सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

कस्तो अवस्थामा मत बदर हुन्छ, मतदानको दिन के गर्न हुँदैन ?

निर्वाचन आयोगले वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

फाइल तस्वीर

यही वैशाख ३० गते देशभर एकैसाथ स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । ७५३ वटै पालिकामा मतदाताले आफ्ना जनप्रतिनिधि चयन गर्नेछन् ।

मतदान गर्दा विभिन्न कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ । सानो त्रुटिले पनि मत बदर हुनसक्छ । निर्वाचनले आयोगले मत बदर हुन नदिन केही विषयमा सचेत रहनुपर्ने जनाएको छ ।

मत बदर हुने अवस्था

१. सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,
२. औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरिएको,
३. मत संकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,
४. उमेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरिएको,
५. उमेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत संकेत गरिएको
६. कुनै पनि उमेदवारको निवाचन चिह्नमा मत संकेत नगरिएको,
७. निर्वाचित गर्नुपर्ने संख्याभन्दा बढी उमेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत संकेत गरिएको,
८. मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,
९. आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,
१०. मतपेटिकाभन्दा बाहिर राखिएको,
११. जाली मतपत्र ।

मतदानको दिन के गर्न हुँदैन ?

देशभरका ७५३ वटा पालिकामा एकैसाथ सम्पन्न हुने निर्वाचनमा यस पटक स्थानीय तह निर्वाचनमा विभिन्न पदमा गरी करिब एक लाख ४५ हजार उमेदवार छन् । निर्वाचन आयोगले वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

मताधिकारबारे आफूलाई जानकारी भएको विषय अरू मतदातालाई जानकारी गराउनुपर्छ । निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक सहयोग पुर्याउनुपर्छ । मतदानको दिन सवारीसाधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने कार्य गर्न हुँदैन । कसैले पनि अर्को मतदाताको नामको मतपत्र बुझिलिन वा अर्काको नामबाट मतदान गर्नेलगायत कार्य हुँदैन ।

के गर्न हुँदैन ?

१. मतदानमा प्रतिकूल असर पार्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र आफू पनि कुनै होहल्ला वा हुलदंगामा नलाग्ने,
२. मतदानको दिन कुनै दल वा उम्मेदवारको नाम, निर्वाचन चिह्न वा संकेत भएको पहिरन, परिचयपत्र र ब्याज नलगाउने,
३. मतदानको दिन सवारीसाधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने कार्य नगर्ने तर शारीरिक रूपले अशक्त वा हिँड्डुल गर्न नसक्ने मतदाताको लागि मतदान अधिकृतले तोकिदिएको सवारीसाधन प्रयोग गर्न सकिने,
४. कसैले पनि अर्को मतदाताको नामको मतपत्र बुझिलिन वा अर्काको नामबाट मतदान गर्न हुँदैन । एउटै निर्वाचनका लागि एकभन्दा बढी पटक मतदान गर्न हुँदैन ।
५. कसैले पनि मतदातालाई मतदानस्थलमा प्रवेश गर्न नदिन गौँडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा, अवरोध गर्न वा गराउन हुँदैन । यदि, गरेमा कानुनबमोजिम कारबाही हुनेछ ।

आचारसंहिता उल्लंघन भएको देखिएमा निर्वाचन आयोग, निर्वाचन अधिकृत वा निर्वाचनमा खटिएका कर्मचारीलाई जानकारी गराउनुपर्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार ०९:३२