काभ्रे जिल्लाको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले नेकपा (एमाले) परित्याग गरेका छन् । शनिबार बनेपाका मेयर बादेले आफूसहित परिवारका ५ जना सदस्यले एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिए ।
पुनः बनेपाको मेयरको लागि टिकट दाबी गरेका बादेलाई नदिएर अर्कैलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका उनले एमाले परित्यागको घोषणा गरेका हुन् । एमाले काभ्रेले यसपटक बादेलाई टिकट नदिएर बनेपाको मेयरको लागि रत्नकुस रन्जितलाई उम्मेदवार बनाएको छ ।
उनलाई एमालेले बनेपाको मेयरको उम्मेदवारमा सिफारिस भने गरेको थियो । तर अर्कैलाई उम्मेदवार बनाएपछि मेयर बादेले पार्टी छोडेको जानकारी गराएका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा बादे एमालेबाट बनेपा नगरपालिका मेयरमा निर्वाचित भएका थिए । निर्वाचनमा बादेले ११ हजार ४०९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम जोशीले ९ हजार ६८८ मत ल्याएका थिए ।
बाँस्कोटाले धोका दिए
मेयर बादेले आफूलाई पूर्वमन्त्री तथा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले धोका दिएको बताए । बाँस्कोटाले आफूलाई मेयरको टिकट दिलाउने वचन दिएर अन्तिम समयमा धोका दिएको उनको भनाई छ ।
‘मलाई गोकुल बाँस्कोटाले मेयरको टिकट दिने वचन पटकपटक दिएर पनि धोका दिए,’ उनले भने, ‘हाम्रो राम्रो किसिमको सम्बन्ध हुँदा हुँदै पनि मैले उनी (बाँस्कोटा) बाट धोका पाएँ । मलाई किन यसरी झुक्याए, उनीहरुको साँठगाँठ के थियो, त्यो उनैलाई थाहा छ ।’
मेयर बादेले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य बाँस्कोटाले पार्टीभित्र सल्लाह र छलफल नगरी आफूखुशी पार्टीभित्र मनलाग्दी किसिमको काम गरेको आरोप लगाए । उनले बाँस्कोटालाई भगवानभन्दा केही कमी नमाने पनि आफूले धोका पाएको बताए । बनेपा नगरपालिका पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य बाँस्कोटाको निर्वाचन क्षेत्र समेत हो ।
मेयर पदबाट राजीनामा दिने
बादेले नगर प्रमुखको पदबाट समेत राजीनामा दिने बताएका छन् । उनले पत्रकार सम्मेलनमा बोल्दै सोमबार नगरपालिका खुलेपछि नगर प्रमुखको पदबाट समेत राजीनामा दिने बताएका हुन् । आज र भोलि सार्वजनिक बिदा भएकाले पर्सी कार्यालय खुलेपछि मेयर पदबाट पनि राजीनामा दिने उनले बताए ।
उनले भने, ‘मलाई आश्वासन दिएका र धोका दिने व्यक्ति रहेको पार्टीमा बस्नुछैन ।’ मेयर बादेले निर्वाचन अघि कुनै पार्टीमा नलाग्ने बताए । तत्काल अरु पार्टीमा प्रवेश गर्ने कुनै तयारी नरहेको उनको भनाई छ । उनले भने, ‘एमाले छाडे पनि निर्वाचन अघि कुनै पार्टीमा लाग्ने छैन । कुन पार्टीमा जाने भन्ने कुरा निर्वाचनपछि नै भनौँला ।’
सत्यपाटी । काभ्रे ।