मध्यपश्चिमको ठुलो शहर नेपालगन्ज यस्तो शहर हो, जहाँको राजनीति कतिबेला उर्लिन्छ, फर्किन्छ पत्तै हुँदैन । अझ निर्वाचनका समयमा राजनीति उर्लिने र फर्किने थाहै हुँदैन । २०७४ को निर्वाचनमा नेपालगन्जबासीले वडाध्यक्ष, नगर प्रमूख र उपप्रमूखमा फरक–फरक पार्टीका उम्मेदवारलाई जिताएका थिए ।
यस पटक पनि नेपालगन्जबासीले फरक पार्टीका फरक–फरक उम्मेदवारलाई जिताउने आँकलन गरिएको छ । अहिले नेपालगन्जमा चुनावको ताप र रापसँगै सरगर्मी बढेको छ । चिया पसलदेखि चौतारासम्म स्थानीय तह निर्वाचनको चर्चा भइरहेका छन् । दलहरु उम्मेदवार छनोटदेखि हार–जितको अंकगणितमा व्यस्त छन् ।
कतिपय दलले घरदैलो नै सुरु गरेका छन् । जित निकाल्ने सबै दलका आ–आफ्ना दावी छन् । मुलुककै सबैभन्दा पूरानो शहर नेपालगन्ज उपमहानगरपालिकाको चुनावी माहोल रापिलो बन्दै गएको छ । यहाँ कुन दलबाट कुन नेता उम्मेदवार बन्छन् ? जित्ने कसको सम्भावना छ ? भन्ने जस्ता विभिन्न लख मतदाताले काटिरहेका छन् ।
नेताहरुलाई टिकट कसरी हात पार्न सकिन्छ भन्ने चासो छ । २०७४ को निर्वाचनमा राप्रपाले नेतृत्व गरेको शहरमा अब कसले नेतृत्व हत्याउला ? राप्रपाले आफ्नो विरासत फर्काउला कि नफर्काउला ? राप्रपालाई आफ्नो विरासत जोगाउने चिन्ता छ भने अन्य दललाई नगरको नेतृत्व आफ्नो हात पार्ने दाऊ ।
यतिबेला उम्मेदवार र राजनीतिक दलका नेताहरूलाई खाना खाने फुर्सद छैन । मतदाताको घरदैलोमा पुगेर हात जोड्दै सहयोगको अनुरोध गरिरहेका छन् । चुनाव दिन नजिकिँदै जाँदा बाँकेका आठ पालिकामा प्रमुख/उपप्रमुख र ८१ जना वडाध्यक्षका लागि २ हजार ३२९ जना उम्मेदवारहरू आफ्ना एजेन्डासहित मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् ।
यहाँ राष्ट्रिय मान्यता प्राप्त ६ र साना २३ दल गरी २९ वटा दलले निर्वाचनमा सहभागिता जनाउने भएका छन् । मतदाता रिझाउन सबैले आ–आफ्नो विशेषता, कलाशैली अपनाइरहेका छन् । यतिबेला बाँकेको शहर बजार, गाउँगल्लीमा दलबल या थोरै व्यक्तिहरू जनताको ढोका नजिक उभिएर हात जोडेका देखिन्छन् ।
बैशाख ३० गते चुनाव हुन्छ । जतिजति चुनावको दिन नजिकिँदै गएको छ, त्यति नै उम्मेदवार तथा नेताहरूको दौडधुप बढेको छ । ठूल्ठूला सभा राखेर एकले अर्कोलाई गाली गर्ने पुरानो परम्परालाई यसपालि दलहरूले त्याग्दै प्रतिद्वन्द्वीका बारेमा केही नराम्रा कामहरूको फेहरिस्त भने लगाइरहेका छन् ।
बाँकेमा चुनाव जित्ने आशा नै नभएकाहरू पनि आत्मविश्वासका खटिएका छन् । ठूला दलको प्रचार र भेटघाट त आक्रमक हुने नै भयो । पैदल हिँडेर, रिक्सामा घुमेर या धेरै–थोरै गाडी बोक्ने उम्मेदवारहरू यतिबेला जताततै देखिएका छन् । पालिकाको विकास र समृद्धिको नारा लिएर उम्मेदवारहरू जनताको घरदैलोमा पुगेका छन् ।
कांग्रेस, माओवादी, एमाले, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपाको मत र संगठन ठाउँ विशेषताअनुरूप बलिया छन् । संगठनबाहेक व्यक्तिगत मतले पनि नेपालगन्जमा जीत–हारमा प्रभाव पार्छ । उम्मेदवारहरूले समग्र एजेन्डामात्रै नभएर गाउँ ठाउँ अनुसारका समस्याहरूको समाधानका लागि विश्वास दिलाउँदै हिँडेका छन् ।
नेपालगन्जमा पहाडी, मधेसी र मुस्लिम बाहुल्यता रहेको छ । यहाँ जातिय, धार्मिक र साँस्कृतिक सद्भावका कुराले पनि निर्वाचनमा प्रभाव पार्छ । पश्चिम नेपालको पुरानो र चर्चित शहर भएकाले नेपालगन्जको जीत–हार चौतर्फी चासोको विषय बनेको छ । यो सधैं बन्ने गर्दछ । यहाँ साना–ठूला सबै दलका उम्मेदवारहरू खटिएका छन् ।
प्रचार तालिका नै बनाएर विभिन्न दलका उम्मेदवारहरु घरदैलो अभियानमा निस्केका छन् । नेपालगन्जमा सबैजसो उम्मेदवारले घरदैलो अभियानलाई तीव्र बनाइरहेका छन् । घरदैलो र टोलटोलमा प्रभाव पार्ने व्यक्तित्व र दलमा खुलेर नहिँड्ने व्यक्ति र समुदायलाई फकाउने अभियानमा सबै निस्केका छन् ।
स्थानीय चुनावको प्रचारप्रसारले गाउँ–शहरमा राजतीनिक गतिविधि तीव्र बनेका छन् । पार्टीको सदस्य लिएका भन्दा पनि मत हाल्ने तर पार्टीका पछाडि नहिँड्ने ठूलो समूह नै जित–हारको निर्णायक हुने भएकाले नेताहरूको ध्यान त्यस्ता व्यक्ति र समुदायतिर केन्द्रित भएको छ । नेपालगन्जमा एउटै दल वा एउटै नेतालाई दोहोर्याएर जिताएको पाइँदैन ।
यहाँ एमाले, एकीकृत समाजवादी र राप्रपा भन्दा कांग्रेस, माओवादी र जसपा संगठन बलियो छ । नेपालगन्जमा काँग्रेस, जसपा र एकीकृत समाजवादीको गठबन्धन छ । एमाले, माओवादी र राप्रपा एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् । २०७४ को निर्वाचनमा १२ हजार ५१५ मत ल्याएको राप्रपालाई अहिले यो मत जोगाउनै सकस छ ।
२०७४ को निर्वाचनमा नेपालगन्जमा दोस्रो भएको नेपाली कांग्रेसले ८ हजार ७३० मत ल्याएको थियो भने माओवादी केन्द्रले ७ हजार १९८ र एमालेले ६ हजार ९६५ मत ल्याएको थियो । गत निर्वाचनको यो तथ्यांकलाई आधार मान्ने हो भने पनि नेपालगन्जमा एमाले उम्मेदवारले जित्ने कुनै सम्भावना देखिँदैन ।

एमाले विभाजनपछि यहाँ त्यसको प्रभाव कायमै रहेकाले पनि एमालेको मत विभाजन हुने देखिन्छ भने डा.धवलसम्शेर राणाको व्यक्तिगत मतका आधारमा निर्वाचन जितेको राप्रपाले राप्रपा आफ्नो विरासत जोगाउने सम्भावना निकै क्षिण बनेको छ । यसले पनि कांग्रेस नेतृत्वमा बनेका गठबन्धनका उम्मेदवारहरुले जित हाँसिल गर्ने देखिन्छ ।
अहिले यहाँका मतदाताको ध्यान कांग्रेस–जसपा गठबन्धनबाट उम्मेदवार बनेका नगर प्रमूख प्रशान्त बिष्ट र नगर उपप्रमूख कमरुद्दिन राईतिर खिचिएको छ । ‘यहाँका ठूला समस्याहरूको समाधान गर्दै नेपालगन्जलाई विकासित र समृद्ध बनाउनका लागि हामीले जित्नुपर्छ,’ काँग्रेसका तर्फबाट नगर प्रमूखका उम्मेदवार बिष्ट भन्छन् ।
उनले नेपालगन्जको विकासको नेतृत्व अब कांग्रेसले गर्ने विश्वास दिलाउँदै लोकतन्त्र, विकास र समृद्धिका लागि कांग्रेस नेतृत्वको गठबन्धनले जिन्तुको विकल्प नभएको बताए । नगर उपप्रमूख कमरुद्दिन राईले नेपालगन्जको पूर्वाधार, शिक्षा, स्वास्थ्यका क्षेत्रमा धेरै काम गर्नुपर्ने भएकाले उपमहानगरको नेतृत्व गठबन्धनले नै गर्ने दावी गरे ।
उनले भने, ‘गठबन्धनले नै समृद्ध नेपालगन्ज बनाउनेछ । अब नेपालगन्जमा गठबन्धनको कुनै विकल्प छैन ।’ नेपालगन्जलाई समृद्ध बनाउने नेतृत्व चाहिएको बताउँदै नेपालगन्जका मतदाता भन्छन्, ‘पार्टीका झोले बनेर काम गर्ने होइन, सबै सम्भावना बोकेको नेपालगन्जलाई समृद्ध बनाउने मेयर छनोट गर्न हामी चुक्नुहुँदैन ।’
नेपालगन्जमा काँग्रेस र जसपाले सर्वसम्मत उम्मेदवार छनोट गर्नु, सबैसँग भिजेका र मिजासिला एवं काँग्रेस–जसपा गठबन्धनका तर्फबाट बिष्ट र राई बलिया उम्मेदवार भएकाले दुवै जनाले भारी मतान्तरले जित्ने आँकडा छ । यहाँ भोट बैंक भनेकै मुस्लिम समुदाय भएकाले पनि गठबन्धनलाई चुनाव जित्न सजिलो देखिन्छ ।
राप्रपालाई यसपल्ट नेपालगन्जमा निर्वाचन जित्न कठिन हुने धेरैको अनुमान छ । यहाँ गठबन्धनको मुख्य प्रतिस्पर्धा माओवादीसँग हुने बताइन्छ । यद्यपि राप्रपा र एमालेले आफूहरुले निर्वाचन जित्ने जिकिर गर्दै आर्दै आएका छन् । तर, निर्वाचनमा राप्रपाभन्दा एमालेलाई अझै कठिन देखिन्छ । यहाँ एमाले चौंथो पार्टी हुने आँकडा छ ।
गत निर्वाचनमै चौथो स्थानमा रहेको एमालेले विवादास्पद छवी भएका पशुपतिदयाल मिश्रलाई उम्मेदवार बनाएपछि एमाले प्रतिश्पर्धाको रिङ्गभित्रै नरहेको आँकडा छ । पद र टिकटकै लागि विभिन्न पार्टीका दैलो चाहारेर एमालेको दैलोमा पुगेका मिश्रलाई मधेश आन्दोलनका क्रममा भारतीय भूमीमा बसेर नेपालतिर ढुङ्गामुढा बर्साएको आरोप छ ।
मधेश आन्दोलनका बेला नेपालगन्जको सिमा नाका जमुनाहापारि रुपैडियामा बसेर आफ्नै देश नेपालतिर ढुङ्गामुढा बर्साउने समुहका कमाण्डर मिश्रा नै थिए । २०७२ बैशाख १२ को महाभूकम्पले नेपाललाई क्षतबिक्षत बनाइरहेका बेला मिश्रले भारतमा बसेर नेपालतिरै ढुङ्गामुढा बर्साएको स्मरण नेपालगन्जबासीले अहिले पनि गरिरहेकै छन् ।
अहिले पनि नेपालगन्जबासीले उनलाई राष्ट्रघातीका रुपमा चित्रण गर्दै आएका छन् । छिमेकी देशको भूमीबाट आफ्नै देशतिर फर्किएर ढुङ्गा हान्ने आन्दोलनको कमाण्ड गरेर नेपाली नागरिक र नेपालगन्जबासीप्रति मिश्रले गरेको ‘गद्दारीको दाग’ कहिले पनि पखालिएर नमेटिने नेपालगन्जका सचेत नागरिकहरु बताउँछन् ।
‘आफ्नै आमाको छातीमा ढुङ्गा बर्साउनेलाई कसले मत दिन्छ ?’ नेपालगन्जका एक जना स्वतन्त्र मतदाता भन्छन्, ‘उनलाई आफ्नी आमाभन्दा छिमेकीकै आमाको माया बढी छ, नेपालगन्जमा निर्वाचन लड्नुभन्दा रुपैडिहातिरै गएर निर्वाचन लडेको भए राम्रो हुने थियो, खै कुन मुखले यतातिर आएर चुनाव लडिरहेका छन् ।’
त्यसो त एमालेकै चुनाव चिह्न लिएर बाँके क्षेत्र नं.२ बाट संघीय संसदका लागि उनी उम्मेदवार पनि बनेका थिए । त्यसबेला पनि मिश्रलाई ‘पारिबाट वारि ढुङ्गा हान्ने’को आरोप लागेको थियो । त्यसबेलाको निर्वाचनमा पराजय व्यहोरेपछि केही समय सेलाएका मिश्र टिकटकै लागि एमालेको दैलोमा प्रवेश गरेर अहिले मेयरको उम्मेदवार बनेका छन् ।
‘उनको उम्मेदवारीले एमालेभित्रै चरम असन्तुष्टि छ । एमालेका मतदाताले बैशाख ३० गतेलाई पर्खिरहेका छन् । ‘पारिबाट वारि ढुङ्गा हान्ने’लाई कसरी मत दिन सकिन्छ ?’ एक जना एमाले निकटका मतदाताले भने, ‘उनको विकल्पमा अरु पार्टीकै किन नहोस् राम्रो, योग्य र विकासप्रेमी व्यक्तिलाई भोट दिने हो ।’
उनी मेयरको उम्मेदवार बनेसँगै सामाजिक सञ्जालमा मात्रै होइन, आम नेपालगन्जबासीका बीचमा आलोचित बन्दै गएका छन् । नेपालगन्जमा एमाले फुटको असर पनि स्थानीय तह निर्वाचनमै देखिनेछ । विगतमा माधव नेपालको समर्थनमा उत्रिएका तर अहिले एमालैमै रहेकाहरुले पनि पशुपतिलाई हराएर देखाइदिने आन्तरिक तयारी गरेका छन् ।
‘एमाले अध्यक्ष केपी ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गरेलगत्तै मेयरको टिकट हत्याउन सफल भएका पशुपतिलाई हराएर ओलीकै सेखी झारिदिने तयारीमा छौं,’ नेपालगन्ज नगर स्तरीय एक जना एमाले नेताले नाम नबताउने सर्तमा भने, ‘हाम्रो पनि नैतिकताको सवाल छ, पशुपतिलाई कुनै हातलमा जित्न दिँदैनौं ।’
नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख पदका लागि कांग्रेस–जसपा गठबन्धनबाट प्रशान्त बिष्ट, राप्रपाबाट नन्दलाल बैश्य, एमालेबाट पशुपतिदयाल मिश्र तथा उपप्रमुख पदका लागि कांग्रेस–जसपा गठबन्धनबाट कमरुद्दिन राई, राप्रपाबाट बिन्दु चर्तीमगर, एमालेबाट शान्तिदेवी ढकालको उम्मेदवारी रहेको छ ।
सत्यपाटी । बाँके ।