सूचनाको शक्ति - The Power Of Information

        

भूकम्पपछि धरासायी भयो अपार्टमेन्ट तथा हाउजिङ व्यवसाय

काठमाडौँ । भवन विभागअन्तर्गत डिभिजन कार्यालय काठमाडाैंमा अपार्टमेन्ट बनाउन स्वीकृति लिएकामध्ये आधाले पनि निर्माण कार्य सम्पन्न गरेका छैनन् । ०७२ सालको भूकम्पअगाडि ७२ वटा अपार्टमेन्ट बनाउन कार्यालयमा दर्ता भएका थिए । त्यसमध्ये हालसम्म जम्मा २३ वटाले मात्रै निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन् ।

अपार्टमेन्ट निर्माण सम्पन्न भएपछि कार्यालयबाट निर्माण सम्पन्न भएको प्रमाणपत्र लिनुपर्ने प्रावधान छ । यसरी प्रमाणपत्र लिएका अपार्टमेन्टले मात्रै आफ्ना सेवाग्राहीलाई फ्ल्याट हस्तान्तरण गर्न पाउने कार्यालयका प्रवक्ता इन्जिनियर लीला खतिवडाले बताए ।

 

‘यसरी प्रमाणपत्र लैजानेको संख्या २३ मात्र पुगेको छ । अन्य अपार्टमेन्ट निर्माण प्रक्रियामा छन् । यदि निर्माण प्रक्रिया सकिएको भए पनि प्रमाणपत्र नलगेसम्म आधिकारिक मानिँदैन,’ उनले भने ।

२ वटा अपार्टमेन्ट दर्ताको प्रक्रिया

गत पुसमा दुईवटा डेभलपर्सले अपार्टमेन्ट निर्माणका लागि निवेदन दिएको कार्यालयले बताएको छ । महाराजगन्जस्थित प्रिमियर अपार्टमेन्टले ५४ वटा फ्ल्याट निर्माणका लागि गत पुस ३ गते कार्यालयमा निवेदन दिएको छ । यसको दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको कार्यालयका प्रवक्ता खतिवडाले बताए । त्यस्तै, पुतलीसडकस्थित नन्द नन्दन डेभलपर्सले ३० वटा फ्ल्याट निर्माणका लागि कार्यालयमा निवेदन दिएको छ ।

तीनवटा सम्पर्कमा नै छैनन्

भूकम्पले क्षति पुगेका अपार्टमेन्टमध्ये टेकुस्थित सिंग्नेचर एक, सिंंग्नेचर २ र शंखमूलस्थित बागमती अपार्टमेन्ट कार्यालय सम्पर्कमा नै आएका छैनन् । भूकम्प गएको करिब तीन वर्षको अवधिसम्म पनि अपार्टमेन्टले कुनै पनि प्रतिक्रिया नजनाएको कार्यालयका प्रवक्ता खतिवडाले बताए ।

भूकम्पबाट ५१ वटा अपार्टमेन्ट प्रभावित भएका थिए । जसमध्ये २४ वटाले मर्मत–सम्भार गरी कार्यालयबाट प्रमाणित गराइसकेका छन् । अन्य अपार्टमेन्टहरू अझै पनि मर्मतको प्रक्रियामा छन् । प्रभावित भएका अपार्टमेन्टमध्ये धापासीस्थित पार्क भ्यू होइजन र कुलेश्वरस्थित ओरियन्टल अपार्टमेन्ट कार्यालयमा रातो स्टिकर लगाएको थियो । यी दुईवटा अपार्टमेन्टले पनि मर्मत प्रक्रिया अझै पूरा गरेका छैनन् ।

दर्ता भएर पनि रद्द भए ७ वटा अपार्टमेन्ट

डिभिजन कार्यालयमा दर्ता भएका अपार्टमेन्टमध्ये सात वटा अपार्टमेन्ट रद्द भएका छन् । कतिपय अपार्टमेन्ट निर्माण नै भएका छैनन् भने केही अपार्टमेन्ट सुचारु हुन नसकेपछि होटेलमा परिवर्तन भएको कार्यालयका प्रवक्ता खतिवडाले बताए । उनका अनुसार रवि भवनस्थित अर्किड अपार्टमेन्ट, बबरमहलस्थित इको अपार्टमेन्ट, गोठाटारस्थित सन सिटी अपार्टमेन्ट ब्लक सी, डी, ई, एफ र जी, सैबुस्थित रिलायबल अपार्टमेन्टले स्वतः खारेजीको निवेदन दिएको कार्यालयले बताएको छ ।

भूकम्पपछि सुस्तायो अपार्टमेन्ट व्यवसाय

भूकम्पपछि अपार्टमेन्ट व्यवसायमा सुस्तता देखिएको छ । ०७२ वैशाखपछि हालसम्म एउटा पनि अपार्टमेन्ट दर्ता नहुनुले व्यवसायमा कमी आएको देखाएको छ । यो वर्ष मात्रै दुईवटा डेभलभर्सले अपार्टमेन्टको दर्ताको प्रक्रिया सुरु गरे पनि तीन वर्षको अवधिमा कुनै पनि व्यवसायीले अपार्टमेन्ट दर्ता भने गरेनन् ।

सहरीकरणको विकाससँगै अपार्टमेन्टमा मानिसहरूको आकर्षण बढ्दै गएको छ । मानिसको व्यस्तता र सुरक्षाको दृष्टिकोणले पनि अपार्टमेन्टमा मानिसको रुचि बढ्दै गएको हो । भूकम्पअघि काठमाडौंमा उपत्यकामा मात्रै ७५ वटा अपार्टमेन्ट दर्ता भएका थिए । त्यसमध्ये भूकम्पको अवधिमा ५१ वटा अपार्टमेन्ट प्रभावित भए । (नयाँ पत्रिकाबाट)

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार ०३:२४