सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरमा फुसको छाना हटाउने उम्मेदवारको योजना

फुसको छाना हटाउने प्रतिवद्धता लिएर बाँकेको नरैनापुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु घरदैलोमा पुगेका छन् ।

नेपाली कांग्रेसबाट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्य र उपाध्यक्ष पदका उम्मेदवार अतिकुन निशाले मतदाता भेटघाटका क्रममा फुसको छाना हटाउने योजना प्राथमिकतामा रहेको बताए ।

बाँके जिल्लामा नरैनापुर गाँउपालिका सबैभन्दा बढी आगलागी हुने क्षेत्र हो । केहि दिन अघि मात्रै १५ घरगोठ जलेर नष्ट भएको थियो ।

वर्षेनी आगलागीका घटना हुने र उठिबास नै हुने अवस्था देखीने गरेकाले आफूहरु निर्वाचित भएपछि फुसको छाना हटाउने योजना पहिलो प्राथमिकतामा रहेको अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्यले बताए ।

यसका लागि एक घर सुरक्षित आवास कार्यक्रम सन्चालन गर्ने उनको भनाई छ । यसका साथै गाँउपालिकामा कृषि क्षेत्रको विकासका लागि किसानलाई, मल, विउ, किटनाशक औषधि वितरण गर्ने, मोटरपम्म वितरण गर्ने योजना रहेको बताए ।

त्यस्तै राम्रो नश्लको गाई भैसीपालन, बाख्रापालन लगायतका कार्यक्रम सञ्चालन गर्ने, गोठ सुधार कार्यक्रम, निशुल्का पशु विमा लगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।

स्वास्थ्य क्षेत्रतर्फ घरघरमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने, सामाजीक सुरक्षा भत्ता घरमै पुर्याउने, गाँउपालिकाका ३ वटा ठाउँमा दिशा, पिसाब, रगत लगायतका जाँच गर्ने ल्याब स्थापना गर्ने, निःशुल्क एम्बुलेन्स सेवा लगायतका योजना छन् ।

यस्तै प्रविधिसंग गाँउपालिकालाई जोड्न ठाउँ–ठाउँमा फ्रि वाइफाईको व्यवस्था गरिने छ । युवाहरुका लागि रोजगारी, छोरी जन्मेपछि प्रोत्साहन रकम बैंक खातामा जम्मा गरिने लगायतका प्रतिवद्धतासहित उम्मेदवारहरु घरदैलोमा पुगिरहेका छन् ।

यसैबीच आज सोमबार नरैनापुर गाउँपालिका वडा नं.४ को प्रशरामपुर, दौलतपुर, खोदावामा घरदैलो कार्यक्रम गरिएको छ । कार्यक्रममा वडाध्यक्ष पदका उम्मेदवार मनोजकुमार शर्मा, नेपाली काँग्रेस क्षेत्रीय सदस्य क्षेत्र नं.१ का गुरुमुरत यादव, क्षेत्रीय प्रतिनिधि रामानन्द शर्मा लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार १५:२१