सूचनाको शक्ति - The Power Of Information

        

हामीले चुनाव जितिसक्यौं, अब मतपत्रमा बदलिन मात्र बाँकी छः पौडेल

नेपाली कांग्रेसका तर्फबाट राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार तप्त बहादुर पौडेलले घरदैलोका क्रममा गाउँपालिकाबासीले देखाएको माया, सद्भाव र विश्वास देखेर आफूहरुले चुनाव जितिसकेको बताउनुभएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा आज आयोजित बृहत् कोणसभालाई सम्बोधन गर्दै पौडेलले भन्नुभयो, “१४ गतेदेखि हामी निरन्तर घरदैलोमा छौं, यहाँका स्थानीयहरुले हामी पुग्दा जुन माया, स्नेह, सद्भाव र विश्वास देखाउनुभएको छ, त्यो हेर्दा हामीले चुनाव जितिसकेका छौं, हामीले अध्यक्ष, उपाध्यक्षसहित ९ वटै वडा जित्छौं ।”

पौडेलले आफूहरुप्रतिको अगाढ विश्वास अब मतपत्रमा बदलिन मात्र बाँकी रहेको बताउनुभयो । उपाध्यक्षकी उम्मेदवार मनिषासिंह थारुले गाउँपालिकाबासीले कांग्रेसलाई ठूलो भरोसा गरिरहेकाले राप्तीसोनारीमा फेरि पनि कांग्रेसले जित्ने उद्घोष गर्नुभयो ।

पालिका सभापति भिम बहादुर राना क्षेत्रीले राप्तीसोनारीबासीले यसअघि कांग्रेसलाई जिताएर सेवा गर्ने मौका दिएको र त्यो मौकालाई कांग्रेसले राम्रोसंग निभाएको भन्दै अपूरा कामहरु पूरा गर्न फेरि कांग्रेसलाई नै जिताउने मुडमा रहेको बताउनुभयो ।

कोणसभालाई वडा नम्बर २ का वडा अध्यक्ष पदका उम्मेदवार तुलाराम खत्रीले पनि सम्बोधन गर्दै वडाबासीको हितका खातिर आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १९:१०