सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

खजुरामा गठबन्धनका पक्षमा जनलहर, ‘तुफान’ सशक्त उम्मेदवार

अध्यक्षका उम्मेदवार डम्बर बिक ‘तुफान’ भने, ‘हाम्रो चुनावी अभियान सशक्त बन्दै गएको छ । ढुक्क हुनुस् जित निश्चित छ ।’

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रले खजुरा गाउँपालिकामा संयुक्त गठबन्धन गरेको छ । यहाँ गठबन्धनका पक्षमा जनलहर बढिरहेको छ । गत निर्वाचनमा खजुराबासीले स्थानीय सरकारको सत्ता एमालेलाई सुम्पिएका थिए ।

खजुरा गाउँपालिकामा पाँच बर्ष स्थानीय सरकारको सत्ता सम्हालेका एमालेले सरिया, सिमेन्ट, डोजर, रोलर चलाएर कमाउधन्दातिर मात्रै लागेपछि खजुराबासीले अहिले एमाले इतरका पार्टीलाई सत्ता सञ्चालनको अवसर दिन खाजेका छन् ।

खजुरा गाउँपालिकाका हरेक वडा–वडा, गाउँ–गाउँ र टोल टोलमा कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार डम्बर बिक ‘तुफान’ र उपाध्यक्षका उम्मेदवार मञ्जु मल्लका पक्षमा स्थानीय सर्वसाधारणको जनलहर देखिएको छ ।

गठबन्धनका तर्फबाट कांग्रेस र माओवादी इतरका राजनीतिक दलमा आस्था राख्ने खजुराका सर्वसाधारणहरुले ‘तुफान’ सशक्त उम्मेदवारका रुपमा लिएका छन् । ‘एमालेलाई जिताउँदा खजुराबासी आजित भयौं, अब गठबन्धनका उम्मेदवारलाई मत दिन्छौं,’ उनीहरु भन्छन् ।

गठबन्धनका उम्मेदवारले नै खजुराको विकास र समृद्धिका लागि परिणाममुखी काम गर्ने उनीहरुको विश्वास छ । गठबन्धनका उम्मेदवारलाई बहुमतले जिताउन खजुराबासी उत्साहित देखिएको गठबन्धनबाट अध्यक्षका उम्मेदवार डम्बर बिक ‘तुफान’ले बताए ।

उनले भने, ‘अघिल्ला निर्वाचनभन्दा परिणाममुखी जनलहर देखिएको छ । हाम्रा उम्मेदवारलाई सर्वसाधारण मतदातासामु पुरा हुन नसक्ने झुटा आश्वासनका गफ गर्न छुट दिएका छैनौं । हाम्रो चुनावी अभियान सशक्त बन्दै गएको छ । ढुक्क हुनुस् जित निश्चित छ ।’

अहिले खजुरामा विकास गर्ने कि विनास गर्ने भन्ने बीचको युद्धजस्तै गरेर निर्वाचन नजिकिएकाले कुनै पनि अर्थमा विकास, परिवर्तन र समृद्धिका पक्षमा उभिएका गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउनुस्,’ अध्यक्ष पदका उम्मेदवार तुफानले भने ।

खजुराको विकास र समृद्धिका लागि गठबन्धनमा आफ्नो उम्मेदवारी रहेको तुफानले बताए । सबैभन्दा बलियो र सशक्त उम्मेदवारका रुपमा पनि देखिएका तुफानले आफ्ना घोषणापत्र सिरानीमा राख्नका लागि नभई समृद्ध खजुरा निर्माण गर्न तयार गरिएको पनि बताए ।

कांग्रेस–माओवादी गठबन्धन बाहेक अन्य दलका उम्मेदवारबाट खजुराको विकास र समृद्धि सम्भव नभएको उपाध्यक्षका उम्मेदवार मञ्जु मल्लले बताइन् । उनले गठबन्धनका उम्मेदवार चुनावी अभियानमा सक्रियतापूर्वक जुटेका बताइन् ।

खजुरालाई मजबुद र एकतावद्ध बनाउँदै समृद्ध खजुरा निर्माणका लागि गठबन्धन गरिएको बताउँदै उपाध्यक्षका उम्मेदवार मल्लले खजुराबासीले एक ढिक्का भएर गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प नभएको दावी गरिन् ।

‘हामी खजुरालाई समृद्ध बनाएर लाग्छौं,’ उनले भनिन्, ‘खजुराको विकासका लागि हाम्रो भूमिका महत्वपूर्ण भूमिका हुनेछ । त्यसकारण पनि गठबन्धनलाई भोट दिनुको विकल्प छैन । यसका लागि खजुराबासी सचेत भएर अघि बढ्नुपर्छ ।’

उनले खजुराबासीले गठबन्धनका उम्मेदवारलाई दिएको मत पूर्णरुपमा सदुपयोग गर्ने विश्वास पनि दिलाएकी छन् । खजुरामा कांग्रेस र माओवादीले ८ वडामध्ये ४ वडामा गठबन्धन गरेका छन् । वडा नं. १ र ३ मा कांग्रेसले वडाध्यक्ष तथा २ र ४ नम्बर वडामा माओवादीका उम्मेदवारले वडाध्यक्ष पाएका छन् भने अन्य ४ वडामा भने एकल प्रतिश्पर्धामा छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतवार १९:१२