सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

कोहलपुरमा कांग्रेसको ‘पल्लाभारी’ हुने संकेत

सत्तामा रहेका दलहरु पनि सबै स्थानीय तह एमालेविहीन बनाउन चाहन्छन् । यसले पनि बाँकेमा एमाले ‘क्लीन स्वीप’ हुने देखिएको छ ।

पश्चिम तराईको उदाउँदो शहर हो, कोहलपुर । हरेक बर्ष बस्ती विस्तार हुने क्रम बढ्दो छ । निजी तथा सरकारी संरचना थपिने क्रम पनि तीव्ररुपमा भइरहेको छ । पछिल्लो समय यहाँको जनसंख्यामा पनि ह्वात्तै बढेको छ । उपमहानगरपालिका बन्ने दाउमा रहेको कोहलपुरमा अहिलेका मेयर हुन्, लुटबहादुर रावत ।

२०४९ सालदेखि उनीमाथि निरन्तर भरोसा गर्दै आएका नगरबासीले गत बर्ष बर्षको अवधिमा यहाँका जनप्रतिनिधिसँग आजित भए । एसीदेखि क्रेटासम्मका थरिथरिका काण्डमा मुछिँदै आएका ७४ वर्षीय मेयर रावत आउँदो वैशाख ३० मा स्थानीय शासनमा तेस्रो कार्यकाल पूरा गरेर बिदा हुँदैछन् ।

सरल, सादगी र इमान्दार जनप्रतिनिधिको परिचय बोकेका लुटबहादुरको छवी २०७४ को स्थानीय निर्वाचनपछि धुमिल बन्दै गयो । अन्तत विवादित बनदै कार्यकाल पुरा भएर उनी ३० बैशाखमा नगरपालिकाको मेयरबाट विदा हुनेछन् । उनको पाँच बर्षे कार्यकालले आफू त विवादित नै रहे, उनले एमालेलाई पनि कमजोर बनाए ।

अघिल्ला दुई कार्यकालको तुलनामा पछिल्ला पाँच वर्ष उनी निकै विवादित बने । कार्यपालिकामा एमालेको एकल बहुमत हुँदाहुँदै पनि ससाना कुरामा विवादित बनिरहँदा त्यसले एमालेभित्रै गहिरो ठेस लाग्यो । कोरोना महामारीका बेला एम्वुलेन्स खरीद गर्नुको सट्टा क्रेटा कार खरीद गर्दै नगर प्रमूख विवादमा तानिएका थिए ।

यो त एउटा प्रतिनिधिमूलक उदाहरणमात्रै हो । कोहलपुरमा यस्ता धेरै विवादित कामहरु लुटबहादुरकै कार्यकालमा एकपछि अर्को गर्दै दोहोरिरहे । मेयर रावत २०४९, २०५४ र २०७४ का स्थानीय चुनावमा एमालेबाट कोहलपुरमा निर्वाचित भए । उनको १५ वर्षे स्थानीय शासनकालप्रति सुरुवातका दुई कार्यकालमा भने मिश्रित प्रतिक्रिया छन् ।

अघिल्ला दुई कार्यकालको तुलनामा पछिल्लो कार्यकाल निकै कमजोर र विवादित रहेको भन्दै पार्टीभित्रै उनको चर्को आलोचनासमेत भयो । विकासका साझा मुद्दामा समेत पार्टीगत आँखाबाट हेर्ने गरिएको बताउँदै उपमेयर सञ्जुकुमारी चौधरीले भनिन्, ‘सर्वसम्मत हुनुपर्ने निर्णयसमेत बहुमतको बलमा जबरजस्ती निर्णय पनि भए ।’

मेयर रावत १५ वर्षे कार्यकाल पूरा गरी बिदा भइरहँदा कोहलपुरको मेयरमा कसले बाजी मार्ला भन्ने आँकलन भइरहेको छ । २०७४ को निर्वाचनमा मेयर रावतले ९००७ मत ल्याएका थिए भने उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भानुभक्त भट्टराई ८३ मतान्तरले पराजित भएका थिए । भट्टराईले ८९२४ मत ल्याएका थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले ६२२१ मत ल्याएर तेस्रो भएका थिए । त्यतिबेला एमाले–माओवादीको २७८६ मतान्तर देखिन्छ भने कांग्रेस–माओवादीको २७०३ मतान्तर देखिन्छ । तर, अहिले एमाले विभाजनपछि कोहलपुरमा कमजोर देखिन्छ भने फोरम लोकतान्त्रिकसँगको एकतापछि कांग्रेस बलियो बनेको छ ।

एमाले १५ वर्षदेखिको वर्चस्व जोगाउन नसक्ने अवस्थामा पुगेको एमाले स्रोतले बतायो । एमालेबाट नगर कमिटी अध्यक्ष खिलप्रसाद भुसाल उम्मेदवार भएर चुनावी मैदानमा होमिएका छन् । एमाले विभाजनसँगै नगरपालिकाकै केही जनप्रतिनिधि अहिले नेकपा एकीकृत समाजवादीतिर लागेपछि कोहलपुरमा एमालेले जित्ने सम्भावना ‘शुन्य’जस्तै छ ।

कोहलपुरमा यसपटक एमाले तेस्रो हुने आँकलन गरिएको छ । पहिलो काँग्रेस र दोस्रोमा माओवादी केन्द्र तेस्रो हुने मतदाताहरुको आँकलन छ । अझ कोहलपुरमा विवादास्पद छवीका व्यक्तिलाई एमालेले उम्मेदवार बनाएपछि एमालेभित्रै असन्तुष्टि थप चुलिएको छ । यसले एमालेभित्र चरम अन्तरघातको सम्भावना रहेको एमालेकै नेता कार्यकर्ताहरु बताउँछन् ।

कोहलपुरमा एमालेले विवादित छवी भएका खिलप्रसाद भुषाललाई टिकट दिएपछि पार्टीकै नेताहरू असन्तुष्ट छन् । ‘एमालेले खिलप्रसाद टिकट दिएर एमालेको हार सुनिश्चित गरेको छ,’ एमाले निकटका एक जना मतदाताले भने । उनी यसअघि पत्रकारदेखि सर्वसाधारण मतदातालाई समेत तुच्छ शब्दमा गालीगलौज गरेर विवादीत बनेका थिए ।

एमाले अध्यक्ष ओली निकट मानिने भुषाललाई कोहलपुरमा पार्टीकै नेता कार्यकर्ताले रुचाउँदैनन् । पैसा र पहुँचको आडमा टिकट लिन सफल भएको भन्दै एमाले कार्यकर्ताहरुले उनको तीव्र आलोचना गरिरहेका छन् । ‘खै उहाँ कसरी जित्नुहुन्छ, उहाँलाई नै थाहा होला ? हामी उहाँलाई भोट दिन्नौं,’ एक जना एमाले कार्यकर्ता भन्छन् ।

गत निर्वाचनमा बाँकेका आठ पालिकामध्ये माओवादीले कतै पनि चुनाव जित्न सकेको थिएन । खजुरा गाउँपालिकामा निकटम् प्रतिद्वन्द्वी रहेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका लागि अघि सारेको मोडालिटीमा विगतमा जितेकोमा उसैलाई र एमालेले जितेका ठाउँमा निकटम् प्रतिद्वन्द्वीलाई टिकट दिने भन्ने छ । त्यस हिसाबले कोहलपुर कांग्रेस र खजुरा माओवादी केन्द्रले पाउँछ ।

कोहलपुरमा हौसियो कांग्रेस

नेपाली कांग्रेसले कोहलपुरमा युवा नेता पूर्णप्रसाद आचार्यलाई मेयरको उम्मेदवार बनाएपछि कोहलपुर कांग्रेसकै धरोहर मानिने नेता बलराम शर्माले स्वतन्त्र उम्मेदवारका रुपमा दर्ता गरेको मनोनयन फिर्ता लिएपछि कोहलपुर कांग्रेसमा खुसीयाली छाएको छ । शर्माको मनोनयन फिर्ता भएसँगै कोहलपुर कांग्रेस थप बलियो र सशक्त बनेको छ ।

नेता शर्माले आफ्नो उमेद्वारी फिर्ता लिएर पार्टीका तर्फबाट मेयरका आधिकारिक उम्मेदवार आचार्यलाई समर्थन जनाएपछि आम नेता कार्यकर्तामा उत्साह बढेको छ । कोहलपुर नगरपालिका–२ मा तेजबहादुर अधिकारीले वडाध्यक्षमा आधिकारिक उम्मेदवार हरिसिंह कठायतलाई समर्थन जनाएर मनोनयन फिर्ता लिएका छन् ।

स्वतन्त्र रुपमा दर्ता गरेको मनोनयन फिर्ता लिँदै नेता शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कोहलपुरको नगर प्रमुखमा रहेको मेरो स्वतन्त्र उम्मेदवारी मैले फिर्ता लिएको छु । आम जनता एवं कार्यकर्ताहरूमा नेपाली काँग्रेसका उमेदवारहरूलाई जिताउनको लागि हार्दिक अपिल गर्दछु, जय नेपाल ।’

स्वतन्त्र उम्मेदवारी फिर्तासँगै २०७४ को स्थानीय निर्वाचनमा झिनो मतान्तरले कोहलपुरमा पराजय भोगेको कांग्रेसले यस पटक धेरै मतान्तरले ‘पल्लाभारी’ हुने दावी गरेको छ । किनकी, गत निर्वाचनमा पहिलो शक्ति बनेको एमाले अहिले विभाजनको पीडामा छ । एमाले विभाजनको फाइदा कोहलपुरमा कांग्रेसलाई हुने निश्चित छ ।

बाँकेमा एमाले ‘क्लीन स्वीप’

२०७४ को स्थानीय तहमा नेकपा एमालेले बाँकेका आठ स्थानीय तहमध्ये चार वटामा विजयी भयो । जानकी र कोहलपुरमा झिनो मतान्तरले विजयी भएको एमालेलाई यस पटक जित दोहोर्याउन निकै कठीन छ । पार्टी विभाजनकै पीडाले कोहलपुर र जानकी मात्र होइन, खजुरा र बैजनाथमा पनि एमालेलाई जित्न कठिन हुने देखिन्छ ।

यसले गर्दा, वैशाख ३० को निर्वाचनमा एमालेलाई बाँकेका आठ वटै स्थानीय तहमा ‘शुन्य’ हुने अवस्था आउन सक्छ । विजयी झण्डा फहराउने सपना एमालेको मात्रै बन्न सक्ने आँकलन छ । सत्तामा रहेका दलहरु पनि सबै स्थानीय तह एमालेविहीन बनाउन चाहन्छन् । यसले पनि बाँकेमा एमाले ‘क्लीन स्वीप’ हुने देखिएको छ ।

सत्ता गठबन्धन दलहरुकै भाषामा भन्दा बाँकेमा एमालेलाई ‘क्लीन स्वीप’ गर्न चाहान्छन् । के सत्ता गठबन्धन दलहरुको एमालेविहीन स्थानीय तह बनाउने रणनीति सफल हुन्छ त ? एमालेलाई रातदिन यही प्रश्नले पिरोलेको छ । आफू केही वडा जिते पनि नगर तथा गाउँपालिकाबाट पाखा लाग्न सक्ने एमालेको भित्री आँकलन छ ।

एमाले नेताहरु भने मतदाताको मनोबल उच्च राख्न आफूले धेरै स्थानीय तह जित्ने ‘मिथ्या हावा’ फैलाइरहेका छन् । साँच्चिकै एमालेलाई अहिले ‘छातिमाथि ढुंगा राखी हास्नु पर्या छ,’ भने जस्तै भएको छ । २०७४ सालको चुनावी मतलाई जोडेर विश्लेषण गर्दा गठबन्धनसँग एमालेलाई प्रतिस्पर्धा गर्नसमेत हम्मेहम्मे छ ।

२०७४ सालको मतदाता संख्याभन्दा अहिले बढी भए पनि दलहरुको अवस्था उस्ताउस्तै छ । एमालेले अहिलेको अवस्था २०७४ को जस्तो नभएको बताउँदै आएको छ । एमालेलाई चुनावी प्रतिस्पर्धा गर्न सकस भएसँगै पछि एमाले निराश पनि देखिन्छ । बाहिरी रुप हसिलो भए पनि भित्री मनमा हारको अमिलो मन बनाएर एमाले चुनावमा होमिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार १८:१८