सूचनाको शक्ति - The Power Of Information

        

३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

 स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ ।

सोमबार निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले सोमबार दिउँसोसम्ममा देशभरबाट विभिन्न पदमा ३५३ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको बताउनुभयो ।

त्यसैगरी १७० दलित महिला सदस्य पदमा उम्मेदवारी दर्ता नै नभएको पनि उहाँले जानकारी दिनुभयो । आयोगले नेकपा(एकीकृत समाजवादी), नेकपा(माओवादी केन्द्र) र राप्रपाले निर्वाचन आचारसंहिता उलंघन गरेकाले सम्बन्धित दललाई सचेत गराएको र आगामी दिनमा आचारसंहिता विपरितका काम नगर्न निर्देशन दिएको छ ।

त्यस्तै, नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य शशांक कोइरालाको निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको अभिव्यक्तिप्रति जवाफ माग गरिएको र आगामी दिनमा यस्तो अभिव्यक्ति नदिन सचेत गराएको छ ।

सहायक प्रवक्ता अर्यालले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि निर्वाचन आचारसंहिता कार्यान्वयनप्रति सचेत गराइएको जानकारी दिनुभयो ।

आयोगले काठमाडौं महानगरपालिकामा नेकपा(एमाले)का तर्फबाट मेयर पदका उम्मेदवार केशव स्थापितले बैशाख १५ गते धुम्बाराहीस्थित नेशनल मेडिकल कलेजमा आयोजना भएको छलफलमा आचारसंहिता विपरितको अभिव्यक्ति दिएकाले सो विषयमा आधार र कारणसहित २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन पनि दिएको छ ।

साथै सो कार्यक्रमका सन्दर्भमा के, कसो भएको हो विस्तृत लेखि पठाउन आयोगले नेशनल मेडिकल कलेजलाई पनि आग्रह गरेको छ भने स्थापित विरुद्ध विज्ञप्ती निकाल्ने महिला पुर्नस्थापना केन्द्र ओरेकलाई पनि सो विज्ञप्ति हटाएको प्रमाणसहित २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।

त्यस्तै आयोगले निर्वाचनका बेलामा इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको व्यवस्थापनमा गम्भिर असर पर्ने भन्दै यस्तो अवस्था आउन नदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिसकिएको आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार १८:३०