सूचनाको शक्ति - The Power Of Information

        

आगामी साताबाट देशभर इन्टरनेट बन्द हुनसक्ने

आगामी साताबाट देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने इन्टरनेट सेवा प्रदायकहरूले जनाएका छन् ।

आफ्ना अपस्ट्रिम सेवाप्रदायक (टाटा, एयरटेल, सिफि)लाई ब्यान्डविथ खरिदबापतको भुक्तानीको लागि सरकारले विदेशी मुद्रा सिफारिस नगरेकाले इन्टरनेट काटिन सक्ने सेवा प्रदायकहरूको भनाइ छ ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले शनिबार विज्ञप्ति जारी गर्दै सरकारका कारण ६ महिनादेखि ब्यान्डविथ खरिदबापतको भुक्तानी गर्न नसकेको जनाएको छ ।

चुनावको समयमा इन्टरनेट बन्द हुन गएमा यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने आइस्पानको भनाइ छ ।

मन्त्रालयले बेरुजुको विषयलाई लिएर अनेकन बाहनामा विदेशी मुद्रा सिफारिस रोकेर नीजि क्षेत्रका इन्टरनेट सेवा नै बन्द गर्नतर्फ आकर्षित भएको आइस्पानको आरोप छ ।

टेलिभिजन सेवा प्रदायकलाई पनि विदेशी मुद्रा सिफारिसमा सहजीकरण नगरेकाले टीभी सेवा पनि बन्द हुने स्थितिमा पुगेको विज्ञप्तिमा उल्लेख छ ।

आइस्पानले वैशाख १९ गतेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस बहिष्कार गर्ने घोषणा पनि गरेको छ । संस्थाले दिवससँग सम्बन्धित कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

सरकारले सूचना र सञ्चार प्रविधिको लागि आवश्यक वातावरण नबनाइ, इन्टरनेटमा भएका समस्या समाधान गर्नुको साटो दिवसको नाममा देखावटी काम मात्रै गर्दै आएको उसको निष्कर्ष छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार १८:०१