सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशमा १५ हजार म्यादी प्रहरी परिचालन

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि लुम्बिनी प्रदेशमा १५ हजार बढी म्यादी प्रहरी परिचालन गरिएको छ । प्रदेशमा रहेका १२ वटा जिल्लामा १५ हजार आठ सय २८ जना म्यादी प्रहरी परिचालन गरिएको हो ।

नेपाल सरकारले ४० दिनका लागि देशभरमा ९९ हजार ९ सय ९३ जना भ्यादी प्रहरी परिचालन गरेको छ । जसमा काठमाडौं उपत्यकामा ४ हजार ७ सय ११ जना म्यादी प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै १४ वटा जिल्ला रहेको प्रदेश १ मा भने १७ हजार ४ सय २१ जना, मधेस प्रदेशका ८ जिल्लामा २१ हजार जना, बागमती प्रदेशका १० जिल्लामा १२ हजार १ सय ८६ जना, गण्डकी प्रदेशका ११ जिल्लामा १० हजार ९ सय ३३ जना, कर्णाली प्रदेशका १० जिल्लामा ७ हजार ७ सय ५३ जना र सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा १० हजार १ सय ६१ जना म्यादी प्रहरी परिचालन गरिएको छ ।

४० दिनका लागि भर्ना भएका म्यादी प्रहरीले प्रहरी जवानसरह तलब र रासन बापत थप ७ हजार रुपैयाँ पाउँछन् । चुनावमा खटिने म्यादीले ४० दिन काम गरेपछि ३० हजार २ सय ८० रुपैयाँ तलब पाउँछन् ।

उनीहरूले ६ हजार रुपैयाँ बराबरको लत्ता कपडा र एक हजार रुपैयाँ गाडी भाडाका लागि पाउँछन् । दुईजोर चुस्ता, दुईजोर जुत्ता, मोजा, झुल र स्लिपङ ब्याग उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ ।

रासन र कपडासहित एकजना म्यादी प्रहरीका लागि राज्यकोषको ४४ हजार ४८० रुपैयाँ खर्च हुन्छ । एक लाख म्यादी प्रहरीका लागि करिब साढे ४ अर्ब खर्च हुन्छ ।

एक साताको तालिम चलाउँदा करिब १ करोड ५४ लाख खर्च भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार ०८:४९