सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा गठबन्धनका साझा उम्मेदवारहरु घरदैलोमा व्यस्त

कोहलपुरमा गठबन्धनका साझा उम्मेदवाहरुप्रति आकर्षण बढ्दै गएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी मैदानमा होमिएका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को संयुक्त गठबन्धनका साझा उम्मेदवारहरुप्रति नगरवासीको आकर्षण देखिएको हो ।

मनोनयन दर्ता गरेसँगै घरदैलो अभियानमा जुटेका गठबन्धनका साझा उम्मेदवारहरुलाई नगरवासीहरुले स्वतस्फुर्त रुपमा स्वागत गरिरहेका छन् । गठबन्धनबाट मेयर पदका साझा उम्मेदवार नरेन्द्र न्यौपाने र उपमेयर पदमा नरायणी वलीसहित १५ वडाका वडाध्यक्ष र सदस्य गरी गठबन्धनबाट कोहलपुरमा ७७ जनाले उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै नरेन्द्र न्यौपानेले मेयर तथा एकीकृत समाजवादीको तर्फबाट नारायणी वलीले उपमेयर पदमा उम्मेदवारी दिएकी हुन् । गठबन्धनबाट कोहलपुर नगरपालिका वडा नं. १ मा बद्रि प्रसाद जैशी, वडा नं.२ मा अमर विश्वकर्मा, वडा नं.३ मा ताराकेशर रिजाल र वडा नं.४ मा उपेन्द्रनाथ योगीको उम्मेदवारी रहेको छ ।

त्यस्तै वडा नं.५ मा कृष्णबहादुर थारु, वडा नं.६ मा रामशरण थारु, वडा नं.७ मा कुजिया थारु, ८ मा चन्द्रबहादुर बुढा, वडा नं. ९ मा ओपेन्द्रनाथ योगी, वडा नं.१० मा कैलो बोहरा (कुशल), वडा नं.११ मा धर्मसिंह कार्की (सुवास), वडा नं.१२ मा निरक शाही, १३ मा मिनाकुमारी पुन, १४ मदनबहादुर वली (निर्माण) र वडा नं.१५ मा राधेश्याम थारुले वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छने ।

‘परिवर्तनलाई संस्थागत गर्न स्थानीय तहको निर्वाचन, समृद्ध कोहलपुर निर्माणका लागि हाम्रो गठबन्धन’ भन्ने नाराका साथ चुनावी मैदानमा होमिएका गठबन्धनका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्र बनाएका छन् । बिहानैदेखि अबेर रातीसम्म घरदैलो अभियान सञ्चालनका क्रममा नगरवासीबाट अथाह माया र उर्जा प्राप्त भएको मेयर पदका उम्मेदवार न्यौपानेले बताए ।

केन्द्रीय तहको राजनीतीबाट उदाएका न्यौपाने पछिल्लो ५ वर्षको अवधिलाई कोहलपुरको राजनीतिक अवस्था, मुख्य–मुख्य समस्या र कोहलपुरको सम्भावनाका बारेमा अध्ययन गर्ने प्रयाप्त अवसरका रुपमा सदुपयोग गरेको बताउँछन् । गाँउ घरका स–साना समस्यादेखि कोहलपुरलाई विकास र प्रशासनिक हिसाबले समृद्ध गर्ने काममा उनको खटाईको नगरवासीले खुलेरै प्रशंसा गर्ने गरेका छन् ।

कोहलपुरमा विकासका काममा प्रदेश र केन्द्र सरकारसँग लबिङ गर्न होस् या कोभिडको महामारीमा जनताको घर–घरमा पुगे सेवा गर्न होस् उनी निरन्तर लागिपरेका थिए । गत स्थानिय तह निर्वाचनमा कोहलपुर नगर कार्यपालिका सदस्यमा निर्वाचित नारायणी वली यस पटक गठबन्धनको तर्फबाट उपमेयरको साझा उम्मेदवार बनेकी छन् । नेकपा (एकिकृत समाजवादी)की नेतृ वली कोहलपुरवासीले पुनः एक पटक आफुलाई अवसरमा दिनेमा विश्वस्त छिन् ।

नगरपालिकाको नेतृत्वमा रहँदा विगतमा गरेका जनपक्षिय कामको मुल्याङ्कन गरेर मतदान गर्न समेत वलीले बसैलाई आह्वान गर्दै आएकी छन् । कोहलपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल भए पनि दुबै पार्टीका संयुक्त उम्मेदवारहरु आ–आफ्नो चुनाव चिन्हका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । माओवादी केन्द्रको चुनाव चिन्ह (गोलाकार घेराभित्रको हँसिया हथौडा) तथा एकीकृत समाजवादीको चुनाव चिन्ह (कलम)मा मतदान गर्न गठबन्धनका उम्मेदवारहरुले संयुक्तरुपमा अपिलसमेत गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार १६:५५