सूचनाको शक्ति - The Power Of Information

        

चुनावसँगै फेरि विवाद

गोदावरी कि धनगढी : प्रदेश राजधानी विवादमा

प्रदेशको अस्थायी राजधानीका रूपमा रहेको धनगढीले अहिले सबैलाई आकर्षित गरिरहेको छ ।

सुदूरपश्चिमको राजधानी कैलालीको चुरेक्षेत्रमा रहेको गोदावरीमा बनाउने प्रदेश सभाको पुरानो निर्णय अहिले स्थानीय चुनावको सन्दर्भमा फेरि विवादमा तानिएको छ । यही मुद्दा चुनावको मुख्य एजेण्डा बनिरहेको छ ।

सुदूरपश्चिम प्रदेशको एकमात्रै उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको नेतृत्व लिन अहिले विभिन्न दल तथा स्वतन्त्र उमेदवार चुनावी गतिविधिमा केन्द्रित भएका छन् । प्रदेशको मुख्य शहरका रूपमा रहेको धनगढीमा चुनावी सरगर्मी बढेसँगै जनतामाँझ उमेदवारहरूले पनि विभिन्न प्रतिबद्धता गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेशसभाले बहुमत सदस्यहरूको समर्थनमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा प्रदेशको राजधानी बनाउने निणर्य गरेको थियो, तर विविध कारणले संरचना निर्माण कार्य अगाडि बढ्न सकेको छैन । प्रदेशको अस्थायी राजधानीका रूपमा रहेको धनगढीले अहिले सबैलाई आकर्षित गरिरहेको छ ।

प्रदेशको अस्थायी राजधानी, मुख्य शहर, प्रदेशको प्रमुख अस्पताल, ठूला शैक्षिक संस्था धनगढी उप महानगरपालिका भित्रै छन् । गोदाबरीलाई राजधानी बनाइएपछि अहिलेसम्म सबैको रोजाइमा परिरहेको धनगढीप्रतिको आकर्षण कस्तो रहला अहिले धेरैले चिन्ता गरिरहेको विषय भएको छ ।

प्रदेशको स्थायी राजधानी गोदावरीमा कामकाज शुरु भएपछि धनगढीको अस्तित्व जोगाउन मुस्किल पर्छ कि भन्ने आशंका पैदा भइरहेको छ । धनगढीको अस्तित्व जोगाउँछौं भन्दै अहिले धनगढीको नेतृत्व लिन दौडधुप गरिरहेका उमेदवारहरूलाई एजेण्डा प्रस्तुत गर्न नागरिकहरूले दबाब दिइरहेका छन् ।

नेपाली काग्रेंसका केन्द्रीय सदस्य नृपबहादुर वड धनगढी उपमहानगरपालिकाको मेयर पदको ५ वर्षे कार्यकाल सम्पन्न गरी फेरि मेयर बन्नका लागि चुनावी दौडमा छन् । उनी धनगढीको विकासका लागि जग बसिसकेको बताउँदै अब ती काम पूरा गर्न दोस्रो पटक उमेदवार बनेको बताउँछन् ।

‘मेरो ५ वर्षे कार्यकालमा धेरै काम गरें’ मेयर वडले भने, ‘कोभिड १९, नयाँ संरचना निर्माण र प्रदेश तथा संघमा आफ्नो सरकार नभएका कारणले धेरै काम अधुरा छन्, बाँकी रहेका ती सबै काम पूरा गर्न म फेरि उमेदवार बनेको हुँ ।’ प्रदेशको राजधानी गोदावरी बनिसकेपछि धनगढीको अस्तित्वलाई जोगाउने प्रश्नमा वड अब गोदावरीमा कुनै संरचना नबन्ने दाबी गर्छन् ।

‘प्रदेश सरकारले गोदावरीमा राजधानी बनाउन गरेको प्रस्तावमा नेपाली काग्रेंसले त्यतिवेला नै विरोध गरेको थियो,’ वडले भने, ‘नेपाली कांग्रेस गोदावरी राजधानीको विपक्षमा थियो, यही कारणले विभिन्न आन्दोलन पनि भएका थिए त्यसैले अहिलेसम्म कुनै संरचना बनेका छैनन् र पछि पनि बन्ने छैनन् । अब काग्रेंसको सरकार बन्छ र हामी धनगढीमै राजधानी स्थापित गर्छौं ।’

तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा नेतृत्वको सरकारले बहुमतका आधारमा गोदावरीमा राजधानी तोकेको थियो । एमालेबाट मेयर पदमा उमेदवारी दिएका रणबहादुर चन्द धनगढीको अस्तित्व कहिल्यै नसकिने दाबी गर्छन् । ‘धनगढी राजधानी भए पनि नभए पनि यस्तै रहिरहन्छ,’ चन्दले भने, ‘अब विकासका काम कम भएर यसको महत्व घट्ला कि भन्ने आशंका गर्नुभएको हो भने त्यस्तो हुन नदिन धनगढीको नेतृत्व एमालेलाई दिनुपर्छ ।’

हरक्षेत्रमा विकसित धनगढी बनाउनका लागि हामी तयार रहेको बताउँदै चन्दले भने, ‘धनगढीलाई थप उचाइमा पुर्याउन भौतिक विकास मात्र नभएर यहाँको संस्कृति, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्र केन्द्रित विकासलाई हामीले एजेण्डा बनाएका छौं ।’ तत्कालीन विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक समेत रहेका गोपाल हमाल यस पटक पनि धनगढीको मेयरमा उमेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिनएका छन् ।

पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उमेदवारका रूपमा अघि बढेका हमाल धनगढीलाई मोडल सिटी नबनाउँदासम्म धनगढीको अस्तित्व कायम नरहने बताउँछन् । ‘पहिलो नम्बरमा धनगढी निर्दलीय हुनुपर्छ,’ हमालले भने, ‘स्वतन्त्र व्यक्ति धनगढीमा विजयी भयो भने आफ्ना कार्यकर्ता पाल्नु पर्दैन अनि जनताका आवश्यकताका आधारमा योजना छनौट गर्न पाइन्छ र ती आवश्यकता विस्तारै परिपूर्ति हुँदै जान्छन् ।’

अहिले धनगढीमा डुवानको समस्या छ, खोलानाला अतिक्रमण भएका छन्, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत सामान्य सुविधा पनि यहाँका नागरिकले पाएका छैनन् । ‘अब धनगढीलाई समार्ट सिटी बनाउने अवधारणा अनुसार अघि बढ्नुको विकल्प छैन । धनगढी अस्त ब्यस्त छ यस्तै रहे अस्तित्व समाप्त नहोला भन्न सकिदैन,’ हमालको निष्कर्ष छ, ‘बिना योजना हामीले सोचेजस्तो धनगढी बन्दैन, यसैगरी केही वर्ष अझै धकेलौं भन्ने हो भने यहाँका वासिन्दा अन्यत्र पलायन नहोलान भन्न सकिँदैन ।’

 

 

आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार १४:४०