स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदातालाई आकर्षित गर्न अनेकथरीका प्रतिबद्धता सार्वजनिक गरेका छन् । वीरेन्द्रनगरमा उम्मेदवारले घरघरमै स्वास्थोपचारदेखि सहकारी संस्थाको ब्याज तिरिदिनेसम्मका प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
नेपाली काँग्रेसका तर्फबाट वीरेन्द्रनगर नगरपालिकाको प्रमुखका उम्मेदवार उपेन्द्रबहादुर खड्काले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा प्रत्येक महिना पत्रकार भेटघाटदेखि घरमै पुगेर गर्भवती महिलाको गर्भ जाँच गर्ने उल्लेख छ । अपाङ्गता भएका, फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अशक्त, गर्भवती, सुत्केरी, दीर्घरोगी नागरिकका लागि घरदैलोमा सेवा प्रवाह गरिने विषयलाई प्रतिबद्धतापत्रमा समेटिएको छ ।
विकट वडाका लागि छुट्टै एम्बुलेन्स व्यवस्था गर्ने, नागरिकको स्वास्थ्य बीमा गर्ने, सुत्केरी महिलालाई एक हजार रुपैयाँ सुत्केरी भत्ता उपलब्ध गराउने, शव वाहनलाई निःशुल्क गर्ने, भैंँसी तथा गाई ब्याएपछि चारास्वरूप कृषकलाई एक हजार रुपैयाँ प्रोत्साहन खर्च उपलब्ध गराउने उल्लेख छ ।
नेकपा एमालेबाट वीरेन्द्रनगर नगर पालिकाको प्रमुखका उम्मेदवार मोहनमाया ढकालले सार्वजनिक गरेको घोषणापत्रमा सहकारीबाट लिएको ऋणको वर्ष दिनको ब्याज तिर्नेदेखि कौसीखेती गर्नेलाई प्रोत्साहन गर्नेसम्मका कार्यक्रम छन् । सडकको स्तरोन्नति गरी नगर बस सञ्चालनदेखि उपयुक्त स्थानमा सुर्खेत विमानस्थलको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुखका उम्मेदवार मुकुन्दश्याम गिरीले सार्वजनिक गरेको घोषणापत्रमा विवादित सुर्खेत विमानस्थल विस्तार गर्ने योजना ल्याएका छन् । उनले उपत्यकाभित्र पिउने पानी समस्या समाधान गर्ने, अव्यवस्थित दक्षिण र पूर्वी बस्तीलाई व्यवस्थापन गर्ने, सुन्दर शान्त सहरको खाका निर्माण र कार्यान्वयन गर्ने, गुणस्तरीय शिक्षा, विद्यालयमा गुणस्तरीय शिक्षाका लागि कार्ययोजना बनाउने, नगरमा आवश्यक योजना बनाउन विज्ञ तथा नागरिकसहितको समिति बनाउने लगायत उल्लेख छ ।
सत्यपाटी । सुर्खेत ।