बुटवल । आफुले निर्माण गरेको भवन प्रदेश सरकारलाई सुम्पिएर व्यवसायीक संघ संस्थाहरुले उदारता देखाएका छन् । प्रदेश सरकार सञ्चालनका लागि भौतिक पूर्वाधार अभाव भएको बेला यस क्षेत्रका व्यवसायीक संघ संस्थाहरुले भवन सरकारलाई प्रदान गरेर आफुहरु अन्यत्र नै स्थानान्तरण हुने भएका हुन ।
यसभन्दा पहिला आंसिक रुपमा आफ्नो भवन प्रयोगको लागि प्रदेश सरकारलाई प्रदान गरेका केही व्यवसायीक संघ संस्था र नयाँ पुरै भवन दिने केही व्यवसायीक संघ संस्थाले यस्तो उदारता देखाएका हुन । पहिला नै प्रदेश सभा सञ्चालन हुँदै आएको बुटवल उद्योग बाणिज्य संघले अवको केही दिनमा नै सचिवालय रहेको पुरै भवन खाली गरी प्रदेश सरकालाई प्रदान गर्ने भएको छ ।
बुटवल उद्योग वाणिज्य संघले केहीसमय पहिलामात्रै निर्माण सम्पन्न भई सञ्चालनमा आएको सभाहल अहिले प्रदेशसभाको रुपमा प्रयोग हुँदै आएको छ भने तल्लो तलामा प्रदेश सभा सचिवालय लगायतका कार्यालयहरु रहेका छन् । संघको सचिवालय रहेको पुरै भवन नै खाली गरेर अन्यत्र स्थान्तरण हुन लागेको बुझिएको छ । यद्यपी यसको आधिकारीक निर्णय भने हुन बाँकी रहेको छ ।
समाचार स्रोतका अनुसार हाल बालमन्दिर रहेको स्थानमा बुटवल उद्योग बाणिज्य संघको सचिवालय स्थापना गर्ने प्रारम्भीक निस्कर्ष निकालिएको छ । यस विषयमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले अझै निर्णय नभैसकेको जानकारी दिए । कुराकानीमा उनले भने, ‘यस विषयमा प्रदेश सकारसँग आधिकारीक निर्णय हुँन बाँकी रहेको छ, हामीलाई पनि ठुलो स्थान चाहिने हुँदा अहिले रहेको पूर्वाधारहरु पनि अप्रयाप्तता हुन सक्छ, पुर्वाधार निर्माण गरीन्छ ।’
यस्तै यसअधि प्रदेश प्रमुखको कार्यालयलाई भवन प्रदान गरिसकेको रुपन्देही व्यापार संघले आफुले प्रयोग हाल प्रयोग गर्दै आएको तल्लो तला समेत प्रदेश सरकारलाई प्रदानगरी संघको कार्यालय अन्यत्र सार्ने तयारी गरिएको छ । रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठका अनुसार सम्पूर्ण भवन प्रदेश सरकारलाई दिने निर्णय संघले गरिसकेको छ । यसको विषयमा अवको केही दिनमा नै प्रदेश सरकारबाट निर्णय आउने उनको भनाई रहेको छ ।
उनी भन्छन्, ‘हामीसँग भएको सबै भवन प्रदेश सरकारलाई दिने निर्णय गरिसकेका छौ, प्रदेश सरकारबाट निर्णय हुन बा“की छ ।’ अव कार्यालय संघको कार्यालय कहाँ“ राख्ने भन्ने विषयमा ठोस निर्णय नभएको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले यस विषयमा अहिले नै सोचि नसकेको र कुनै भाडाको नीजी घरमा कार्यालय सञ्चालन गरिने जानकारी गराए । प्रदेश सरकार सञ्चालनको लागि सहजता प्रदान गर्नको लागि आफुहरुले भवन खाली गरि प्रदेश सरकारलाई दिएको उनको भनाई रहेको छ ।
यस्तै पश्चिम नेपाल बस व्यवयायी संघले पनि आफ्नो भवन प्रदेश सरकारलाई प्रदान गर्ने निर्णय यस अघिनै गरिसकेको छ । संघका अध्यक्ष दघिराम खरेलका अनुसार प्रदेश सरकार सञ्चालनको लागि सहजता प्रदान गर्नको लागि आफुहरुले प्रयोग गर्दै आएको भवन प्रदेश सरकारलाई प्रदान गरिएको हो । यस्तै बुटवल दरबारलाइनस्थित श्रम कार्यालयको भवनमा रहेका विभिन्न मन्त्रालयहरु स्तान्तरण हुने भएका छन् ।
मुख्यमन्त्री कार्यालयसँगै आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय रहेका छन् । मन्त्रालयका महाशाखा र बिभिन्न विभागका लागि समेत स्थान अपुग भएपछि मन्त्रालयहरु स्थानान्तरण गर्न लागिएको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए ।
सडक डिभिजन पसिरमा करिब १५ बिघा क्षेत्रफलमा इलाका प्रशासन कार्यालय भवनमा भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक राजस्व कार्यालय भवनमा आर्थिक मामिला तथा योजना मन्त्रालय र हेभी इक्युपमेन्ट कार्यालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय ल्याउने तयारी गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय रुपन्देही ब्यापार संघको भवनमा स्थानान्तरण गरिने भएको छ ।
सडक डिभिजन परिसरमा रहेको हेभी इक्युपमेन्ट कार्यालय, यातायात व्यवस्था कार्यालय र सडक विभागलाई बुटवल रामनगरमा रहेको धागो कारखानामा स्थानान्तरण गर्ने तयारी गरिएको छ । आन्तरिक राजश्व कार्यालय, इलाका प्रशासन कार्यालय, आख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सरकारी कार्यालयलाई अन्यत्र व्यवस्थापन गर्ने कार्यालय व्यवस्थापन समितिले निर्णय गरिसकेको संयोजक भोजप्रसाद श्रेष्ठले जानकारी दिए ।
।