका उम्मेदवारले बताएका छन् ।

रसोईमा आज विहिबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुखका उम्मेदवार कमरुद्धिन राई लगायतको टोली खाना खान पुगेको थियो ।

सामाजिक कार्यमा समेत सक्रिय रहनुभएका विष्ट रसोईका संस्थापक सदस्य पनि हुनुहुन्छ । उहाँले रसोईको सेवालाई प्रभावकारी बनाउँदै लैजाने बताउनुभएको छ ।

‘ब्रह्मलीन श्रीमहन्त हिरामन हरिशंकर गिरी जी महाराजको स्मृतिमा गरिब, मजदुर, विरामीहरुलाई शौलियत दरमा खाना खुवाउनुपर्छ भन्ने उद्देश्यले विजय कुमार गुप्ता लगायतको सुन्दरकाण्ड मित्र मण्डलले रसोइको दुई वर्ष अघि सुरुवात गरेको थियो,’ उहाँले भन्नुभयो ‘यसले कोरानाकालमा र अहिले भेरी अस्पतालमा आउने विरामीहरुलाई पनि सहयोग भएको छ ।’

कोरोनाकालमा होटल बन्द हुँदा यस आसपासका सेवाग्राहीहरु यहाँबाट लाभान्वित भएका थिए । रसोईले विहान १० बजेदेखि दिउँसो १ बजेसम्म ३० रुपैयाँमा खाना खुवाइरहेको छ ।

यहाँको सेवा समय बढाउनका लागि जनशक्तिको आवश्यकता पर्छ । सेवा समय बढाउने भन्दा पनि दिइरहेको सेवालाई स्तरीय र प्रभावकारी बनाउने विष्टले बताउनुभयो ।

रसोईलाई नेपालगन्ज उपमहानगरपालिकाले मासिक ५० हजार रुपैँया उपलब्ध गराउँदै आएको छ । गठबन्धनका उम्मेदवार विजयी भएपछि मासिक १ लाख रुपैयाँ उपलब्ध गराइने उपप्रमुख पदका उम्मेदवार कमरुद्धिन राईले बताउनुभयो ।

रसोईले वाहिरी जिल्लाबाट आएका विरामीलाई राहत मिलेको अस्पतालमा कैलाली बौनियाबाट आउनुभएका रिदम सञ्ज्यालले बताउनुभयो । विरामी लिएर अस्पतालमा आएको एक हप्तामा पहिलो पटक यसबारेमा जानकारी पाएको उहाँले बताउनुभयो ।

‘३० रुपैयाँमा पानीको बोतल आउँछ, त्यही मूल्यमा खानै खान पाएपछि धेरै खुशी लाग्यो ।’ तर, धेरै विरामीहरुलाई यो सेवाको बारेमा जानकारी नभएको उहाँको भनाई छ । यसबारे जानकारी गराउन सूचना बोर्ड राख्ने, यसको प्रचारप्रसार गर्ने लगायतका काम गरिने विष्टले बताउनुभएको छ ।

रसोईमा अस्पतालका विरामी, विरामीका आफन्त, नजिकै काम गर्ने, गरिव, मजदुर लगायत दैनिक करिब ४ सयदेखि ५ सयले खाना खाने गरेका छन् ।

स्थापनादेखि हालसम्म यहाँ २ लाख २५ हजारले सेवा लिएको रसोई सन्चालक पवन कुमार अग्रवालले जानकारी दिनुभयो । विजय कुमार गुप्ता, जितेन्द्र कुमार सिँह, प्रशान्त विष्ट, विमल चन्द, ब्रजेश बहादुर सिँह र विनोद कुमार राठीको सहयोगले नै यो सामाजिक कार्यले सफलता पाएको उहाँले बताउनुभयो ।

विष्टले भने सामाजिक कामहरु स्वतःस्फूर्तरुपमा गरिने काम भएकाले यसको प्रचारप्रसार जरुरी नभएको बताउनुभयो ।
यस्तैमा खाना खान रसोईमा पुग्नुभएका डा। राजन पाण्डेले प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टसंग भेटघाट गर्नुभएको छ ।

भेटघाटका क्रममा घरदैलोसंगै मतदाता शिक्षामा जोड दिन विष्टसंग आग्रह गर्नुभएको छ । आफूहरुको यस विषयमा ध्यानाकर्षण भएको बताउँदै विष्टले मतदाता शिक्षा कार्यक्रमलाई जोड दिइएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी, शिक्षक, वकिल, अधिकारकर्मी लगायत यहाँ पुग्दा आफूहरु पनि यो सेवाको काममा थप प्रोत्साहित हुने गरेको सन्चालक अग्रवालले बताउनुभएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार १८:४५