सूचनाको शक्ति - The Power Of Information

        

७७ जिल्लामा निर्वाचन पर्यवेक्षणमा खटिँदै ४०० पर्यवेक्षक

निर्वाचन पर्यवेक्षण समिति नेपालले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्यवेक्षण गर्ने भएको छ । यसको लागि समितिले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर समितिले स्थानीय तहको निर्वाचनको लागि आफ्नो संस्थाबाट ४० जिल्लामा ४० जना पर्यवेक्षकहरू लामो समयका लागि नियुक्त गरी परिचालनसमेत गरिसकेको जनाएको हो ।

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन पर्यवेक्षण समिति नेपालले आसन्न २०७९ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचनको पर्यवेक्षक अन्तिम तयारीमा जुटेको छ । हालसम्म ४० वटा जिल्लामा ४० जना पर्यवेक्षकहरू लामो समयका लागि नियुक्त गरी परिचालन समेत गरिसकेको छ ।’

साथै समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लामो समयका पर्यवेक्षकहरूको लागि यही वैशाख ८ र ९ गते प्रशिक्षण सम्पन्न गरी परिचालन गरेको हो । त्यसै गरी छोटो समयका लागि ७७ वटै जिल्लामा संस्थाले पर्यवेक्षण गर्नेछ । त्यसको लागि ४०० चारसयजना पर्यवेक्षकहरू परिचालन गर्ने योजना रहेको छ ।’

अध्यक्ष प्रदीप पोखरेलले २०७० सालमा संस्था स्थापना भएको उल्लेख गर्दै संविधानसभाको निर्वाचन र त्यसपछि भएका निर्वाचनमा पनि आफ्नो संस्थाले पर्यवेक्षणको भूमिका खेलेको स्मरण गराए । स्थानीय तहको निर्वाचनको लागि संस्थाको पर्यवेक्षणको तयारी पूरा गरेको जनाए । उनले ७७ जिल्लामध्ये ४० जिल्लामा लामो समयका पर्यवेक्षक पठाइसकेको जनाए ।

उनले भने, ‘उहाँहरूले एक महिना हेर्नुहुन्छ र प्रतिवेदन पठाउनुहुन्छ । ७७ वटै जिल्लामा ४०० जना छोटो अवधिका पर्यवेक्षकहरू खटाउँछौँ । उम्मेदवारी दिने दिनदेखि मत परिणाम आउने बेलासम्मको पर्यवेक्षण गरिनेछ ।’ उनले निर्वाचन आचारसंहिताविपरित प्रचारप्रसार भएको गुनासो पोखे । निर्वाचनमा सबै पर्यवेक्षण संस्थाका गरेर २० हजार पर्यवेक्षकहरू खटिने आफूहरूले विश्वास लिएको उनको भनाई छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार १७:२०