सूचनाको शक्ति - The Power Of Information

        

देशभर कहाँ–कहाँ उठे विद्रोही ?

स्थानीय तहको उम्मेदवारी छनोटमा प्रदेश मात्र होइन, सिधै केन्द्रीय नेतृत्वले हस्तक्षेप गरेपछि कार्यकर्ता बागी बनेका छन् । धेरैजसो बागी सत्तारूढ कांग्रेसका छन् भने एमाले र माओवादीका कार्यकर्ताले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टी र गठबन्धनविरुद्ध उम्मेदवारी दिनेलाई दलले कारबाही प्रक्रिया पनि अघि बढाएका छन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका सातैवटा पालिकामा बागवत भएको छ । असन्तुष्ट समूहले कांग्रेस (बीपी) को चिह्न करुवाबाट चुनाव लड्ने गरी उम्मेदवारी दर्ता गराएका छन् । यो समूहले सत्ता गठबन्धनलाई नै चुनौती दिँदै प्रतिपक्षी एमालेसँग सहकार्यको घोषणा गरेको छ ।

सभापतिकै गृहजिल्लामा कांग्रेसका नेताहरू सामूहिक विद्रोहमा उत्रिएपछि आधिकारिक उम्मेदवारहरू मात्र होइन, शीर्षस्थ नेतृत्व नै दबाबमा परेको छ । विद्रोहको नेतृत्व गरेको भन्दै पार्टीले डडेलधुराका निवर्तमान कांग्रेस सभापति कर्णबहादुर मल्लमाथि कारबाहीको हतियार चलाएको छ । विधानविपरीत गतिविधि गरेको हुनाले उनलाई कांग्रेसको सदस्यसमेत नरहने गरी हटाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । मल्ल सुदूरपश्चिम प्रदेशसभा सदस्य पनि हुन् ।

त्यसो त डडेलधुरा कांग्रेसभित्र विद्रोह नौलो होइन । अघिल्लो स्थानीय निर्वाचनमा पनि मल्लको नेतृत्वमा स्थानीय कांग्रेस नेताहरूले एमाले उम्मेदवारलाई सघाएका थिए । परिणामतः अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा कांग्रेस २ सयभन्दा कम मतले पराजित भएको थियो ।

यसअघिको स्थानीय निर्वाचनमा डडेलुधराका सातमध्ये चार स्थानीय तहमा कांग्रेसले जितेको थियो । तर यसपालि संगठित विद्रोह भएपछि सदरमुकामको अमरगढी नगरपलिका, परशुराम नगरपालिका, देउवाको गृहपालिका गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा पनि कांग्रेसलाई चुनौती थपिएको छ । अमरगढी, नवदुर्गा र गन्यापधुरामा मल्ल पक्षले उम्मेदवारी दिएको छ भने अन्य चार स्थानीय तहमा प्रमुखमा एमालेलाई सघाउने गरी गठबन्धन गरेको छ । परशुराम नगरपालिकामा सत्तारूढ गठबन्धनबीच सहमति जुट्न नसकेपछि कांग्रेस एक्लैले भरत जोशी बडायरलाई मेयर पदमा उठाएको छ । मल्ल पक्षको विद्रोहको सबैभन्दा ठूलो असर यही नगरपालिकामा पर्ने देखिन्छ ।

गठबन्धनकै अर्का नेता पुष्पकमल दाहालकी छोरी रेनु उम्मेदवार बनेको भरतपुरमा कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । २०४९ का उपमेयर पौडेल उम्मेदवारी दर्ताका क्रममा कांग्रेसको झन्डा बोकेर आएका थिए । उनलाई कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाको पनि समर्थन छ । स्थानीय नेतृत्वको इच्छाविपरीत सभापति देउवाले भरतपुरको मेयर माओवादीलाई दिएपछि जिल्लाभित्र असन्तुष्टि चर्किएको हो ।

भरतपुरकै जस्तो अवस्था छ, मकवानपुरको हेटौंडामा पनि । यहाँका तीन स्थानीय तहमा कांग्रेसका नेताहरूले बागी उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा क्षेत्रीय सभापतिमा पराजित शंकर न्यौपानेले मनहरी गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट टिकट नपाएपछि उनी कांग्रेस (बीपी) कोतर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । यही गाउँपालिकामा कांग्रेस नेत्री जानुकी लामाले पनि कांग्रेस (बीपी) कै उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छन् ।

मकवानुपरको वाग्मती गाउँपालिका अध्यक्षमा पनि कांग्रेस नेता शंकर पराजुलीले अध्यक्ष र शेरबहादुर लामाले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यी दुवै स्थानीय तहमा कांग्रेसका सक्रिय नेता हुन् । पार्टीले टिकट वितरणमा विभेद गरेका भन्दै उनीहरू बागी बनेका हुन् ।

हेटौंडा उपमहानगरपालिका–२ मा कांग्रेसका सुदीप राजबाहकले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनी यसअघि वडा सदस्य थिए । त्यस्तै हेटौंडा उपमहानगरपालिका–९ मा कांग्रेस नेता सुशील सिग्देलले वडाध्यक्षमा बागी उम्मेदवारी दिएका छन् । गठबन्धनको भागबन्डामा वडाध्यक्षको उम्मेदवारी एकीकृत समाजवादीले पाएपछि असन्तुष्ट सिग्देल स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

सिन्धुपाल्चोकमा भने गठबन्धनका दुवै घटक कांग्रेस र माओवादीका उम्मेदवारविरुद्ध बागी उठेका छन् । सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिकामा गठबन्धनले माओवादीका कृष्णप्रसाद सापकोटालाई मेयरको आधिकारिक टिकट दिएको थियो । त्यसविरुद्ध माओवादीकै बहालवाला मेयर कमानसिंह तामाङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी भोटेकोसी गाउँपालिकाको अध्यक्षमा माओवादीका आधिकारिक उम्मेदवार राजकुमार पौडेलविरुद्ध गत स्थानीय तहको निर्वाचनमा सोही पार्टीबाट वडाध्यक्ष जितेका दीपेन्द्र श्रेष्ठले उम्मेदवारी दिएका छन् । दीपेन्द्रले माओवादीका गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाको समेत समर्थन पाएका छन् ।

हेलम्बु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका आधिकारिक उम्मेदवार निमा ग्याल्जेन शेर्पाविरुद्ध कांग्रेसकै दुई जनाले उम्मेदवारी दिएका छन् । कांग्रेस महाधिवेशन प्रतिनिधि जिमी लामा र कांग्रेसबाटै २०५४ को स्थानीय निर्वाचनमा साविक हेलम्बु गाविस अध्यक्ष पदमा निर्वाचित पासाङ लामाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । सोही गाउँपालिकामा उपाध्यक्षका आधिकारिक उम्मेदवार अप्सरा लामिछानेविरुद्ध कांग्रेसकै शुभद्रा लामिछानेले बागी उम्मेदवारी दर्ता गराएकी छन् । बाह्रबिसे नगरपालिकामा कांग्रेसका आधिकारिक उपमेयर पदकी मन्जु तामाङविरुद्ध कांग्रेसकै पुराना कार्यकर्ता नेत्रबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

ओखलढुंगामा पनि कांग्रेसका आधिकारिकविरुद्ध उम्मेदवारी परेको छ । गुटबन्दीका कारण टिकट वितरणमा विभेद भएको भन्दै खिजिदेम्वा गाउँपालिका र अन्य केही वडामा बागी उम्मेदवारी दर्ता भएको हो । खिजिदेम्वाको अध्यक्षमा पार्टीले भूपेन्द्र बस्नेतलाई उम्मेदवार बनाएपछि महाधिवेशन प्रतिनिधिसमेत रहेका महेश कोर्मोचाले उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्वी नवलपरासीका कांग्रेस नेताहरू पालिका प्रमुखमा बागी बनेका छन् । कांग्रेसका निवर्तमान जिल्ला समन्वय समिति प्रमुख चेसराम आले बुलिङटार गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र रूपमा उठेका छन् । पार्टीले यसअघिकै गाउँपालिका अध्यक्ष शशिकिरण बास्ताकोटीलाई मौका दिएपछि आले स्वतन्त्र बनेका हुन् । २०७४ को निर्वाचनमा बुलिङटार गाउँपालिकाका सबै ३२ सिट कांग्रेसले एक्लै जितेको थियो ।

कावासोती नगरपालिकाको मेयरमा कांग्रेसका महेन्द्र पोख्रेलविरुद्ध तीन जना विद्रोही उठेका छन् । उम्मेदवारी छनोटमा असन्तुष्ट कमलराज गुरउ, नारायण पन्त र बालकृष्ण पाण्डेले बागी उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै बौदीकाली गाउँपालिकाको अध्यक्षमा कांग्रेसका डिल्लीराम रानाले बागी उम्मेदवारी दर्ता गराएका छन् । यहाँ कांग्रेसका आधिकारिक उम्मेदवार केवी राना हुन् । त्यस्तै, त्रिवेणी गाउँपालिका अध्यक्षमा कांग्रेसबाट अध्यक्षमा डम्बर जिसीले उम्मेदवारी दर्ता गराएका छन् । उनीविरुद्ध विष्णु ढकालले उम्मेदवारी दिएकी छन् । त्यस्तै कांग्रेसले उपाध्यक्ष पदमा कला भुजेललाई आधिकारिक उम्मेदवार बनाएकामा मीना राना बागी बनेकी छन् ।

सिरहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका र गोलबजार नगरपालिकामा माओवादीका बागी खडा भएका छन् । कर्जन्हामा माओवादीले गंगा पासवानलाई उम्मेदवार बनाएको छ भने पार्टीकै एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्षसमेत रहेका युगेश्वर राउतले बागी उम्मेदवारी दिएका छन् । साथै कल्याणी ढुंगानाले उपमेयरमा स्वतन्त्र बागी उम्मेदवारी दिएका छन् । गोलबजार नगरपालिकामा रामचन्द्र महतो मेयर पदमा र बासना मोक्तानले उपमेयरमा स्वतन्त्र रूपमा बागी उम्मेदवारी दिएका छन् ।

गुल्मीका दुई पालिका प्रमुख र तीन वडा प्रमुखमा बागी उम्मेदवार खडा भएका छन् । मदाने गाउँपालिकामा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसका महेन्द्र कुँवरले अध्यक्षमा उम्मेदवारी दिएका छन्, तर उनीविरुद्ध कांग्रेसकै काशीबहादुर बोहरा उम्मेदवार बनेका छन् । मदाने ७ को वडा अध्यक्षबाट राजीनामा दिएर बोहोरा बागी बनेका हुन् ।

त्यस्तै, सत्यवती गाउँपालिकामा अध्यक्षमा भने एमालेका ठगप्रसाद शर्माले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेबाट टीकाराम पाण्डेले टिकट पाएका छन् । गुल्मी क्षेत्र नम्बर–२ का सहसचिव कृष्ण पाण्डेले रेसुंगा नगरपालिका ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । आफूले लामो समय काम गरे पनि पार्टीले मूल्यांकन नगरेकाले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको बताए । रेसुंगा नगरपालिका ५ को वडाध्यक्षका देवी कुँवरले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छन् । २०७४ को निर्वाचनमा कांग्रेसबाट वडा सदस्यका निर्वाचित कुँवरले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । एमाले नेता एवं रुरुक्षेत्र गाउँपालिका १ का वडाध्यक्ष रामलाल विकले सोही पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

बागीको बिगबिगी प्रदेश १ का विभिन्न जिल्लामा पनि देखिएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा माओवादी केन्द्रकी जुनु लावतीले बागी उम्मेदवारी दिएकी छन् । यहाँ कांग्रेस र माओवादीको गठबन्धनबाट सन्तोष लावतीको उम्मेदवारी दर्ता भएको छ । फिदिम नगरपालिका १, ६ र ८ मा पनि गठबन्धनविरुद्ध बागी उम्मेदवारी परेको छ ।

एमालेका जिल्ला सचिव उमेश गुरुङले इलामको सन्दकपुर गाउँपालिकामा बागी उम्मेदवारी दिएका छन् । एमालेले साविक उम्मेदवार उदय राईलाई नै टिकट दिएपछि गुरुङले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका हुन् । एमालेबाट धरान उपमहानगरको प्रमुख पदमा मन्जु भण्डारीको उम्मेदवारी परेको छ । तर वडा ९ का अध्यक्ष रत्न कटवालले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

पाल्पामा टिकट वितरण पारदर्शी नभएको भन्दै विभिन्न स्थानमा बागी अघि सरेका छन् । रैनादेवी छहरा गाउँपालिकामा कांग्रेसबाट राजीनामा दिएर विष्णुप्रसाद पोखरेलले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी यसअघि रैनादेवी छहरा ४ का वडाध्यक्ष थिए । त्यस्तै एमालेमा जिल्ला सचिवालय सदस्य दमनसिं पाटाले निस्दी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका छन् । अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा एमालेका बालकृष्ण आचार्यले बागी उम्मेदवारी दिएका छन् । पार्टीले यसपालि दलबहादुर भट्टराईलाई उम्मेदवार बनाएपछि साविक अध्यक्ष आचार्य बागी बनेका हुन् ।

रुकुमपूर्वका ३ स्थानीय तहमध्ये २ मा माओवादी कार्यकर्ताले बागी उम्मेदवारी दिएका छन् । पुथाउत्तरगंगा गाउँपालिकाको अध्यक्षमा २ र भूमे गाउँपालिका उपाध्यक्षमा एक जनाले बागी उम्मेदवारी दिएका छन् । पुथाउत्तरगंगाको अध्यक्षमा माओवादीका पालिका इन्चार्ज जिताराम कामी र अर्का नेता महेन्द्र बुढाले बागी उम्मेदवारी दिएका हुन् । पुथाउत्तरगंगामा माओवादीले लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला सचिव पुनिराज घर्तीलाई उम्मेदवार बनाएको छ । भूमे गाउँपालिका उपाध्यक्षमा नमिता पुनले बागी उम्मेदवारी दिएकी छन् । त्यहाँ पार्टीले सविना बुढालाई उम्मेदवार बनाएको छ । बाँकेको कोहलपुर नगरपालिका प्रमुखमा कांग्रेस कार्यकर्ताले बागी उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेस क्षेत्र नम्बर १ ९ख० का सभापति बलराम शर्माले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । कांग्रेसले कोहलपुरको प्रमुखमा पूर्ण आचार्यलाई उम्मेदवार बनाएको छ ।

प्यूठानको झिमरुक गाउँपालिका अध्यक्षमा कांग्रेसका डेगेन्द्रविक्रम जिसीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । मल्लरानी गाउँपालिका अध्यक्षमा कांग्रेसका नवीनप्रकाश श्रेष्ठले पनि बागी उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै रामबहादुर थापा र वडा नम्बर ४ मा वडाध्यक्षका लागि दिनेशविक्रम शाहले बागी उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस मल्लरानी गाउँपालिका सहसचिव नोमराज खनालले पनि वडा सदस्यमा बागी उम्मेदवारी दिएका छन् । झिमरुक–२ मा वडाध्यक्षमा पनि कांग्रेसका बलबहादुर एमसीले बागी उम्मेदवारी दिएका छन् । पार्टीले कृष्ण पोख्रेललाई उम्मेदवार बनाएपछि एमसीले स्वतन्त्रबाट बागी उम्मेदवारी दिएका हुन्, आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार ०८:२८