नेपालको कानुनले जुवातास खेल्नलाई प्रतिबन्ध लगाएको छ । तर, सरकारलाई नै चुनौती दिएर लुकीछिपी तास खेल्नेको संख्या पनि उत्तिकै छ । कतिपयलाई प्रहरीले जुवातास अड्डाबाटै पक्राउ गर्दछ । त्यसरी पक्राउ परेकालाई कानुनमा उल्लेख भएबमोजिम कारबाही गरिन्छ । पछिल्लो समय सेयर पनि ठ्याक्कै जुवातास जस्तै भएको छ । एकदिन सेयरको मूल्य बढ्यो हर्षित हुन्छन्, अर्को दिन फेरि घटिहाल्छ । जसको कारण सेयरमा लगानी गर्नेहरु जतिखेर पनि तनावमा देखिन्छन् ।
जुवातासमा मार्यो भने खुसी र हार्यो भने दुखी हुन्छन्, सेयरमा पनि उस्तै अवस्था छ । सेयरमा जथाभावी लगानी गर्नेहरु अहिले टाट पल्टिसकेका छन् । घरखेत बेचेर सेयरमा लगानी गर्नेहरु अहिले सडकमा आइपुगेका छन् । आफ्नो भएको जेथो नै डुबेपछि सेयर लगानीकर्ताहरुलाई ‘मर्नु न मोटाउनु’ भएको छ । सेयरको घट्दो मूल्यका कारण वित्तिय संस्थाहरु पनि डुब्ने अवस्थामा पुगेका छन् । सेयर धितो राखेर कर्जा दिने बैंक फाइनान्सको लगानी जोखिममा परेको प्रष्टै बुझिएको छ ।
सेयरमा नयाँ लगानीकर्ता ठप्प झैं भइसकेको छ । अहिले पनि विभिन्न कम्पनीहरुले आइपीओ खोलिरहेको छ । नयाँनयाँ कम्पनीहरुले दिनहुँजसो सेयर निकासी गर्दछन् । पछिल्लो समय बैंकफाइनेन्स आफैपनि रित्तो हुँदा सेयरवालालाई कसरी नाफा दिन्छ ? वित्तिय संस्थाहरुले कर्जा दिन सक्ने अवस्था छैन । यता, दिएको कर्जा पनि उठाउन हम्मेहम्मे परिरहेको छ । सर्वसाधारणहरुले पनि वित्तिय संस्थामा लगेर पैसा राख्दैनन् । रातारात आफ्नो जम्मा भएको रकम निकाल्ने क्रम बढ्दो छ । जसका कारण सेयरको मूल्य झनै घट्ने अड्कलबाजी गर्न थालिएको छ ।
ऋण लिएर सेयर किन्नेहरु भाग्नपर्ने अवस्थामा आइपुगेको बताइन्छ । तर, सेयरमा धेरै लगानी भएका व्यापारीहरु सेयरको मूल्य बढ्छ भनेर बजारमा हल्ला फिजाइरहेका छन् । एकातिर व्यक्तिसंग पैसा छैन् अर्कोतिर बैंकफाइनेन्सले कर्जा दिदैन् । अनि कसरी सेयरको मूल्य बढ्छ ? सीधासाधी जनतालाई भिडाउनका निम्ति व्यापारीहरुले भ्रम फिजाइरहेका छन् । बैकफाइनेन्सहरु धरासायी हुनुको प्रमुख कारण सेयर र घरजग्गामा जथाभावी लगानी गर्नु हो । तर, सेयर र घरजग्गाको मूल्य बढाउने सरकारले होइन् व्यापारीहरुले हो ।
सेयरमा अर्बौ रुपैया लगानी गर्ने र घरजग्गामा खर्बौ लगानी गर्नेहरुको भागाभाग भइसकेको छ । ठूला व्यापारी देशै छोडेर भागिसकेका छन् भने साना व्यापारी लुकीछिपी हिँडेका छन् । बैंक फाइनान्सको कर्जा प्रत्येक दिन बढिरहेको छ तर घरजग्गा र सेयरको मूल्यमा मज्दी आएको छ । ३०० को सेयर १०० रुपैंयामा बिक्री भएको छैन । यता, घरजग्गाको मूल्य पनि स्वाटै घटेको छ । बढी नाफा खानका निम्ति हिजो वित्तिय संस्थाहरुले आँखा चिम्लेर लगानी गप्यो । घुस खाएर महंगो व्याजमा कर्जा प्रवाह गरे । तर, आज उनीहरु नै शिथिल भएका छन् ।
घरजग्गा र सेयर किन्नलाई खरिदकर्ता नहुँदा उनीहरुको लगानी जोखिममा पुगेको छ । मुलुकमा थुप्रै सरकारी बैंकहरु छन् । तर, बढी व्याज पाउने लोभमा सर्वसाधारणहरुले निजी बैंकमा लगेर बचत गरे । सर्वसाधारणद्धारा आफ्नो खुट्टामा आफैले बञ्चरो हान्ने काम भयो । सरकारी बैंकमा राखेको रकम कुनै पनि हालतमा डुब्दैन । बैंक नै डुबे पनि त्यसको भर्पाइ सरकारले नै गर्दछ । हिजोको दिनमा सहकारीको कारणले धेरै मानिसहरु रोडमा आइपुगे । त्यतिखेर पनि सरकारले चुइक्क बोलेन् । अहिले पनि सरकार मौन छ ।
घरजग्गा र सेयरको मूल्यमा लगातार गिरावट आइरहेको छ । जसका कारण धेरै सर्वसाधारणहरु निरास भइसकेका छन् । राजनितिक दलका नेताहरुले यसअघि पनि पटकपटक घरजग्गा र सेयरमा लगानी गर्नु भनेको असारे भल हो भनेर भन्दै आएका थिए । असारे भल जुनसुकै बेला पनि सुक्न सक्छ भनेर सेयरलाई ताकेर उदाहरणसमेत दिइएको थियो । सेयरको मूल्यमा कतिखेर मन्दी आउने हो यसको अड्कलबाजी गर्न नसकिने भनेर उनीहरुले विभिन्न मितिमा भनेका थिए । तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले घरजग्गा र सेयरमा लगानी गर्नु जुवातास खेल्नुसरह भएको भनेको धेरैचोटि भनेका पनि थिए ।
नेपाल राष्ट्र बैंकको गर्भनर हुँदा खतिवडाले जथाभावी कर्जा दिनमा कडाइ गरेका थिए । यो क्षेत्रमा गरेको लगानीको भर हुदैन् जतिबेला पनि डुब्न सक्छ भनेर उनले सबैलाई सुझाएका थिए । तर, अन्त्यमा अर्थमन्त्री खतिवडालाई दोषी ठहराइयो । अर्थमन्त्री खतिवडाका कारण जग्गा र सेयर कारोबारीहरु रिसाए । बैंकफाइनेन्स र जनता दुवैलाई हौसिएर सेयर नकिन्न बारम्बार भन्दा पनि कसैले टेरपुच्छर मानेनन् । जसको नतिजा विस्तारै देखिदैछ । बैंक फाइनान्सले सेयर र घरजग्गा लिलाम गर्न खोजे पनि किन्ने मान्छे छैनन् । किनकि प्रायजसोले सेयर र घरजग्गाको मूल्यमा अझ गिरावट आउछ भनेर बुझिसकेका छन् ।
घरजग्गा र सेयरको बिक्रीवितरण ठप्प हुँदा राज्यलाई राजस्व आएन् । त्योभन्दा बढी जनताको लगानी नै जोखिममा पर्यो । दलालीहरुको लहलहैमा लाग्दा जनताहरुले नपाउनु दुःख पाए । सरकारी बैंकले ११ प्रतिशत व्याज दिने भनेका छन् । त्यसैगरी, निजीले १४ र सहकारीले १८ प्रतिशत व्याज दिने प्रलोभन देखाइरहेका छन् । तापनि कोही पैसा राख्न तयार छैनन् । बरु, भएको पैसा पनि निकाल्न दौडधुप गरिरहेका छन् । बचतकर्तालाई १८ प्रतिशत व्याज दिने सहकारीले कर्जा लिनेसंग कति व्याज लिन्छ ? भन्ने बेलामा १९ प्रतिशतमा कर्जा लिएर जानुस् भन्छन् तर सबै हिसाब गर्दा ४२ प्रतिशत पर्न जान्छ ।
तीन प्रतिशत सेवाशुल्क, पेनाल्टी, घुस गर्दा कर्जावाल सिधै मारमा पर्छन् । सहकारी विभागले कर्जा लगानी गर्दा १६ दशमलव ३ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने नियम बनाएको छ । त्यसैगरी, सेवाशुल्क पनि एक प्रतिशत मात्र तोकिएको छ । महंगो व्याज र बढी सेवा शुल्कका प्रलोभनमा वित्तिय संस्थाहरु फस्दा डिपोजिटकर्ताको रकम डुब्न बेर नलाग्ने स्थितिमा आइपुगेको छ । वित्तिय संस्थाहरुलाई ‘निल्नु न ओकाल्नु’ भइसकेको छ । हिजो ३–४ प्रतिशत व्याजमा सर्वसाधारणको पैसा राख्ने काम भयो । तर, कर्जा लगानी गर्नेसंग मँहगो व्याज लिए । आएको नाफाजति सञ्चालक र कर्मचारी मिलेर झ्वाम्म पार्ने ।
बैंक फाइनान्सको यस्तो प्रवृत्तिका कारण उनीहरु जनताबाट नाङ्गिए । बैंक फाइनान्स जनताको नजरमा ठग देखिएका छन् । अझ कर्जा खानेहरुलाई बैंक फाइनान्सले रुवाउनु रुवाएका छन् । कर्जा तिर्नलाई समय नथपिदिने । धम्काउने, तर्साउने र पत्रपत्रिका निकाल्दिने । कालोसूचीमा नाम राखिदिने । बैंक फाइनान्सको दबाब सहन नसकेर कतिपयले आत्महत्यासमेत गरेको घटनाहरु हाम्रै समाजमा छ । करोडपति रोडपतिसम्म बने ।
डिपोजिटवाललाई महिना नमरेसम्म व्याज दिदैन् । तर, कर्जावाललाई कर्जा तिरेको दिनको समेत व्याज लिन्छ । अहिले व्यापारीहरुले पनि वित्तिय संस्थामा पैसा राख्न छोडिसके । आफुसँग भएको रकम घरमै राख्ने प्रवृत्ति बढ्दो छ । दैनिक लाखौं रकम उठाउने सहकारीका बजार प्रतिनिधिहरुलाई अहिले हजार उठाउन पनि हम्मेहम्मे परिरहेको छ । तलब दिन नसकेर वित्तिय संस्थाहरुले धमाधम कर्मचारी कटौती गर्दैछ । सर्वसाधारणलाई ‘मुर्गा’ बनाउन खोजे पनि आमसञ्चारको सहयोगबाट पाएको चेतनाका कारण ठग्न सक्ने स्थिति छैन् ।
पहिले सेयर र जग्गा व्यापारीले जे भन्थे, सर्वसाधारणले सजिलै पत्याउथे । तर, अहिले आँखा चिम्लेर कसैको बोलीको आधारमा आफ्नो जिन्दगीभरको कमाइ कसैले लगानी गर्दैन् । सर्वसाधारणमा यति चेतना आउनु भनेको दलालीहरुको ठग्ने कामको अन्त्य हुनु हो । ८० प्रतिशतले कर्जा लिएर घरजग्गा र सेयरमा लगानी गरेका छन् । उनीहरुको भएको जेथो सबै बैंक फाइनान्सकै नाममा छ । बजारमा यसको मूल्य घट्नेबित्तिकै यसको सीधा असर बैंक फाइनान्सलाई पर्छ । अब डुब्ने पालो बैंकफाइनेन्सको आएको छ । यी संस्थाहरु डुब्नेबित्तिकै जनताको लगानी जोखिममा पर्यो ।
अनुसा थापा ।